कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राकम नयाँ सहर आयोजना : १० वर्षपछि सुल्झियो विवाद

 १३७ रोपनी जग्गा अधिग्रहण प्रक्रियामा विवादका कारण आयोजना अघि बढ्न सकेको थिएन 
ज्योति कटुवाल

राकम कर्णाली, दैलेख — मध्यपहाडी लोकमार्गअन्तर्गत राकम कर्णाली नयाँ सहर आयोजनाको विवाद १० वर्षपछि सुल्झिएको छ । जग्गा अधिग्रहण प्रक्रियाको क्रममा मुआब्जा वितरणमा विवाद भएपछि आयोजनाको काम लामो समयदेखि रोकिएको थियो । सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १० स्थानमा नयाँ सहर आयोजनाको काम गरिरहेको छ ।

राकम नयाँ सहर आयोजना : १० वर्षपछि सुल्झियो विवाद

सहरी विकास मन्त्रालयले नगर विकास ऐन, २०४५ को दफा ३.२ बमोजिम चार किल्लाभित्रको जग्गा स्वीकृत गरेपछि आयोजनाको विवाद सुल्झिएको हो । सहरी विकास मन्त्रालयको २०७६ भदौ ८ को निर्णयअनुसार आयोजनाका लागि चार किल्ला तोकिएको छ । आयोजनाका अनुसार चार किल्लाभित्रका जग्गाधनीले ७० प्रतिशत जग्गा विकसित घडेरीको रूपमा फिर्ता पाउनेछन् भने २२ प्रतिशत क्षेत्रफलमा सडक निर्माण गरिनेछ ।


त्यस्तै नालामा ३ प्रतिशत र खुला क्षेत्रका रूपमा ५ प्रतिशत जग्गा प्रयोग गरिने जनाइएको छ । मुआब्जा विवाद टुंगो लागेसँगै आयोजनाको कामलाई तीव्रता दिन थालिएको निमित्त आयोजना प्रमुख सुशील रसाइलीले बताए । उनका अनुसार ९९ कित्ताको १ सय ३७ रोपनी जग्गा अधिग्रहण प्रक्रियामा विवाद भएको थियो ।


स्थानीयले जग्गा प्राप्ति ऐनविपरीत मुआब्जा निर्धारण गरिएको भन्दै क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत र गृह मन्त्रालय उजुरी दिएपछि काम लामो समयदेखि रोकिएको हो । उजुरीसँगै स्थानीयले आयोजनाको काममा रोक लगाएका थिए । सरकारले आर्थिक वर्ष ०६६/६७ देखि नयाँ सहर आयोजनाको काम सुरु गरेको हो । २०९० सालसम्म निर्माणको काम सक्ने कार्यवधि पाएको आयोजनाले अहिलेसम्म २० प्रतिशत काम मात्र सकिएको जनाएको छ ।


निमित्त आयोजना प्रमुख रसाइलीका अनुसार मुआब्जा विवादकै कारण लामो समयदेखि अन्य कामसमेत रोकिएका हुन् । ‘अन्य जिल्लाको तुलनामा यहाँ कम काम भएको छ,’ उनले भने, ‘विवाद सुल्झिसकेकाले अन्य कामलाई तीव्रता दिन आवश्यक प्रक्रिया सुरु गरेका छौं ।’ गत वर्ष आयोजनामा ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । गत वर्ष काम हुन नसकेपछि ३ करोड रुपैयाँ रकमान्तरण गरेको आयोजनामा चालु आर्थिक वर्षमा २ करोड बजेट छुट्याइएको छ ।


कर्मचारी अभावका कारण पनि लामो समयसम्म काममा बाधा पुगेको उनी बताउँछन् । आयोजना कार्यालयमा अहिले पनि प्राविधिक कर्मचारीको अभाव छ । १३ जनाको दरबन्दी रहेको कार्यालयमा तीन जना मात्र प्राविधिक छन् । प्रशासनिक कामका लागि चार कर्मचारी खटाइएको छ । लामो समयदेखि जग्गा अधिग्रहणको काम रोकिँदा आयोजनाको अधिकांश बजेट बर्सेनि फ्रिज गएको थियो ।


आयोजना कार्यालयका अनुसार अहिलेसम्म सडक सौर्यबत्ती, ३०५ मिटर सडक कालोपत्रे र कुमालखाँडादेखि निमायलसम्मको कच्ची सडक निर्माणको काम मात्र सकिएको छ । त्यस्तै मसानघाट र कर्णाली राजमार्ग छेउ मा चार प्रतीक्षालय निर्माणको काम सम्पन्न भइसकेको निमित्त आयोजना प्रमुख रसाइलीले जानकारी दिए ।

प्रकाशित : मंसिर २९, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?