१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तातोपानीमा घुइँचो

‘व्यवस्थापन भद्रगोल छ, तर पनि नुहाउन आउने बढिरहेका छन्, यसलाई व्यवस्थित गर्नसके गाउँपालिकामा आर्थिक गतिविधि बढ्ने देखिन्छ’ 
एलपी देवकोटा

जुम्ला — जिल्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेको घुइँचो पनि बढेको छ । तर तातोपानी क्षेत्र अव्यवस्थित हुँदा स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकले सहज रुपमा नुहाउन पाएका छैनन् । स्वास्थ्य तथा पर्यटकीय दृष्टिले तातोपानी गाउँपालिकामा रहेको धारामा जाडो बढेसँगै नुहाउन आउनेको घुँइचो लाग्ने गर्छ ।

तातोपानीमा घुइँचो

तातोपानी धारालाई व्यवस्थित गर्न स्थानीय सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ । स्थानीय महेश नेपालीले दुई दिनअघि टिकट काटे पनि राम्रोसँग नुहाउन पाएनन् । धारामा नुहाउनेको भीड धेरै भएकाले आफूले राम्ररी नुहाउन नपाएको उनको गुनासो छ । ‘धारामा पसेको ५ मिनेटमै निस्कनुपर्‍यो,’ उनले भने, ‘टिकट काटेर धारामा गइसकेपछि कति मिनेट नुहाउने, एकपटकमा कति जनालाई धारामा पठाउनेलगायत कुनै नियम नहुँदा दैनिकजसो सबैले सास्ती भोग्नुपरेको छ ।’


उनका अनुसार पछिल्लो समय बाहिरका मानिसको भीडसमेत बढ्दै गएको छ । तर व्यवस्थापन फितलो हुँदा सबैले गुनासो मात्र गर्ने उनी बताउँछन् । तातोपानी पर्यटकीय विकास केन्द्रले नुहाउन आउने जिल्लाबासीलाई २० र बाहिरका मानिसबाट ४० रुपैयाँ असुलिरहेको छ । चिसोमा तातोपानीमा दैनिक सय बढी मानिस नुहाउन आउने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मंसिर लागेसँगै नुहाउन आउनेको भीड लागेको हो ।


तातोपानीमा नुहाउन आएका कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरवीर रावलले पनि राम्रोसँग नुहाउन नपाएको गुनासो गरे । ‘भीड धेरै भएकाले पनि चाँडै धाराबाट बाहिर निस्कनुपर्‍यो,’ उनले भने, ‘स्वास्थ्य र पर्यटकीय दृष्टिकोणले तातोपानीको महत्त्व धेरै छ, व्यवस्थित बनाउन सबैको सक्रियता जरुरी देखियो ।’ शरिरका विभिन्न स्वास्थ्य समस्या निको हुने भएकाले स्थानीय र पर्यटकको तातोपानीमा आकर्षण बढिरहेको उनी बताउँछन् ।


स्थानीयका अनुसार तातोपानीमा बर्सेनि ठूलो संख्यामा आन्तरिक तथा वाह्य पर्यटक लामो समयसम्म बसेर नियमित स्नान गरी विभिन्न रोग निको पारी फर्कन्छन् । तातोपानीको पोखरीमा ३/४ घण्टा डुवुल्की मारेर नुहाउँदा चर्मरोग, घाउ खटिरा आउने, रगतको समस्या, पेटका रोग, जोर्नी दुख्नेलगायत समस्या समाधान हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।


तातोपानीनजिकै होटल चलाइरहेका नरेन्द्र बुढाले मंसिरदेखि चैतसम्म तातोपानीमा नुहाउनेको भीड लाग्ने गरेको बताए । ‘यहाँ सौख, मनोरञ्जन र विभिन्न स्वास्थ्य समस्या समाधानका लागि नुहाउन आउनेको संख्या बढिरहेको छ,’ उनले भने, ‘कोहीकोही एक महिनासम्म नियमित स्नान गरी स्वास्थ्य समस्या निको पारेर फर्कने गरेका छन् ।’


तातोपानीमा पुरुष तथा महिलालाई स्नान गर्न छुट्टाछुट्टै धारा बनाइएका छन् । तर नुहाउने पोखरी एउटै भएकाले पुरुष र महिला सँगै बसेर नुहाउँदा अप्ठ्यारो हुने गरेको स्थानीय पार्वती गिरीले बताइन् । ‘व्यवस्थापन भद्रगोल छ, तर पनि नुहाउन आउनेहरू बढिरहेका छन्,’ उनले भनिन्, ‘तातोपानीलाई व्यवस्थित गर्नसके गाउँपालिकामा आर्थिक गतिविधि बढ्ने देखिन्छ ।’ नुहाउन एकैपटक धेरै मानिस पस्दा पनि समस्या भएको उनले सुनाइन् ।


समुद्र सतहदेखि २ हजार ६ सय ७ मिटर उचाइमा रहेको तातोपानी सदरमुकाम खलंगाबाट ८ कोष पश्चिममा पर्छ । धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने तातोपानी क्षेत्रको व्यवस्थापनमा ढिला भएको पर्यटकहरू बताउँछन् । तातोपानीमा एक सातादेखि नियमित नुहाउँदै आएका हिमा गाउँपालिकाका उमाकान्त न्यौपाने आफ्नो ढाड दुख्ने समस्या बिस्तारै कम भइरहेको बताए ।


‘दुई/तीन महिनामा एकपटक नियमित एक सातासम्म नुहाउन आउने गरेको छु,’ उनले भने, ‘ढाड दुख्ने समस्या क्रमशः कम भइरहेको छ ।’ उनले धेरै मानिस आफ्नो रोग निको पारेरै तातोपानीबाट फर्कने गरेको सुनाए । धारामा नुहाउन आउनेहरूका लागि यस वर्ष लुगा र सामान राख्ने लकरको व्यवस्था गरिएको तातोपानी गाउँपालिकाका प्राविधिक जगत डाँगीले बताए । ‘धारा व्यवस्थित वनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘नुहाउन आउँदा सामान हराउनसक्ने भएकाले लकरको व्यवस्था गरिएको हो ।’

प्रकाशित : मंसिर २३, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?