कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका कार्यकर्तालाई मुद्दै–मुद्दा

(जाजरकोट) — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई मुद्दा लगाउने क्रम बढेको छ । प्रहरीले चन्द समूहका कार्यकर्तालाई पक्राउ गर्नबित्तिकै अदालतबाट म्याद थपेर सरकारी वकिलमार्फत विभिन्न मुद्दा लगाउन थालेको हो ।

जाजरकोट अदालत र जिल्ला प्रशासन कार्यालयमा चन्द समूहका कार्यकर्ताको नाममा १८ मुद्दा दर्ता भएका छन् । उनीहरूलाई राज्यविरुद्धको कसुर, अभद्र व्यवहार, सार्वजनिक भौतिक संरचनाको विनाश, शरीर बन्दक तथा अपहरण, कर्तव्य ज्यानलगायत मुद्दा लगाइएको हो । अदालत र प्रशासनमा चन्द समूहका एउटै कार्यकर्ताको नाममा ४ वटासम्म मुद्दा दर्ता भएका छन् । जिल्लामा ८ कार्यकर्ताका नाममा १६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका चन्द समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीलाई जिल्ला सरकारी वकिल कार्यालयले गत बुधबार ३ मुद्दासहित अदालतमा पेस गरेको छ । जाजरकोट अदालतमा सार्वजनिक भौतिक संरचनाको विनाशको एक र राज्यविरुद्धको कसुरका २ मुद्दा दर्ता गरिएको हो । उनको नाममा बाँके जिल्ला अदालतमा पनि राज्यविरुद्धको कसुरको मुद्दा चलिहरहेको छ । बाँके अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा हुनबित्तिकै प्रहरीले ओलीलाई अन्य मुद्दाका लागि जाजरकोट पुर्‍याइ अदालतमा पेस गरेको हो ।


प्रहरीले दुर्व्यवहार गरेको भन्दै इन्चार्ज ओली ३ दिनदेखि प्रहरी हिरासतमा अनशन बसेका छन् । प्रजिअ जनकराज पन्त र प्रहरी प्रमुख (डीएसपी) श्यामबहादुर थापाले माफी नमागेसम्म अनशन जारी रहने उनले बताए । त्यस्तै चन्द समूहको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेमबहादुर शाहीका नाममा जाजरकोट, रुकुम पश्चिम र काठमाडौंमा ४ मुद्दा दर्ता गरिएका छन् । शाही जाजरकोट अदालतमा चलेको सार्वजनिक भौतिक संरचनाको विनाश कसुरमा ५० हजार र कर्तव्य ज्यान मुद्दाअन्तर्गत २ लाख ७५ हजार रुपैयाँ घरौटीमा केही समयअघि रिहा भएका थिए । उनलाई काठमाडौं जिल्ला प्रशासनबाट अभद्र व्यवहारमा १० हजार र जिल्ला प्रशासन कार्यालय जाजरकोटको अभद्र व्यवहारमा २५ हजार धरौटी बुझाएलगत्तै पक्राउ गरी अहिले रुकुम पुर्‍याइएको छ ।


प्रहरीले चन्दनिकट युवा संगठनका अध्यक्ष खडकबहादुर सिंहलाई सार्वजनिक भौतिक संरचनाको विनाश, शरीर बन्धक तथा अपहरण र राज्यविरुद्धको कसुरमा ३ मुद्दा लगाएको छ । उनी पुर्पक्षका लागि जाजरकोट कारगारमा छन् ।


प्रहरीले अखिल क्रान्तिकारीका अध्यक्ष धनजित विक, अखिल क्रान्तिकारी महिला संघकी संयोजक गीता थापा, कार्यकर्ताहरू वीरबहादुर खड्का, कैलाश पुन, हरिचन्द्र जैसीलगायतलाई पनि विभिन्न मुद्दा लगाएको छ । उनीहरूमाथि सार्वजनिक भौतिक संरचनाको विनास, अभद्र व्यहार, राज्यविद्धको कसुरलगायत मुद्दा चलाइएको हो । केन्द्रीय सदस्य शाहीले सरकारले भ्रष्टाचार नियन्त्रण, अन्याय तथा अत्याचारविरुद्ध काम गर्दै आएका पार्टी कार्यकर्तालाई अनावश्यक मुद्दा लगाएर दु:ख दिएको गुनासो गरे ।


अदालतबाट रिहा भएका कार्यकर्ताले सत्तापक्षीय पार्टी नेकपामा प्रवेश गर्न नमान्दा थप मुद्दा लगाइने गरिएको उनी बताउँछन् । उनका अनुसार सत्तापक्षीय पार्टीमा प्रवेश गरे प्रहरीले तुरुन्तै रिहा गर्ने गरेको छ । २ वर्षअघि चन्द समूहका ९ कार्यकर्तालाई कर्तव्य ज्यान कसुरमा मुद्दा लागेको थियो । उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

प्रकाशित : मंसिर २७, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?