३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बर्सेनि घट्दै दलित विद्यार्थी

हुम्ला — सिमकोट गाउँपालिका २, ठेहेस्थित रामदेव माध्यमिक विद्यालयमा २ सय १६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दलित बालबालिकाको संख्या २१ मात्र छ । गत वर्ष विद्यालयमा ४० दलित बालबालिका अध्ययनरत थिए । झन्डै आधा विद्यार्थीले पढाइ छोडेपछि कक्षा ८ देखि १० मा दलित विद्यार्थीको संख्या शून्य छ ।

उक्त विद्यालय मात्र होइन, जिल्लाका अधिकांश विद्यालयमा दलित बालबालिकाको संख्या बर्सेनि घट्दै गइरहेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाभरि अध्ययनरत विद्यार्थीको करिब २० प्रतिशत मात्र दलित बालबालिका विद्यालयमा भर्ना हुन्छन् । अधिकांशमा विद्यालय नियमित नआउने समस्या बढी छ । गत वर्ष जिल्लाभरि १९ हजार ४ सय ८७ विद्यार्थी भर्ना भए । जसमा दलित बालबालिकाको संख्या ३ हजार ५ सय ३६ मात्र थियो ।


यस वर्ष स्थानीय तहले विद्यार्थी संख्या अझै सार्वजनिक गरेका छैनन् । एकाइ प्रमुख विष्णुबहादुर शाहीका अनुसार अघिल्लो वर्ष जिल्लाभरिमा करिब ३ हजार दलित बालबालिका मात्र भर्ना भए । बर्सेनि करिब ५ सय दलित बालबालिकाले विद्यालय छाड्ने गरेको उनी बताउँछन् । दलित बालबालिकाका लागि छात्रवृत्ति, राहत कार्यक्रम, नि:शुल्क पाठ्यपुस्तकलगायत सुविधा प्रवाह गरिए पनि अझै अधिकांश बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको उनको भनाइ छ । तथ्यांकअनुसार विद्यालयमा भर्ना भएका दलित छात्राको संख्या झन न्यून छ । गत वर्ष १ हजार ८ सय २४ दलित छात्र र १ हजार ७ सय १२ छात्रा विद्यालयमा भर्ना भएका थिए ।


प्राथमिक तहमा दलित विद्यार्थी भर्ना धेरै भए पनि कक्षा उक्लिएर निमावि र मावि तहमा पुग्नेको संख्या न्यून हुने गरेको हो । प्राथमिक तहमा भर्ना भएका करिब ४० प्रतिशत दलित बालबालिकाले मात्र माध्यमिक तह पूरा गर्ने एकाइको तथ्यांक छ । दलित बालबालिकाका लागि छात्रवृत्ति, राहत, अनिवार्य शिक्षा कार्यक्रमलगायत अभियान ल्याइए पनि प्रभावकारी हुन नसकेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा कम उमेरमै विवाह हुनु, गरिबी तथा मजदुरीका लागि अभिभावक बाहिर जानुलगायत कारणले विद्यार्थी संख्या बर्सेनि घटिरहेको हो । अन्य समुदायभन्दा दलितमा बालविवाह गर्ने क्रम बढी रहेको उनले जनाए । सिमकोट गाउँपालिका १, वडा–सदस्य रुपसिङ सुनारले अभिभावक आर्थिक रुपले सक्षम नहुँदा त्यसको असर बालबालिकाको शिक्षामा परेको बताए । ‘गरिबीका कारण अभिभावक मजदुरी, जडीबुटी संकलन, व्यापारलगायत कारण गाउँमा नबस्दा बालबालिकासमेत नियमित विद्यालय जान पाउँदैनन्,’ उनले भने ।


अधिकांश दलित समुदायका अभिभावक साक्षर नहुँदा पनि बालबालिकालाई विद्यालय नपठाउने गरेको उनी बताउँछन् । विभेदका कारण पनि दलित बालबालिकाको पठनपाठन नियमित बन्न सकेको छैन । विद्यालयमा छुवाछूत र भेदभाव कायमै रहेकाले नियमित आउन मन नलाग्ने गरेको सिमकोट गाउँपालिका २, ठेहेस्थित रामदेव माविमा कक्षा ७ मा अध्ययनरत आकृति परियारले बताइन् । विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले कक्षागत रुपमा तह बढ्दै जाँदा दलित बालबालिकाको संख्या घट्दै गइरहेको जानकारी दिए ।


प्रकाशित : मंसिर २७, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?