हिमपातसँगै बढ्यो चिसो : ‘वार्षिक परीक्षा, लेख्ने कसरी ?’

‘चिसोले गर्दा लेख्नै सकिएन, हात कठ्यांग्रिदा परीक्षा बिग्रियो’   
विद्यालयले साना कक्षाका विद्यार्थीलाई आगो बालेर परीक्षा दिने व्यवस्था मिलायो

(हुम्ला) र (मुगु) — कर्णालीका हिमाली जिल्लामा भारी हिमपात भएपछि विद्यार्थीले आगो ताप्दै परीक्षा दिन थालेका छन् । डोल्पाका विद्यालयमा परीक्षा नै स्थगित गरिएको छ ।

हिमपातसँगै बढ्यो चिसो : ‘वार्षिक परीक्षा, लेख्ने कसरी ?’

हिमपात हुँदा विद्यार्थीलाई समस्या भएपछि केही विद्यालयले आगो ताप्ने व्यवस्था मिलाएका छन् । गत वर्षसम्म हिमपात नहुँदै मंसिर पहिलो साताभित्रै वार्षिक परीक्षा सञ्चालन गरिन्थ्यो । गाउँपालिकाको निर्णयअनुसार शुक्रबारबाट एक सातासम्मका लागि वार्षिक परीक्षा सञ्चालन गरिएको लिमीस्थित सुनखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले बताए । गाउँमा भारी हिमपात भएको उनले जानकारी दिए । बुढाका अनुसार विद्यालयमै ३ फिटसम्म हिउँ परेको छ । विद्यालय हिउँमा पुरिएपछि गाउँकै एक घरमा ४६ विद्यार्थीलाई जम्मा पारेर परीक्षा दिन लगाइएको उनले जनाए । ‘हिउँ परेपछि विद्यालय खोल्न सकिएन,’ उनले भने, ‘अभिभावकको सल्लाहमा आगो ताप्ने व्यवस्थासहित परीक्षा सुरु गरेका हौं ।’


सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ । विद्यार्थीलाई विद्यालय आउजाउ गर्नै समस्या भएको छ । बाल मन्दिर माविमा कक्षा ८ मा अध्ययनरत तेजिन लामाले हिउँमा हिड्न नसकेपछि शुक्रबारको परीक्षा छुट्कोे बताए । विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले हिमपात भएपछि विद्यार्थीलाई लेख्न समस्या भएको सुनाए । ‘अधिकांश परीक्षार्थीले काम्दै परीक्षा दिएका छन्,’ उनले भने, ‘चिसोले हातखुट्टा कठ्याङ्ग्रिने समस्या बढ्दै गएको छ ।’ उनका अनुसार अपांगता भएका केही विद्यार्थीको शुक्रबारको परीक्षा छुटेको छ । विद्यालयका अनुसार कविर रोकाया र सन्तोष सुनारले पनि शुक्रबार विद्यालय पुग्न नसक्दा परीक्षा छुटाएका छन् । बालमन्दिर माविमा ३ सय २५ विद्यार्थीले परीक्षा दिइरहेको विद्यालयले जनाएको छ ।


चिसोले हात कठ्यांग्रिएर रुदै परीक्षा दिएको बालमन्दिर माविमा कक्षा २ मा अध्ययनरत नीराजन तामाङले बताए । ‘चिसोले गर्दा लेख्नै सकिएन,’ उनले भनिन्, ‘हात कठ्यांग्रिदा परीक्षा बिग्रियो ।’ विद्यालयले साना कक्षाका विद्यार्थीलाई आगो बालेर परीक्षा दिने व्यवस्था मिलाइएको जनाएको छ ।


हिमपातले जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ । उच्च हिमाली बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन् । यस वर्ष ढिलोगरी परीक्षा तोकिएकाले विद्यार्थी बढी समस्यामा परेको रलिङ माविकी प्रधानाध्यापक निर्मला सुनुवारले बताइन् ।


परीक्षा स्थगित

हिमपात र चिसोले डोल्पाका विद्यालयमा परीक्षा प्रभावित भएको छ । ठूलीभेरी नगरपालिकामा बिहीबारदेखि सुरु भएको वार्षिक परीक्षा स्थगित गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले कक्षाकोठा साना भएकाले चौरमा ‘सिट प्लानिङ’ गरिएको र हिमपात हुँदा परीक्षा स्थगित गर्नु परेको बताए । ‘भोलि (शनिबार)सम्म हिमपात रोकियो भने आइतबारदेखि नियमित सुरु हुन्छ, नभए त कोक्षाकोठामै पुन: प्लानिङ गरेर केही दिनपछि परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता हुनसक्छ,’ उनले भने, ‘कक्षाकोठामै भए पनि चिसोले विद्यार्थीलाई लेख्न निकै समस्या छ ।’


