२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जथाभावी सडक खन्दा खानेपानी संकट

विप्लव महर्जन

सल्यान — जथाभाबी सडक निर्माणका क्रममा पानीका मुहान सुकेपछि बन्गाडकुपिन्डे नगरपालिका १२, बस्नेउरामा खानेपानी संकट चुलिएको छ । सल्लीबजार–बस्नेउरा सडक निर्माणका क्रममा गाउँनजिकै रहेका ३ मुहान सुकेपछि स्थानीयले लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका हुन् ।

जथाभावी सडक खन्दा खानेपानी संकट

खानेपानी अभाव बढ्दै गएपछि स्थानीयलाई १ घण्टा टाढाको खोल्सी मुहानबाट पानी ल्याउनुपर्ने बाध्यता छ । बस्नेउरामा ९० घरधुरी छन् । पानी नहुँदा पशुचौपाया पाल्न पनि समस्या भएको स्थानीयको गुनासो छ । अधिकांश शौचालय प्रयोगविहीन छन् । स्रोत टाढा हुँदा स्थानीय सरकारले खानेपानी योजना निर्माणमा बेवास्ता गरेको स्थानीयको गुनासो छ ।


खानेपानी अभाव चुलिँदै गएपछि बालबालिकाको पढाइ नियमित हुन सकेको छैन । अधिकांश बालबालिकाको साँझ–बिहानको समय पानी ओर्सादैमा बित्ने गर्छ । पानीका लागि लामो समय हिँडेर गाग्रीसहित उकालो चढ्दा दैनिक सास्ती हुने गरेको स्थानीय चन्द्रा बुढा बताउँछिन् । टाढाबाट पानी ल्याउँदा ४० वर्षमै ढाड दुख्ने समस्याबाट पीडित भएको उनले बताइन् । ‘गाउँनजिकै ३ मुहान थिए, जतिबेला गएर पानी भर्दा पनि समस्या थिएन ।


जथाभाबी सडक खन्दा सबै मुहान पुरिएपछि अहिले सास्ती भोग्नुपरेको छ,’ उनले भनिन्, ‘बर्खामा आकासे पानी संकलन गरी चलाउँछौं, हिउँदमा पानीकै लागि ठूलो जोखिम मोल्नुपरेको छ ।’ उनले मुहानमा पनि पालो कुर्नुपर्ने भएकाले एक गाग्री पानी ल्याउन कम्तीमा ३ घण्टाको समय छुट्याउनुपर्ने बाध्यता भएको सुनाइन् ।


पानीकै कारण खेतीको काममा पनि समस्या भएको स्थानीयको भनाइ छ । जतिबेला पनि पानीकै चिन्ता हुँदा घरायसी कामकाज लथालिंग हुने गरेको स्थानीय देवीमाया पुन बताउँछिन् । ‘पानीका लागि बिहानै उठेर घरबाट ओरालो झर्दा चिप्लिएर लड्ने जोखिम उत्तिकै हुन्छ,’ उनले भनिन्, ‘झिसमिसेमा खोला नझरे पालो पाउनै मुस्किल हुन्छ ।’ उनका अनुसार बालबालिकालाई पानी ओसार्न लगाउनुपर्ने बाध्यताले पढाइमा असर परिरहेको छ । पानी अभावले घर र आसपासको क्षेत्रको सरसफाइमा समस्या भइरहेको उनको गुनासो छ ।


नजिकै मुहान नभएकाले सरकारी निकायले समस्या सम्बोधनमा चासो नदेखाएको स्थानीय दुर्गाबहादुर पुनले बताए । ‘पानीकै लागि सबैजसो अड्डा धाइयो, तर सबैले बेवास्ता गरे,’ उनले भने, ‘चुनावका बेला भोट माग्न आएका जनप्रतिनिधिले पनि अहिले फर्केर हेरेनन् ।’ उनले जनप्रतिनिधिले आफ्ना बाचा बिर्सिएको गुनासो गरे ।


डाँडामा बस्ती र मुहान तल हुँदा गाउँमा खानेपानी समस्या बढेको वडाध्यक्ष गोविन्द डाँगी बताउँछन् । उनका अनुसार बस्नेउरासहित निगालचुला र माझखर्कमा पनि खानेपानीको वर्षौंदेखि समस्या छ । लिफ्ट खानेपानी योजना सञ्चालन गर्न बढी रकम लाग्ने भएकाले समस्या देखिएको उनी बताउँछन् ।


‘वर्षमा ४/५ लाख रुपैयाँ वडाको खानेपानीका लागि छुट्याइन्छ,’ उनले भने, ‘त्यो रकम मर्मतमै सकिँदा स्थानीयको खानेपानीको माग पूरा गर्न सकिएको छैन ।’ उनका अनुसार अधिकांश टोलमा खानेपानी अभाव हुँदा बसाइसराइको समस्या बढ्दै गएको छ ।

प्रकाशित : मंसिर २४, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?