रित्तिए हिमाली बस्ती

चिसो बढेसँगै स्थानीय बासिन्दाले कुरूवालाई घर जिम्मा लगाएर बेंसी झरे अनि नाम्खा गाउँपालिका ६ का तिल, जाङ, हल्जी र लिमीलगायत बस्ती मानवविहीन बने
छपाल लामा

(हुम्ला) — नाम्खा र सिमकोट गाउँपालिकाका उच्च हिमाली बस्ती सुनसान बन्दै गएका छन् । अत्यधिक चिसो बढेपछि स्थानीयले गाउँ छोडेसँगै हिमाली बस्ती खाली बनेका हुन् ।

रित्तिए हिमाली बस्ती

बर्सेनि हिमपात हुनुअघि नै उच्च हिमाली बस्तीका स्थानीयले पशु चौपायासहित गाउँ छाड्ने गरेका छन् । अहिले उच्च हिमाली भेकमा गाउँ हेरालु र गुम्बाका भिक्षु मात्र छन् । स्थानीय बासिन्दा बेंसी झरेपछि नाम्खा गाउँपालिका ६ का तिल, जाङ, हल्जी र लिमीलगायत बस्ती मानवविहीन बनेका हुन् । सिमकोट गाउँपालिका ३, स्थित ४५ घरधुरी रहेको लिमाटाङ गाउँ पनि खाली भइसकेको छ । लिमाटाङका ज्याम्फाल लामाका अनुसार चिसो बढेपछि बर्सेनि ५ महिना गाउँ सुनसान हुने गरेको हो । जाडो कटाउन स्थानीय नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत ठाउँमा जाने गरेका छन् ।


पशुचौपायासहित गाउँ छोडेका स्थानीय भने सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा ओर्लिएका छन् । उच्च भेकका बासिन्दा हिउँ बिलाएपछि र गर्मी चढेपछि मात्र चैत/वैशाखमा गाउँ उक्लिन्छन् । उनका अनुसार गाउँमा हिँड्न नसक्ने केही ज्येष्ठ नागरिकलाई घर हेरालुका रूपमा राखिएको छ । उनीहरूका लागि खानाको व्यवस्था गरेर मात्रै परिवारका सदस्य बेंसीमा ओर्लिने गरेको उनी बताउँछन् । लिमटाङका अधिकांश घरधुरीले व्यावसायिक पशुपालन गरिरहेका छन् । चौरी, भेडा र घोडा–खच्चड पालन स्थानीयको पुर्ख्यौली व्यवसाय हो । लामाले ७० भेडा र घोडाखच्चड पालिरहेका छन् ।


जाडो महिनामा सिमकोट र अछाम लिएर पशुचौपाया बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ । ‘भेडा–बाख्रासहित हिउँदमा सिमकोट र अछाम तथा बर्खामा पाटनमा अस्थायी बसोबास गर्छौं,’ लामाले भने, ‘पशुपालन गर्नेहरू गाउँमा त मुस्किलले २/३ महिना मात्र बस्छौं ।’ हिउँदमा हुम्लाका अधिकांश बस्तीमा हिमपात हुने गरेको छ । उच्च हिमाली क्षेत्रमा हिउँदमा ५ फिटसम्म हिउँ पर्दै आएको छ । हिमपातले जनजीवन कष्टकर हुने गरेकाले बर्सेनि बेंसीतिरका बस्ती झर्दै आएको लामाले जानकारी दिए । हिमपातपछि हिमाली गाउँको सम्बन्ध अन्य गाउँसँग टुट्छ ।


बसाइसराइले ओझेलमा लामा संस्कृति

सुविधायुक्त ठाउँ र सहरी क्षेत्रमा बसाइसराई गर्ने क्रम बढेपछि उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने लामा समुदायको संस्कृति ओझेलमा परेको छ । अत्यधिक चिसो, कठिन भूगोल र असुविधाका कारण स्थानीय सदरमुकाम सिमकोट, सुर्खेत, नेपालगन्जलगायत क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको छ ।


बसाइसराइले लामाहरूको वेशभूषा, रहनसहन, गरगहना र मौलिक संस्कृति लोप हुन थालेको स्थानीय लाक्पा लामाले बताए । ‘युवाले ऊनबाट बुनेका काम्ला, बख्खु, पाइन्ट, दोच्छा, लामलगायत प्रयोग गर्न र लगाउन छाडेका छन्,’ उनले भने, ‘सहरी क्षेत्रमा सस्तोमा पाइने लत्ताकपडा र गरगहनाले परम्परागत सामग्री लोप हुन थाले ।’ उनका अनुसार लामा समुदायका ज्येष्ठ नागरिकले भने आफैंले बुनेका कपडा प्रयोग गर्छन् ।


आफ्नै उत्पादनले वर्षभरिको खाद्यान्न पुर्‍याउने लामा समुदायमा अहिले खेती गर्ने क्रमसमेत घटेको छ । खेती गर्ने क्रम घटेपछि तिते फापर, फापर, कालो जौं, कोदोलगायत बालीको उत्पादन घट्दै गएको छ । लामा समुदायमा मागेर बिहे गर्ने र गाउँले जम्मा भएर गरिने विवाहसमेत हराएको स्थानीय अगुवाको भनाइ छ । ‘कुनै समय अधिकांश घरमा काठका भाँडाकुडा मात्र प्रयोग हुन्थे,’ उनले भने, ‘धातुका सामानले सबै विस्थापित भए ।’ युवा पुस्तामा पुराना नाचगानप्रति रुचि नभएपछि संस्कृति ओझेलमा पर्दै गइरहेको उनले जानकारी दिए ।


प्रकाशित : मंसिर २६, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?