२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सेवा पाउनै सास्ती

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखलाई दैनिक दुईवटा कार्यालय पुग्नुपर्छ । कृषि तथा पशु शाखा र वन कार्यालयका प्रमुखको पनि अवस्था पनि उस्तै हो ।उनीहरूले कार्यालय भएको ठाउँमा मात्र बसेर सेवा प्रवाह गरिरहेका छैनन् । कति बेला कुन कार्यालयमा हुन्छन्, एकिन हुँदैन ।

एउटै मान्छेले दुई कार्यालयको जिम्मेवारी लिएर भने दुई ठाउँमा धाउनुपरेको भने होइन । एउटै कार्यालयको जिम्मेवारी लिँदा पनि उनीहरू त्यसरी नै दुई कार्यालय जानुपर्छ । गाउँपालिका कार्यालय र यी विषयगत कार्यालय टाढा हुनुका कारण कर्मचारी तथा स्थानीय सास्ती भोग्न बाध्य छन् । गाउँपालिका कार्यालय र विषयगत कार्यालयको दूरी ७ किमि टाढा छ । वडा ३ को खारानेटामा गाउँपालिका कार्यालय छ भने वडा २ को सिम्रुतु बजारमा विषयगत कार्यालय राखिएका छन् ।


कार्यालय प्रमुख बैठक, कार्यालयका थप काम तथा अरु समन्वयका लागि गाउँपालिका पुग्नुपर्छ । सेवाग्राही विषयगत कार्यालयमा आउँदा आफ्नै कार्यालयबाट सेवा दिनुपर्ने भएकाले उनीहरूले दुई ठाउँमा ओहोरदोहोर गरिरहेका हुन् । कृषि शाखा प्रमुख रमेश पुनले कार्यालय टाढा हुँदा सेवाग्राहीलाई समस्या भएको बताए । कृषि कार्यालय, सिम्रुतुबाटै साना सेवा प्रवाह भए पनि ठूला काम र भुक्तानीका लागि खारानेटा पुग्नैपर्ने बाध्यता रहेको उनी बताउँछन् । आवश्यकताका आधारमा आफूहरू सिम्रुतु र खारानेटा जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।


कर्मचारीलाई दोहोरो काम परेको छ नै । सेवाग्राही झन् समस्यामा परेका छन् । संघीयता आएपछि घरनजिक सेवा आउँछ भनिए पनि स्थानीयले थप दुःख पाइरहेका हुन् । निवेदन बुझाउन सिम्रुतु पुग्ने सर्वसाधारण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको तोक लगाउन ७ किमि यात्रा गरेर खारानेटा पुग्नुपर्छ ।


सानो कामका लागि पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ । ‘काम सानो हुन्छ, तर २–२ ठाउँ पुग्नुपर्दा धेरै समय खर्च हुन्छ,’ वडा ९ का बासिन्दा भद्रवीर खड्काले भने, ‘कहिलेकाहीं कर्मचारीलाई समेत खोज्नुपर्ने भएकाले झन् समस्या भइरहेको छ ।’ उनले दुई ठाउँ कार्यालय राखिनुले स्थानीयको सेवा सहज नभई झन्झटिलो भएको जनाए । कार्यालय बाँडफाँड गरिँदा सेवा लिन कष्ट भइरहेको उनको गुनासो छ ।


संघीयतामा घरनजिक र एकीकृत सेवा प्रवाह होला भन्ने सोचिए पनि त्रिवेणीको हकमा अर्कै भइरहेको स्थानीय दलबहादुर ओलीको गुनासो छ । गाउँपालिकाका कार्यालय सबै एकै ठाउँ हुँदा सेवाप्रवाह सहज हुने उनी बताउँछन् । त्रिवेणी गाउँपालिकामा केन्द्र विवाद छ । विवादपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।


पहिलोपटक गाउँपालिकाको कार्यालय साबिक मुरु गाविसको कार्यालय तथा अहिलेको ७ नम्बर वडामा तोकिएको थियो । २०७४ भदौको गाउँसभाले सिम्रुतु र खारानेटा दुवैलाई समेटेर केन्द्र बनाउने निर्णय गरेको थियो । फेरि २०७४ कै चैतमा बसेको गाउँ कार्यपालिकाले वडा ३ को खारानेटामा मात्रै केन्द्र बनाउने निर्णय गरेपछि गाउँपालिकाको केन्द्रसम्बन्धीको विवाद चुलिएको थियो । गाउँसभाको निर्णयअनुसार सिम्रुतु नै केन्द्र हुनुपर्छ भन्ने दाबीसहित स्थानीय बासिन्दा सर्वोच्च गएका हुन् ।

प्रकाशित : मंसिर २४, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?