उडान रोकियो, हिउँ पन्छाउँदै सुरक्षाकर्मी

छपाल लामा

(हुम्ला) — हिमपात रोकिएपछि सिमकोट विमानस्थलको हिउँ पन्छाउन थालिएको छ । हिमपात रोकिएसँगै आइतबारबाट विमानस्थलको हिउँ पन्छाउन सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

उडान रोकियो, हिउँ पन्छाउँदै सुरक्षाकर्मी

हिमपातले ४ दिनदेखि हवाइ उडान हुन सकेको छैन । सिमकोट विमानस्थलमा ३ फिटसम्म हिउँ जमेको छ । रनवेको हिउँ फाल्न हेलिकप्टरबाट ल्याइएको गाडी बिग्रिएपछि सुरक्षाकर्मी परिचालन गरिएको हो । सडक सञ्जालमा नजोडिएको हुम्लामा हवाई सेवाको विकल्प छैन । ४ दिनदेखि उडान रोकिँदा बिरामी र जरुरी कामका लागि बाहिर जानेहरू समस्यामा परेका छन् । पर्याप्त सुरक्षाकर्मी परिचालन गरी हिउँ फाल्ने काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दत्त हमालले जानकारी दिए । उनका अनुसार बाक्लो हिउँ जमेकाले उडान सञ्चालन हुन केही दिन लाग्ने देखिएको छ ।


भारी हिमपातले उडान नह्ुँदा बुधबार नाम्खा गाउँपालिकामा भएको दुर्घटनाका घाइतेको उद्धार गर्न समस्या भएको थियो । शनिबार अपराह्न मौसममा सुधार आएपछि नाम्खा गाउँपालिकाको तुम्कोटभीरमा भएको ट्रिपर दुर्घटनाका घाइतेलाई ढिलोगरी उद्धार गरिएको हो । सख्त घाइते भएका गाडी चालक फूलमान तामाङ र नाम्खा गाउँपालिका १ का सोनामछोइङ लामालाई सेनाको हेलिकप्टरमार्फत शनिबार उपचारका लागि सुर्खेत पठाइएको छ । निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्र सिंहले घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको जानकारी दिए । उनका अनुसार स्वास्थ्यचौकी मुचुले बिहीबारै रेफर गरे पनि हिमपात जारी भएकाले उद्धारमा समस्या भएको थियो । हिमपातले दुर्घटनामा मृत्यु भएका दुई जनाको अझै शव परीक्षण हुन सकेको छैन । प्रहरीका अनुसार मुचु स्वास्थ्यचौकीसम्म डाक्टर जान नसकेपछि उनी शव परीक्षण रोकिएको हो ।


हिमपातले उच्च हिमाली भेकका अधिकांश बाटा बन्द भएका छन् । न्यालु, भुव्र, चंखेली, मारुकोर, नारालगायत लेकबाट विभिन्न गाउँ जाने बाटो हिउँले अवरुद्ध बनेको स्थानीयले जनाएका छन् । नाम्खा गाउँपालिका ६, लिमीमा ४ फिटसम्म हिउँ वडाध्यक्ष यपालजोर लामाले जानकारी दिए । उनका अनुसार तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । ‘मानसरोवर–कैलाश पदमार्ग हिउँले भरिएको छ,’ उनले भने, ‘स्थानीयलाई एक गाउँबाट अर्को गाउँ जान समस्या भइरहेको छ ।’


जिल्ला प्रहरी कार्यालयका अनुसार नाम्खा र सिमकोट गाउँपालिकामा सबैभन्दा बढी हिमपात भएको हो । चरीचरन क्षेत्र हिउँले ढाकेपछि पशुचौपायालाई घरभित्रै थुन्नुपर्ने बाध्यता भएको छ । हिमपातका कारण उच्च हिमाली बस्तीका बासिन्दालाई घरबाहिरै निस्कन समस्या भएपछि जनजीवन कष्टकर बनेको छ ।




प्रकाशित : मंसिर ३०, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?