सल्यान उज्यालो अभियान :  ५ महिनामा ८ सय घरमा बिजुली

सल्यान — नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको उज्यालो अभियानअन्तर्गत ५ महिनामा ८ सय २७ घरधुरीमा बिजुली पुगेको छ । अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा अहिले विद्युतीकरणको काम भइरहेको छ ।

केही स्थानमा सौर्यऊर्जा वितरण गरिएको स्थानीय तहले जनाएका छन् । सौर्यऊर्जामार्फत जनविकास आधारभूत विद्यालय ओख्रेनी, नेपाल राष्ट्रिय मावि किमुचौर र त्रिभुवन जन मावि च्युरामा कम्प्युटर शिक्षा प्रदान गरिएको छ । असारदेखि कात्तिकसम्म शारदा नगरपालिकाको बयलबजार, नेपाने र माल्नेटाका २ सय २ घरमा विद्युत् सुविधा पुर्‍याइएको छ । त्यस्तै बन्गाडकुपिन्डे नगरपालिकाको कुपिन्डे, ज्यामिरे, बाबियाचौर र ढोरपिपलका ५०, बाग्चौर नगरपालिकाको चोरपानी, रारेचौर, ठिनबाङका १ सय ६८ तथा दार्मा गाउँपालिकाको फारुलाका २० घरधुरीमा बिजुली बलेको हो ।


प्राधिकरणका अनुसार कपुरकोटमा ६५, कालीमाटीमा ३०, छत्रेश्वरीमा ७९, त्रिवेणीमा ६९, कुमाखमा २० र सिद्धकुमाख गाउँपालिकामा १ सय २७ घरधुरीमा विद्युत् सुविधा पुगेको छ । प्राधिकरणका वितरण केन्द्र प्रमुख अर्जुन पोखरेलका अनुसार गत वर्ष १० स्थानीय तहका लागि संघीय सरकारले ११ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट १५ योजना छनोट गरी विद्युतीकरणको काम गरिरहेको उनले जानकारी दिए । जसमध्ये दुई योजनाको सबै काम सकिएको छ भने ११ योजनामा ९५ प्रतिशत काम सम्पन्न भएको हो । बाँकी दुई योजना सुरु हुने चरणमा छन् । सबै योजना सम्पन्न भए यस वर्ष २ हजार ५ सय घरधुरीमा बिजुली पुग्ने उनको भनाइ छ ।


प्राधिकरणका अनुसार गत असारसम्म जिल्लाका १० हजार ५ सय २५ घरधुरीमा विद्युत् सुविधा पुगेको थियो । ३ वर्षभित्र सल्यानका सबै घरधुरीमा विद्युत्लाइन विस्तार गर्ने लक्ष्यसहित काम भइरहेको कार्यालयले जनाएको छ । खलंगामा २०३४ देखि विद्युत् विस्तार भएको हो । ४६ हजार घरधुरी रहेको सल्यानमा १२ हजार घरधुरीमा विद्युत् सुविधा पुगेको छ । प्राधिकरणका प्राविधि कृष्णप्रसाद ओलीका अनुसार अहिलेसम्म २४.३१ प्रतिशत घरधुरीमा बिजुली पुगेको हो । दार्मा गाउँपालिकाले यस वर्ष विद्युतीकरणका लागि १ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको छ । कालिमाटी गाउँपालिकामा विद्युतीकरणको क्रममा अख्तियारमा उजुरी परेपछि गत वर्ष विनियोजन गरेको डेढ करोड रुपैयाँको काम हुन सकेन ।


प्रकाशित : मंसिर २७, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?