१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सबस्टेसन निर्माण ढिलाइले विद्युत् उपभोक्ता आजित

हरि गौतम

रुकुम पश्चिम — विद्युतको केन्द्रीय प्रसारण लाइन जडान भए पनि सबस्टेसन निर्माणमा ढिलाइ हुँदा उपभोक्ताले समस्या खेप्नु परेको छ । विद्युत् गइरहने, पावर घटबढ भइरहने कारणले ठूलो क्षति बेहोर्नुपर्दा स्थानीय उपभोक्ता आजित भएका छन् ।मुसीकोट नगरपालिका–३, धैरेनीचौरमा निर्माण गर्न लागिएको सबस्टेसनको काम अझै अधुरै छ । ३३ केभीए विद्युत् प्रसारण लाइन पुर्‍याउन सबस्टेसन निर्माण थालिएको हो ।

विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार उक्त सबस्टेसन निर्माण सकिन अब ५ महिना मात्रै बाँकी छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी वाइबा कन्स्ट्रक्सनले २०७७ वैशाख ३१ मा काम सकेर बुझाउने सम्झौता गरेको थियो तर हालसम्म ३० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले बताए । उनका अनुसार अहिले सबस्टेसनको कन्ट्रोल रुम र कर्मचारी बस्ने घर बन्दै छ । सबस्टेसन निर्माणको काम थालनी भएको छैन ।


जिम्मा लिएको ठेकेदार कम्पनीले ढिला काम सुरु गरेको र बीचमा काम गर्न छाडेपछि उक्त सबस्टेसन निर्मण समयमै सम्पन्न हुन नसक्ने भएको हो । स्थानीय रामप्रसाद शर्माले सम्झौताअनुसार यतिबेला धेरै काम भइसक्नुपर्ने हो । ‘सबस्टेसन निर्माणको काम ढिला सुरु भयो, सुरु भएर पनि फेरि रोकिँदा भने कार्य प्रगति हुन सकेको छैन,’ उनले भने, ‘नियामक निकायले तदारुकता नदेखाउँदा पनि समस्या भएको हुन सक्छ ।’


कम्पनीले ८ करोड ७ लाख रुपैयाँमा सबस्टेसन निर्माणको ठेक्का लिएको हो । ठेकेदार कम्पनीका प्रतिनिधि पुष्कर बञ्जाडेले भने निर्माणको काम २५ देखि ३० प्रतिशत सकिएको बताए । ढिलोमा जेठ महिनामा आयोजना हस्तान्तरण गरिने उनको भनाइ छ । अहिले ३३ केभीएको प्रसारण लाइनको सबस्टेसन सल्यानको श्रीनगरमा छ । श्रीनगरबाट तानिएको तारको दूरी धेरै टाढा भएपछि विद्युत्मा समस्या हुने भएकाले जिल्लामै सबस्टेसन निर्माणको काम अघि बढाइएको थियो ।

सबस्टेसन निर्माणपछि जिल्लाको विद्युत्मा आइरहने समस्या समाधान हुने विश्वास गरिएको छ । सबस्टेसन निर्माणपछि रुकुम पूर्वको रुकुमगाडमा निर्माणाधीन विद्युत् पनि यही सबस्टेसनमार्फत वितरण गरिनेछ । रुकुमगाड खोलामा ५ मेगावाट क्षमताको विद्युत् उत्पादनको काम भइरहेको छ ।

प्रकाशित : मंसिर २९, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?