कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘कार्यक्रम बजारकेन्द्रित भए’

हरि गौतम

(रुकुम पश्चिम) — मुसीकोट नगरपालिकाले मंसिर ९ गते वडा १ को खलंगा बजारमा रहेको सहिद मैदानमा भव्य कार्यक्रम आयोजना गर्‍यो । लैंगिक हिंसाविरुद्धको १६ दिन अभियानको पहिलो दिनको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न लैंगिक हिंसाविरुद्धका विभिन्न प्रस्तुति भए ।

‘कार्यक्रम बजारकेन्द्रित भए’

तर कार्यक्रमका सहभागी थिए–बालबालिका अर्थात् स्कुले विद्यार्थी । विद्यार्थीको उपस्थिति र सहभागितामा नगरपालिकाले अभियानको उद्घाटन गर्‍यो । मंसिर २० गते त्रिवेणी गाउँपालिकाले पनि ६ नम्बर वडाको युवा जनजागरण माविको प्रांगणमा हिंसाविरुद्धको जनचेतनामूलक कार्यक्रम गर्‍यो । कार्यक्रममा चेतनामूलक सडक नाटक, दोहोरी तथा नाचको प्रतिस्पर्धा गराइयो । उक्त कार्यक्रममा पनि स्कुले विद्यार्थीकै सहभागिता धेरै थियो । शुक्रबारको दिन पारी आयोजित उक्त कार्यक्रम विद्यालय छुट्टी हुने बेला सुरु गरिएको थियो ।


लैगिक हिंसाविरुद्धको १६ दिनको अवधिमा जिल्लाका धेरै ठाउँमा विभिन्न कार्यक्रम गरिए । जिल्लाका तीन नगरपालिका तथा ३ गाउँपालिकाले यस अवसरमा धेरै कार्यक्रम गरेर मंगलबार अभियानको पनि समान गरे । तर अभियान अभियानमा मात्रै सीमित रह्यो । कार्यक्रमहरू गाउँ केन्द्रितभन्दा बजार केन्द्रित भए । कार्यक्रममा अरु भन्दा बालबालिका नै धेरै सहभागी गराइए । ‘कार्यक्रम गर्नेहरूलाई विद्यार्थीहरूसँग कार्यक्रम गर्न नै सजिलो भयो,’ मुसीकोट नगरपालिका–३, की रामकला केसीले भनिन्, ‘हिंसाको बारेमा नै थाहा नपाएका महिलाले यो वर्ष पनि यो अभियानको बारेमा सुइँको समेत पाएनन् ।’ उनले धेरै सहभागिता देखाउनका लागि विद्यार्थीलाई पायक पर्ने र विद्यालयमै कार्यक्रम गरिएकाले अलि कुनाकाप्चामा बस्ने महिला तथा अरुले पनि यो अभियानको बारेमा थाहा नपाएको जनाइन् ।


हरेक वर्षजस्तै यस वर्ष पनि लैगिक हिंसाविरुद्धको अभियान गाउँसम्म नपुगेको महिलाको गुनासो छ । ‘कार्यक्रम हुन्छ, अभियान चल्छ भन्ने मात्रै सुनेका छौं,’ त्रिवेणी गाउँपालिका–३, की कमला ओलीले भनिन्, ‘तर भित्र भित्रसम्म कार्यक्रम हुदैनन् बाहिरतिर कार्यक्रम हुन्छन्, अभियान सकिन्छन् ।’


लैगिक हिंसाका कारण समस्यामा परेका र दु:ख भोगिरहेका धेरै छन् । लैगिक हिंसामा परेकाहरू समस्यामै छन् । कतिपयलाई ‘हिंसा गर्नेलाई के कारबाही हुन्छ र कहाँ उजुरी हुन्छ ?’ भन्नेसम्म थाहा हुँदैन ।

अभियानमार्फत पीडितलाई सूसुचित गर्नुपर्नेमा हिंसाविरुद्धका अभियान कार्यक्रममै सीमित हुँदा कार्यक्रमको औचित्य नहुने अधिकारकर्मी बताउँछन् । हिंसा न्यूनीकरणका लागि सबै पक्ष लाग्नुपर्ने र अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने अधिवक्ता रचना मल्लले बताइन् ।


स्थानीय तह गठनपछि धेरै ठाउँमा अभियानको सन्देश गएको जनप्रतिनिधिको दाबी छ । ‘पहिलेको जस्तो होइन, हामीले कार्यक्रम बनाएरै वडामा पुगेर कार्यक्रम गरिरहेका छौं,’ मुसीकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारले भनिन्, ‘चेतना जगाइरहेका छौं ।’ हिंसा न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित : मंसिर २५, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?