कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गाउँगाउँमा मदिरा नियन्त्रण अभियान

कालीकोट — प्रहरीले गाउँगाउँमा अवैध मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । मातहतका प्रहरी एकाइमार्फत अवैध घरेलु मदिरा बरामद गरी नष्ट गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीयले अन्न कुहाएर मदिरा उत्पादन गर्ने क्रम बढेपछि नियन्त्रण अभियान थालिएको हो । दसैंयता १२ हजार लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरिसकेको छ । सदरमुकाम मान्म, ताडी, मोल्फो, जिते हुल्मसहितका बजार क्षेत्र, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा घरेलु मदिरा बरामद गर्ने कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) श्यामबाबु ओलियाले बताए । उनका अनुसार अनुसार मान्मबाट ७ हजार, ताडीबाट १५ सय, मोल्फाबाट २ हजार र जितेबाट हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।


मदिरा सेवनका कारण विभिन्न घटना बढेपछि नगरपालिकाले प्रहरीको सहकार्यमा अवैध मदिरा जफत अभियान चलाएको रास्कोट नगर प्रमुख काशीचन्द्र बरालले बताए । उनले घरेलु मदिरा नियन्त्रणमा प्रहरीसहित श्रम रोजगार बैंकका सदस्य परिचालन गरिएको जानकारी दिए । त्यस्तै, पचालझरना गाउँपालिकाको केन्द्र जारकोट र आसपासका बजारमा मदिरा नियन्त्रण अभियान सुरु गरिएको छ । प्रहरीले तयारी मदिरा र मदिरा उत्पादनका लागि राखिएको सामग्री जफत गर्न थालेको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन् ।


हिंसा र अशान्तिको प्रमुख स्रोत मानिएको मदिरा निषेध गर्ने गत फागुनको जिल्ला सभाले निर्णय गरेको थियो । व्यापारीले अदालतमा मुद्दा दायर गरेपछि वैध मदिरा खुला गरिएको छ । जिल्लासभाको निर्णयपछि मदिरा निषेध गरिए पनि कार्यान्वयन नहुँदै उद्योग वाणिज्य संघले सुर्खेत उच्च अदालत, जुम्ला इजलासमा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, रास्कोट नगर प्रमुख काशीचन्द्र बराल, तत्कालीन जिल्ला प्रहरी प्रमुख विनोद शर्मासहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । जुम्ला इजालासले व्यवसायीको पक्षमा फैसला भएर पक्की मदिरा खुला भएको हो ।


घरेलु मदिरा कानुनी रुपमा अवैध भए पनि निर्वाध रुपमा उत्पादन, सेवन र बिक्री भइरहेको पाइएपछि नियन्त्रण अभियान थालिएको प्रहरी निरीक्षक यक्षराज जोशीले बताए । सदरमुकामसहित केही बजार क्षेत्रमा कहिलकाहीं प्रहरीले छापा मारे पनि गाउँमा घरेलु मदिराको कारोबार नरोकिएको पेय पदार्थ व्यवसायी संघका अध्यक्ष जीवनकुमार शाहीले बताए ।


पलाता गाउँपालिकाले पहिलो गाउँसभाबाटै पलातालाई निषेधित क्षेत्र घोषणा गरी मदिराविरुद्ध अभियान सुरु गरेको थियो । ‘मदिरा निषेधले महिला दिदीबहिनी खुसी छन्,’ गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने, ‘केही व्यक्तिका कारण पूर्णर्रुपमा बन्द हुन नसकेको छैन ।’


मदिरा निषेधित क्षेत्र पलातामा मदिरा सेवनका कारण साउन ७ गते पलाता ८ का २४ वर्षीय मञ्जन बमको मृत्यु भएको थियो । गाउँपालिकाले मदिरा निषेध गरे पनि गत वर्षको पुसमा स्थानीयले मदिरा सेवन गरी खाडा गाउँमा आगलागी गरेको सार्वजनिक भएको थियो ।


‘युवा स्थापित, डोजर विस्थापित’

दैलेख (रासस)– जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनापश्चात् युवा स्थापित डोजर विस्थापित नीति अगाडि सारेको छ ।


आव ०७६/७७ देखि सुरु हुने श्रम रोजगार बैंकमार्फत १ सय ४० युवालाई रोजगारी दिएको गाउँपालिकाले युवालाई विकासमा स्थापित गराएर डोजर विस्थापित नीति अघि सारेको हो । संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको र सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हकसम्बन्धी ऐन २०७५ अनुसार श्रमरोजगार बैंक स्थापना गरी रोजगार दिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले श्रम रोजगार बैंकमार्फत गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व गर्ने गरी युवा छनोट गरेको र अब हुने विकास निर्माणमा डोजर र उपभोक्ता समितिलाई विस्थापित गर्ने तयारीसमेत रहेको बताए ।


प्रकाशित : मंसिर २६, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?