कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एक स्थायी शिक्षकका भरमा मावि

सल्यान — जिल्लाका अधिकांश माध्यमिक विद्यालयमा न्यूनतम ८ शिक्षकको दरबन्दी छ । तर बन्गाडकुपिन्डे नगरपालिकाको जयतपानीस्थित प्रतिभा माध्यमिक विद्यालय एक दरबन्दीका शिक्षककै भरमा चलिरहेको छ । ती पनि प्राथमिक तहका हुन् । दरबन्दी अभावका कारण विद्यालयको पठनपाठन वर्षौ‌‌देखि प्रभावित बनेको हो । प्राथमिक तहका स्थायी शिक्षक देवीलाल नेपालीले प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन् ।

२०४६ सालमा स्थापना भएको विद्यालयमा एक जनाको मात्र दरबन्दी भएपछि अधिकांश शिक्षक निजी स्रोतबाट राखिएको हो । निजी स्रोतका शिक्षकलाई तलब खुवाउन हम्मेहम्मे परेको प्रधानाध्यापक नेपालीले बताए । शिक्षक भर्ना र उनीहरूलाई

तलब खुवाउन स्थानीय सरकारले समेत बेवास्ता गरिरहेको उनको गुनासो छ । अभिभावकबाट चन्दा संकलन गरी ६ शिक्षकको तलबको व्यवस्था गरिरहेको उनी बताउँछन् ।


शिक्षकको व्यवस्था मिलाउन बारम्बार साबिक शिक्षा कार्यालय र स्थानीय तहसँग आग्रह गरिए पनि बेवास्ता भएपछि विद्यालय सञ्चालन गर्न गाह्रो भएको उनले गुनासो गरे । उनका अनुसार साबिक जिल्ला शिक्षाले प्रावि तहमा २ र निमाविमा एक राहत शिक्षक उपलव्ध गराएको थियो । मावि र निमाविमा विषयगत शिक्षक भर्ना गर्न अभिभाबकबाट भर्ना, परीक्षालगायत शुल्क लिन बाध्य भएको उनले जनाए ।


साबिक कुपिन्डे गाविसमा एउटा पनि मावि नभएपछि बालबालिका ३/४ घण्टा हिँडेर मार्केको त्रिभुवन जनता मावि र सेजुवालटाकुराको महेन्द्र माविमा पढ्न बाध्य थिए । बालबालिकालाई बाहिर जान समस्या भएपछि विद्यालयलाई निमावि हुँदै मावि बनाइएको हो । विद्यालयमा स्वारा, ज्यामिरे, गिठाचौर, सेरा र जयतपानीका बालबालिका अध्ययन गर्दै आइरहेका छन् । कक्षा १ देखि १० सम्म ४ सय विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।


संस्थापक एवं पूर्वशिक्षक रिमबहादुर बुढाथोकीले मावि तहसम्म सञ्चालन गरिएको विद्यालयमा दरबन्दीका शिक्षकको व्यवस्था नहुँदा पठनपाठनमा बाधा पुगेको बताए । शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएका स्थानीय शिक्षकलाई राजनीतिक दबाबका कारण अन्यत्र खटाउँदा निजी स्रोतका शिक्षकको तलब व्यहोर्न गाह्रो भएको उनी बताउँछन् । ‘सदरमुकाम आसपासका माध्यमिक विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक छन्,’ उनले भने ।

बन्गाडकुपिन्डे नगरपालिकाका शिक्षा प्रमुख चक्रबहादुर रावतले अधिकांश विद्यालयले दरबन्दी अभावको समस्या झेलिरहेको बताए । विवादकै कारण यसअघि जिल्ला शिक्षाले दरबन्दी मिलान गर्न नसकेको उनको भनाइ छ । उनले नगरपालिकाभित्र दरबन्दी मिलान गर्न आवश्यक प्रक्रिया थालिएको जनाए । उनले दरबन्दीविहीन विद्यालयमा शिक्षक व्यवस्थापन गर्न नगरपालिकाले योजना निर्माण गरिरहेको सुनाए ।

प्रकाशित : मंसिर २४, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?