कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रोकिएन खोला दोहन

‘मनपरि खोला दोहनले अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ समस्या देखिन थाल्यो’
विप्लव महर्जन

(सल्यान) — बन्गाडकुपिन्डे नगरपालिकामा पर्ने भेरी नदी, कुपिन्डे ताल, माझकाँडा, बन्गारलगायत खोलामा दोहन बढ्दै गएको छ । पक्की भवन निर्माण गर्ने क्रम बढेपछि जथाभाबी खोला दोहन हुन थालेको हो । 

रोकिएन खोला दोहन

नदी तथा खोलाबाट ठेकेदार, ब्यापारी तथा स्थानीयले डोजर लगाइ दोहन गर्ने क्रम बढिरहेको छ । गिट्टी बालुवा जथाभाबी झिक्न थालेपछि स्थानीय खोलामा पानीको सतह घट्दै गएको छ । नगरपालिकाले आन्तरिक स्रोत जुटाउन खोलाजन्य बस्तु उत्खनन्का लागि बोलपत्र आह्वान गरे पनि बढी रकम तोकेको भन्दै कसैले पनि आवेदन पेस गरेका छैनन् । नगरपालिकाले ठेक्का दिन नसक्दा जथाभावी नदीजन्य सामग्री निकाल्ने क्रम बढिरहेको हो ।


मनपरी ढंगले खोलाजन्य बस्तु उत्खनन् गर्दा विभिन्न खोला, भेरी नदी र कुपिन्डे ताल आसपासको पाँच सय हेक्टर बढी जग्गा प्रभावित बनेको छ । जथाभाबी उत्खनन्ले पानी सुकेपछि खेतमा सिँचाइ गर्न समस्या हुन थालेको स्थानीय प्रेमलाल रानाले बताए । ठेकेदार तथा व्यवसायीले कर छली गर्दै जथाभाबी नदीजन्य सामग्री निकालिरहेको उनको आरोप छ । उनका अनुसार रातिको समयमा समेत नदीजन्य बस्तु निकाल्ने गरिएको छ । ठूला मेसिन र डोजर प्रयोग गर्दा पर्यावरणमा असर परिरहेको उनी बताउँछन् ।


मनपरी खोला दोहनका कारण अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ समस्या देखिन थालेको स्थानीय टेकबहादुर थापाले बताए । ‘गत वर्षसम्म सजिलै कुलोमा पानी चढ्थ्यो, यस वर्ष कुलोमा पानी चढाउन बाँध बनाउनुपर्ने बाध्यता भयो,’ उनले भने, ‘यस्तै अवस्था रहे केही वर्षभित्र सबै खोलामा पानी सुक्ने देखिन्छ ।’ खोलाको बीच भागबाट गिट्टीढुंगा र बालुवा निकाल्दा प्रकोपको जोखिम बढ्दै गएको छ ।


जथाभाबी उत्खनन् बढे पनि रोकथाममा स्थानीय सरकार र प्रहरीले बेवास्ता गरिरहेको स्थानीय नरबहादुर बोहराले बताए । ‘जथाभाबी नगरौं भनेर सम्झाउँदा धम्काउन खोज्छन्,’ उनले भने, ‘कुलोमा पानी नचढेपछि पाइपमार्फत जग्गामा सिँचाइ गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार सिँचाइ समस्या हुन थालेपछि जमिन बाँझिने क्रम बढेको छ । पछिल्लो समय नगरपालिका बाहिरसमेत नदीजन्य पदार्थ ओसार्ने क्रम बढिरहेको उनले सुनाए ।


नगरपालिकाले जथाभाबी उत्खनन् नियन्त्रण गर्दै आइरहेको दाबी गरेको छ । केही दिनअघि मात्र उत्खनन्मा प्रयोग भएको एक स्काभेटर र पाँच ट्याक्टर नियन्त्रणमा लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन

खड्काले बताए ।


उनका अनुसार खोलाजन्य बस्तु उत्खनन्को काम नियमअनुसार गर्न टेन्डर आह्वान गरिए पनि आबेदन नपर्दा समस्या भएको उनी बताउँछन् । उनका अनुसार २५ प्रतिशत रकम व्यवसायीलाई दिइ ७५ प्रतिशत नगरपालिकामा बुझाउने सर्तमा टेन्डर आह्वान गरिएको थियो । पुन: टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले सुनाए ।


प्रकाशित : मंसिर २५, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?