बजेट पर्याप्त, उपलब्धि न्यून

‘डोल्पाबाट दुई–दुईजना पर्यटनमन्त्री भएपछि बजेट त प्रशस्त आयो, तर उपलब्धि देखिएन’
चाँदनी कठायत

(वीरेन्द्रनगर) — पछिल्लो २ वर्ष डोल्पाले संघ र प्रदेशका २ जना पर्यटनमन्त्री पायो । दुई–दुईजना मन्त्री पाएपछि पर्यटन क्षेत्रको विकास, प्रवर्द्धनका लागि बजेट पनि प्रशस्त विनियाजन भयो । तर, डोल्पा पुगेको उक्त बजेट उपलब्धिविहीन हुन पुगेको स्थानीयको भनाइ छ ।

बजेट पर्याप्त, उपलब्धि न्यून

गत आवमा कर्णाली प्रदेश सरकारले पर्यटनमा ७१ करोड २ लाख रुपैयाँ छुट्याएको थियो । त्योमध्ये डोल्पाका लागि मात्रै २१ करोड विनियोजन गरियो । गत वर्ष नै संघीय सरकारले स–सर्त अनुदानतर्फ डोल्पामा ५० वटा पर्यटन पूर्वाधार विकास योजनाका लागि १९ करोड बजेट पठाएको थियो । डोल्पाका स्थानीय ओमेन्द्र केसी करोडौं बजेट आए पनि देखिने गरी काम नभएको बताउँछन् । ‘दुई–दुईजना पर्यटनमन्त्री भएपछि बजेट त प्रशस्त आयो, तर उपलब्धि खासै देखिएन,’ उनले भने, ‘बजेट आउनुमात्र ठूलो होइन, त्यसको सफल कार्यान्वयन हुनु महत्त्वपूर्ण कुरा हो ।’ पर्यटन सडकका नाममा थुप्रै बजेट खर्चिएको बताइए पनि देखिने गरी कुनै पनि सडक सुधार नभएका उनले बताए ।


डोल्पाको प्रमुख पर्यटकीयस्थल फोक्सुन्डो ताल हो । त्यहाँ जान पर्यटकलाई अहिले पनि कम्ति सास्ती छैन । सदरमुकाम दुनैबाट पैदल हिँडेर जानुपर्ने बाध्यता छ । साइकल लिएर जान सकिए पनि मोटरसाइकल र गाडी भने तालसम्म पुग्दैनन् । दुनैबाट सडकमार्ग बनाउनेतिर दुवै सरकारले चासो नदिएको केसी बताउँछन् । ‘फोक्सुन्डो जाँदा बीच बाटोमा पनि खान–बस्न सुविधायुक्त होटल छैनन्,’ उनले भने, ‘करोडौं टुक्रे योजना बनाएर बजेट खेर फाल्नुको सट्टा फोक्सुन्डोसम्म पुग्ने सडक राम्रो बनाए हुन्थ्यो नि ।’ डोल्पा पुग्ने सडकको अवस्था पनि नाजुक रहेको उनले बताए । जाजरकोट–डोल्पा सडकका खोलानालामा पुल छैनन् । जाजरकोट भएर आउने पर्यटकले ८ वटा गाडी फेर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


