१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मौरीपालनले आत्मनिर्भर

(हुम्ला) — सिमकोट गाउँपालिका ३, का छिमीछिरिङ लामाले मौरीपालन व्यवसायबाट यस वर्ष १२ लाख रुपैयाँ आम्दानी गरे । एउटा घारबाट व्यवसाय सुरु गरेका उनको घरमा अहिले ४५ मौरीघार छन् । 

मनग्गे आम्दानी हुन थालेपछि उनी मात्र होइन, गाउँका दुई दर्जन बढी किसान मौरीपालन व्यवसायमा आकर्षित भएका छन् । जिल्लाको अर्गानिक महको माग बाहिर बढ्दै गएपछि किसान मौरीपालन व्यवसायमा आकर्षित भएका हुन् । सदरमुकाम सिमकोटमा मह प्रतिमाना सात सय रुपैयाँमा बिक्री हुने गरेको छ । जिल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा मह लैजाने क्रम बढेपछि किसान हौसिएका हुन् । जिल्लाको मह नेपालगन्ज, सुर्खेत तथा राजधानी काठमाडौंसम्म पुग्ने गरेको छ ।


एक मौरी घारबाट ४० मानासम्म मह उत्पादन भइरहेको लामाले जनाए । लामाले मौरीपालनकै आम्दानीले दुई छोरालाई काठमाडौंमा उच्च शिक्षा अध्ययन गराइरहेका छन् । ‘महकै आम्दानीले घरखर्च मजाले चलेको छ, छोराहरूलाई पढाउन पुगेकै छ,’ उनले भने, ‘खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँसम्म बचत गर्दै आइरहेको छु ।’


मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी भए पनि दु:ख धेरै गर्नुपरेको लामाको गुनासो छ । वर्षभरि दु:ख गरी जोगाएको मह काढ्ने बेलामा भालुले खाइदिने समस्या रहेको उनले सुनाए । उनका अनुसार लिमाटाङका अधिकांश घरमा मौरीपालन व्यवसाय भइरहेको छ । तरकारीमा विषादी प्रयोग गरिँदा मौरीको संख्या घट्दै गएको उनी बताउँछन् । ‘मौरी बारीमा फूलेको फूलको रस चुस्न जाँदा बिषादीले मर्ने समस्या बढी छ,’ उनले भने, ‘तर पनि बजारमा माग र भाउ बढ्दै गएपछि व्यवसाय फस्टाइरहेको छ ।’


स्थानीयका अनुसार हुम्लाको महलाई औषधिको रुपमा प्रयोग गरिन्छ । मुटु, पेट र टाउको दुख्ने तथा गिजा सुन्निएको समस्या मह सेवनबाट समाधान हुने गरेको स्थानीयबासी बताउँछन् । लामाले १५ वर्षदेखि मौरीपालनलाई व्यवसायिक बनाएको जानकारी दिए । उनका अनुसार पाँच वर्षयता उनको आम्दानी १० लाख रुपैयाँ घटेको छैन । ‘गाउँमा मैले नै व्यवसायिक मौरीपालनको सुरुवात गरेको हुँ,’ उनले भने, ‘अहिले गाउँका दुई दर्जन घरधुरी मौरीपालनमा लागेका छन् । सबैको आम्दानी क्रमश: बढिरहेको छ, मैले पनि बर्सेनि व्यवसाय बिस्तार गरिरहेको छु ।’


प्रकाशित : मंसिर २५, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?