कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेश सरकारका योजना गुपचुपमै

मुगु — कर्णाली प्रदेश सरकारका विकास निर्माणका योजना गुपचुपमै सञ्चालन हुन थालेको स्थानीयको गुनासो छ । स्थानीय तहसँग समन्वय नगरिँदा बजेटको दुरुपयोग बढ्दै गएको छ । 

अधिकांश योजना सञ्चालन गर्न प्रदेश सरकारले जिल्लामा विषयगत कार्यालयसमेत स्थापना गरेको छैन । उपभोक्ता समितिका पदाधिकारी योजना सम्झौताका लागि प्रदेश राजधानी वीरेन्द्रनगर धाउन बाध्य छन् । प्रदेशस्तरीय पूर्वाधारका योजना सञ्चालन गर्दा आमभेलाको आयोजना नगरिँदा उपभोक्ता समितिको मनोमानी बढिरहेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । प्रदेश सरकारका अधिकांश योजनामा २० लाखदेखि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


प्रदेश सरकारले छायानाथरारा नगरपालिका ४, मा २० लाखको दोबाटो तटबन्ध, २० लाख रुपैयाँमा मालिका आधारभूत विद्यालय घेरबार, ३० लाख बजेटमा बुकाखोला तटबन्धलगायत योजना सञ्चालन गर्‍यो । सबै योजनामा एकलौटी रूपमा उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष विष्णुकुमार भामले बताए । ‘आमभेला नगरी वडाको सिफारिसबिनै असमावेशी उपभोक्ता समिति गठन गरियो,’ उनले भने, ‘स्थानीयको मागभन्दा कार्यकर्ताको स्वार्थमा ध्यान दिँदा सरकारी रकमको दुरुपयोग बढ्यो ।’


नगरको वडा १ मा पनि अल्कासाँघु सिँचाइमा ३० लाख र श्रीनगर खानेपानीमा ४० लाख रुपैयाँ खर्च गरिएको स्थानीयले जनाएका छन् । श्रीनगरका पदमराज मल्लले योजनाका रकम चोर बाटोबाटै खर्च भएको बताए । ‘सार्वजनिक लेखा परीक्षण नगरिँदा दुबै योजनामा अनियमितता भएको आशंका छ,’ उनले भने, ‘उपभोक्ता समितिमा एउटै पार्टीका कार्यकर्ता मात्र राखिँदा कसरी गुणस्तरीय कामको आशा गर्ने ?’


छायानाथरारा १३ मा थापगाउँ हुँदै गडुलानीसम्मको १५ लाखको कृषि सडक र लुमगाउदेखि गडुलानीसम्मको २५ लाख रुपैयाँको सडक पनि गुपचुपमै निर्माण गरिएको वडाध्यक्ष चक्र सावतले बताए । सदरमुकामकै योजना गुपचुपमा सञ्चालन गर्दा ग्रामीण क्षेत्रमा थप बजेट दुरुपयोग बढेको उनी बताउँछन् ।


सोरु र खत्याड गाउँपालिकामा पनि प्रदेश सरकारले गत वर्ष २ दर्जन बढी योजना सञ्चालन गर्‍यो । योजना निर्माण भएको सुइँकोसम्म स्थानीयलाई छैन । समुदायको आवश्यकता पहिचान नगरी भनसुनका आधारमा योजना ल्याउने क्रम बढिरहेको प्राविधिकहरू बताउँछन् । अधिकांश योजनाको अनुगमनसमेत नहुँदा उपभोक्ता समितिको मनपरी बढेको छायानाथरारा नगर प्रमुख हरिजंग शाहीले बताए । ‘न प्रदेश सरकारले योजनाको जानकारी दिन्छ, न उपभोक्ता समितिले नै,’ उनले भने, ‘कतिपय योजनाको निर्माण सकिएको स्थानीय बासिन्दालाई समेत जानकारी हुँदैन ।’ उनले ठूला योजनासमेत मन्त्री र मन्त्रालयका अधिकारी उद्घाटनमा आउँदा मात्र थाहा हुने गरेको सुनाए ।


हत्या आशंकामा आमा–छोरा पक्राउ

सुर्खेत (रासस)– प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका २, मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बीसीको हत्या आशंकामा उनकी पत्नी सुमित्रा र छोरा कमललाई मंगलबार साँझ पक्राउ गरिएको हो ।


प्रहरी निरीक्षक नीरोज चौलागाईंका अनुसार लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटोनजिक सोमबार फेला परेको हो । ‘घरभित्र हत्या गरी बाहिर लगेर फालेको जस्तो देखिएको छ,’ उनले भने, ‘अनुसन्धानका लागि मृतककी पत्नी र छोरालाई नियन्त्रणमा लिएका छौं ।’

प्रकाशित : मंसिर २६, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?