डोल्पाबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा पुगेका धनबहादुर बुढा मंसिर ४ गते मन्त्रिमण्डल पुनर्गठनसम्म संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । उनी २०७४ चैतमा राज्यमन्त्री नियुक्त भएका थिए । डोल्पाबाट प्रदेशसभा सदस्य निर्वाचित नन्दसिंह बुढा पनि अहिले कर्णाली प्रदेश सरकारका पर्यटनमन्त्री छन् । दुवैले गृहजिल्लाको पर्यटन प्रवर्द्धनका लागि पर्याप्त बजेट विनियोजन गरेका छन् । जिल्लामा प्रदेश तथा संघीय सरकारका पर्यटनसम्बन्धी योजना कार्यान्वयन गर्ने निकाय डिभिजन वन कार्यालयका अनुसार गत वर्ष डोल्पामा पर्यटनसम्बन्धी ९१ योजना सम्पन्न भएका छन् । दुवै सरकारको करिब ४० करोड बजेटमध्ये ३० करोड खर्च भएको निमित्त कार्यालय प्रमुख जितेन्द्र महत बताउँछन् । डोल्पामा फोक्सुन्डो तालका साथै उच्चमानव बस्ती धो उपत्यका, शे–गुम्बा, रुपगाड र सहरतारास्थित तातोपानीका मुहानलगायत दुई दर्जन पर्यटकीयस्थल छन् । पर्यटन क्षेत्रको प्रवर्द्धन, पूर्वाधार विकास, प्रचारका लागि जति बजेट जिल्लामा पुगेको छ, सोअनुसार पर्यटकको आकर्षण भने देखिँदैन । प्रदेश सरकारको तथ्यांकअनुसार गत वर्ष कर्णालीमा आन्तरिक र बाह्य गरी ६ लाख ६४ हजार ८ सय ६४ पर्यटक भित्रिएका छन् । तीमध्ये डोल्पा पुग्नेको संख्या २ हजार ६ सय ८८ मात्र छ । त्यहाँ पुगेका पर्यटक पनि निकै सास्ती भोग्नुपरेको बताउँछन् । ‘डोल्पामा त चर्चित र मनमोहक पर्यटकीयस्थल छन् भनेर हेर्न गएका थियौं, हुनसम्म दु:ख पाइयो,’ गत जेठमा डोल्पा पुगेका सुर्खेतका श्रीकृष्ण सिंहले भने, ‘ठाउँ सबै सुन्दर भए पनि सडक सुविधा छैन, बाटोमा खानबस्नको समस्या उत्तिकै छ ।’


प्रदेश सरकारले गत वर्ष फोक्सुन्डो ताल परिक्रमा पदमार्ग निर्माणका लागि २ करोड बजेट छुट्याएको थियो । पदमार्ग निर्माणको काम भने अझैसम्म सम्पन्न हुन सकेको छैन । दुनैको भेरी नदी टापुमा पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ छुट्याइए पनि काम भएको छैन । प्रदेश सरकारको पर्यटन मन्त्रालयले मुस्ताङ, ढोरपाटनबाट शे–फोक्सुन्डो, छायानाथ रारा, हिल्सा हुँदै खप्तडसम्म ग्रेट हिमालयन ट्रेकिङ सर्किट निर्माणका लागि २ करोड बजेट छुट्याए पनि काम अघि बढेको छैन ।


गत वर्ष विनियोजित बजेटबाट उपलब्धि नदेखिएकै कारण हुनुपर्छ, चालु आवमा प्रदेश सरकारले डोल्पाको पर्यटन शीर्षकमा बजेट कटौती गरेको छ । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले चालु आवमा पर्यटनतर्फ १ अर्ब ६९ करोड २० लाख बजेट छुट्याएको छ । डोल्पाको भागमा भने १४ करोड मात्र परेको छ । संघीय सरकारले पनि नयाँ पहिचान गरेका पर्यटकीय गन्तव्यका लागि भन्दै सम्बन्धित स्थानीय तहलाई बजेट पठाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकालाई २५ लाख र शे–फोक्सुन्डो गाउँपालिकालाई ४० लाख पठाएको जानकारी दिए ।


डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य बद्मी क्वाँरी बोहोरा प्रदेश सरकारले पूर्वाधार विकासतर्फ भने केही काम थालेको बताउँछिन् । उनका अनुसार फोक्सुन्डो तालमा रिङरोडको काम भइरहेको छ । त्यस्तै, त्रिपुरासुन्दरीमा रहेको पर्यटकीय धार्मिकस्थलमा पनि डेढ करोड बराबरको भौतिक संरचना बनेका छन् । ‘केही पर्यटकीय पदमार्गहरू बन्ने भने पनि बनेका छैनन्, अहिले त डोल्पाले बजेट पनि भनेजस्तो पाएन,’ उनले भनिन्, ‘विनियोजित बजेट कार्यान्वयनमा सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ ।’ पर्यटनतर्फका योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परिरहेका उनले बताइन् ।

प्रकाशित : मंसिर २७, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?