कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयलाई चिनियाँको १५ करोड

रुकुम पश्चिम — तीन वर्षदेखि टहरामा सञ्चालन भइरहेको आठबीसकोट नगरपालिका–९ स्थित दीज्योति आधारभूत विद्यालयको भवनलगायत पूर्वाधार चिनियाँ कम्पनीले निर्माण गरिदिने भएको छ । यसका लागि करिव १५ करोड रुपैयाँ सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

भवन निर्माण र अन्य विभिन्न शैक्षिक कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउने गरी आठबीसकोट नगरपालिका र चिनियाँ कम्पनी द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेबीच सम्झौता भएको हो । विद्यालयको भवन तथा अरु संरचना निर्माणमा उक्त कम्पनीले सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रबार नगर प्रमुख केसी र कम्पनीका कार्यकारी प्रमुख फान छिएबोले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कम्पनीले विद्यालयको भौतिक संरचना बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ । शिक्षण पद्धति सिकाउन नगरपालिकाका शिक्षकको स्तरवृद्धि तालिम गराउने, चीनका विभिन्न विद्यालयमा शिक्षकलाई तालिम दिएर प्रमाणपत्र प्रदान गर्ने केसीले जानकारी दिए । ‘विद्यालयमा शिक्षण पद्धतिका साथै प्रविधिको बारेमा पनि शिक्षकलाई सिकाइनेछ,’ उनले भने, ‘यसका साथै कम्पनीले विभिन्न उपकरण विद्यालयलाई दिनेछ ।’ चीनको विश्वविद्यालयसँग सहकार्य गरेर चिनियाँ दक्ष जनशक्तिलाई शिक्षणकला सिकाउन आठवीसकोट पठाइने उनले बताए ।

नगरपालिकाले यसका लागि आवश्यक समन्वय गर्नेछ ।


चीनबाट आउने टोलीको बासको व्यवस्थापन तथा अरु कानूनी प्रक्रिया पूरा गर्नमा नगरपालिकाले सहजीकरण गर्ने नगर प्रमुख केसीले बताए । विद्यालय भवन बनाउन जग्गा दिने, काम गर्ने क्रममा आइपर्ने समस्याको सहजीकरण गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने काम नगरपालिकाले गर्ने गरी सम्झौता भएको उनको भनाइ छ । ‘सुरुको चरणमा केही सीमीत योजनाका लागि सम्झौता भए पनि यो सहकार्य नियमित हुनेछ,’ उनले भने, ‘यसले दीपज्योति विद्यालय र समग्र नगरको विकासमा टेवा पुग्नेछ ।’


दीपज्योतिको जीर्ण भवनमा नगर अस्पताल सञ्चालन गरिएपछि विद्यार्थी भाडाको टहरामा बसेर पढ्न बाध्य भएका हुन् । नगरपालिकाले भाडामा दिएको जग्गामा अस्थायी टहरा हालिएका छन् । नगर प्रमुख केसीले चिनियाँ कम्पनीले सुरुमा ५ करोडको भवन बनाइदिने र सबै संरचना बनिसक्दासम्म १५ करोड खर्च हुने बताए । विद्यालय भवनका साथै होस्टेल, हल, फर्निचरसमेत व्यवस्थापन गरिने उनको भनाइ छ ।


अबको एक महिनाभित्र भवन निर्माणको काम सुरु हुनेछ । भवन निर्माणका लागि आवश्यक सूचना निकाल्ने, ठेक्का आहृवान गर्ने, जग्गाको व्यवस्थापन गर्ने काम नगरपालिकाले गर्नेछ ।

यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको नगर प्रमुख केसीले बताए । उनका अनुसार पहिलो चरणको काम आगामी असारसम्म सक्ने गरी सुरु हुनेछ ।


प्रकाशित : मंसिर २२, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?