१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शंखपार्क बन्दै पर्यटकीय केन्द्र

विप्लव महर्जन

(सल्यान) — छत्रेश्वरी गाउँपालिका–६, शंखमुलमा शंखपार्क निर्माण गर्न थालिएको छ । पार्कको शुक्रबार गाउँपालिका अध्यक्ष सन्तोष केसीले सिलान्यास गरेका छन् ।

शंखपार्क बन्दै पर्यटकीय केन्द्र

गाउँपालिकाको १ करोड १४ लाख रुपैयाँ लागतमा शंखपार्क निर्माण गर्न थालिएको हो । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल शंखमुललाई पर्यटकीय केन्द्र बनाउन ठूलो आकारको शंखसहितको पार्क बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । उनका अनुसार शंखपार्क निर्माण गर्न शंखमुल आसपासको १० रोपनी जग्गा छुट्याइएको छ । पार्क निर्माणस्थल राप्ती लोकमार्गअन्तर्गत घोम्टेअम्राईदेखि ५ सय मिटर दुरीमा पर्छ । ‘शंखपार्कमा नेपालकै सबैभन्दा ठूलो शंख राखिने छ, यसले सबैको धान खिच्नेछ,’ उनले भने, ‘धार्मिक महत्वभित्र पर्यटनको संभावना खोज्ने हाम्रो योजनाअनुसार पार्क निर्माण गर्न थालिएको हो ।’


पार्क निर्माण गरिन थालिएको शंखपार्कमा कुण्डसहितको ढुंगेधारा, भगवान शिवको मूर्ति, आकर्षक बगैंचा, पानीका फोहरा, चौतारी, बिभिन्न प्रजातिका रुखबिरुवा, फूल, विश्रामस्थल, चेन्जिङ रुम, शौचालय, गार्ड बस्नका लागि एककोठे भवन निर्माण गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय तहका साथै सम्बन्धित निकायको बेवास्ताका कारण बिस्तारै ओझेलमा पर्दै गएको शंखमुलले पार्क बनेपछि विकासमा गति लिने विश्वास गरिएको छ ।


धार्मिक किंबदन्तीअनुसार सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर संसार परिक्रमा गर्ने क्रममा सतिदेवीका बाँकी रहेका सबै अंग छाँयाक्षेत्रमा पतन भइसकेपछि बहुला जस्तै भएर हिँडेका महादेवले शंखमुलमा नुहाएका थिए । त्यहि भएर स्वस्थानी ब्रतकथा सम्पन्नका बेला महिलाहरू शंखमुललाई संरक्षण गरि बनाएको कुण्डमा नुहाउने गर्छन् ।


शंखपार्क निर्माणको जिम्मा प्राकृतिक–निसान जेभी सिद्धार्थनगर रुपन्देहीले लिएको छ । निर्माण कम्पनीसँग ९५ लाख १२ हजारमा सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए । उनका अनुसार पार्क निर्माणको अवधि २०७८ असार मसान्तसम्म रहेको छ । हाल दुई वटा कुन्ड र सानो मन्दिरमा सीमित रहेको शंखमुलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यो कदम चालेको उनले बताए । सतीदेवीको अंग पतन भइसकेपछि महादेवले नुहाएको मुललाई संरक्षण गरि पार्क बनाउँदा थप प्रचारप्रसार हुने विश्वास छ ।


शंखपार्क निर्माण गर्न थालिएको स्थानबाट सतीदेवीका अंगपतन भएको भनेर विश्वास गरिने छत्रेश्वरी मन्दिर ४ किलोमिटर दुरीमा पर्छ । मन्दिरसम्म ठूला गाडी आउजाउ गर्दै आएका छन् । शंखपार्कले उक्त मन्दिरको महत्व अझ बढ्ने जनविश्वास रहेको छ । छत्रेश्वरीमा सतीदेवीका बाँकी रहेका अंग पतन भएका र महादेवले शंखुमुलमा नुहाएका धार्मिक विश्वास रहेकाले रुकुम, जाजरकोटका अझै केही मानिस मरेका ब्यक्तिको अस्तु बगाउन शंखमुलमा आउने गर्छन् । विगतमा स्थानीयले छत्रेश्वरी मन्दिरलाई मात्र प्रचारप्रसार गर्दै आएका र बजेट जति त्यहि लगाउने गरेकाले शंखमुल एक कुण्डमा मात्र सीमित रहेको थियो ।


प्रकाशित : मंसिर २२, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?