नगरपालिका क्षेत्रमा २४ विद्यालय छन् । प्राथमिक तहका कक्षाको यसअघि नै परीक्षा भइसकेको छ । अहिले कक्षा ६ देखि ९ सम्मको अन्तिम परीक्षा भइरहेको छ । शुभकामना आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयका परीक्षा प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।


त्रिपरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिकाका विद्यालयमा भने विद्यार्थीले चिसोमै परीक्षा दिएका छन् । जगदुल्ला गाउँपालिकाले पुसमा मात्र परीक्षा सञ्चालन गर्ने जनाएको छ । उपल्लो डोल्पाका स्थानीय तहमा भने यसअघि नै परीक्षा भइसकेको छ ।


हिउँले ढाकियो रारा

पर्यटकीय गन्तव्य राराताल र आसपासको क्षेत्र हिउँले ढाकिएको छ । विहीबार साँझदेखि लगातार हिमपात भएपछि रारा ताल वरिपरिका रुख र जमिन सेताम्मे बनेका हुन् ।


गत साता र यसपटक गरी रारामा दुईपटक हिमपात भइसकेको छ । रारा सेताम्मे बनेपछि पर्यटक रमाउन थालेको डाँफे गेस्ट हाउसका प्रबन्धक बली शाहीले बताए । उनका अनुसार रारा क्षेत्र आसपास ५ इन्चभन्दा बाक्लो हिउँ जमेको छ । समुद्र सतहदेखि २९ सय २९ मिटर उचाइमा रहेको रारा हिउँले सेताम्मे बनेको उनले जानकारी दिए ।


हिमपात भएपछि रारा भित्रने आन्तरिक पर्यटक बढ्न थालेका छन् । जाडो छल्न साइबेरिया, नैनीताल, मानसरोवरलगायत ठाउँबाट आएका आगन्तुक चरा र हिउँका कारण रारा रमाइलो बनेको प्रवन्धक शाहीले जनाए । रारामा हिउँ खेल्न सदरमुकाम गमगढी र आसपासका क्षेत्रबाट स्थानीय, व्यापारी र कर्मचारी जाने क्रम बढेको छ । रारा ताल नजिकैको मुर्मा गाउँ पनि हिउँले ढाकिएको छ ।


हिमपातका कारण मुर्मा गाउँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीलाई विद्यालय जान समस्या भएको वडाध्यक्ष मणीचन्द रोकायाले बताए । चिसोले जनजीवन कष्टकर बने पनि अन्नबाली र फलफूललाई भने फाइदा पुगेको उनले जनाए । उनका अनुसार सिँचाइ सुविधा नभएका क्षेत्रमा हिमपातपछि अन्नबालीको उत्पादन बढ्ने अपेक्षा छ ।


जिल्लाको एकमात्र रारा विमानस्थलमा हिउँ परेपछि सुर्खेत र नेपालगन्जबाट हुने उडान रोकिएका छन् । विमानस्थलमा दैनिक ५ उडान हुँदै आएका छन् । विमानस्थलमा ५ इन्च हिउँ जमेको विमानस्थल कार्यालयले जनाएको छ । हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक अबरुद्ध हुने अवस्था आएपछि स्थानीय चिन्तित छन् । सडकमा हिउँ जमेपछि वर्सेनि सडक अवरुद्ध हुने गरेको छ । मुगमकार्मारोङ गाउँपालिकाको मुगु, डोल्फू, चितैलगायत उच्च हिमाली बस्तीमा भारी हिमपात भएको स्थानीयले जनाएका छन् । समुद्र सतहदेखि करिब २५ सय मिटर उचाइसम्म हल्का वर्षा भएपछि गमगढी आसपासका क्षेत्रमा चिसो अत्यधिक बढेको छ । गमगढी बजार क्षेत्रका कर्मचारी, व्यापारी र स्थानीय आगो र हिटर तापेर काम गर्न थालेका छन् ।


प्रकाशित : मंसिर २८, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?