कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

२ शिक्षक, ५ विद्यार्थी

‘४ वर्षअघि ४२ विद्यार्थी अध्ययनरत थिए, अहिले विद्यार्थीविहीन विद्यालयको भवन पनि जीर्ण बन्दै गएको छ’
विप्लव महर्जन

(सल्यान) — कालीमाटी गाउँपालिका १, लक्ष्मीपुरको हिङबरेस्थित कालिका आधारभूत विद्यालय विद्यार्थीविहीन बनेको छ । कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयमा ५ विद्यार्थी छन् । तर कोही पनि नियमित छैनन् ।

२ शिक्षक, ५ विद्यार्थी

विद्यालयमा दुई शिक्षकको दरबन्दी छ । विद्यालयका अनुसार कक्षा १ मा दुई, २ मा एक र ३ मा दुई विद्यार्थी भर्ना भएका छन् । ‘भर्ना भएका विद्यार्थी नियमित नआउँदा विद्यालय सधैं सुनसान हुन्छ,’ प्रधानाध्यापक हुर्मत थापाले भने, ‘विद्यार्थी अभावमा न नियमित पठनपाठन गर्न सकिएको छ, न बन्द ।’ उनका अनुसार खानेपानी, सडक, स्वास्थ्यचौकीलगायत असुविधाका कारण गाउँबाट अन्यत्र बसाइ सर्ने क्रम बढेपछि विद्यार्थी अभाव भएको हो ।


सबै विद्यार्थी उपस्थित भए एउटै कक्षामा राखेर पठनपाठन गराउने गरिएको उनले जानकारी दिए । ‘विद्यार्थी नहुँदा दैनिक पठनपाठन गराउन जाँगर लाग्नै छाडेको छ । आफूसँग भएको ज्ञान बाँड्न पाइएको छैन,’ उनले भने, ‘कुनै समय कालिमाटी गाविसकै उत्कृष्ट मानिने विद्यालय विद्यार्थीविहीन बन्न थालेको छ ।’ उनले अहिले गाउँमा ७ घरधुरी मात्रै बस्दै आइरहेको जनाए ।


शिक्षा नियमावलीअनुसार एक शिक्षकबराबर ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ । विद्यालयमा भने एक शिक्षकको भागमा २ विद्यार्थी मात्र छन् । विद्यार्थी संख्या बढी भएका विद्यालयमा सरुवा भएर जान खोजे पनि दरबन्दी मिलान नभएकाले समस्या भोग्दै आइरहेको अर्का शिक्षक रुद्रवीर थापाले बताए । ‘अभिभावक सबै निरक्षर छन्, विद्यार्थीलाई सधैं काममा लगाउँदा बालबालिकाको पठनपाठन नियमित छैन,’ उनले भने, ‘विद्यार्थी आए २ शिक्षकले पालोपालो समूह शिक्षण गर्ने गरेका छौं ।’ गाउँ बाहिरका विद्यार्थी टाढा भएको भन्दै आउन नमान्दा विद्यार्थी अभावको समस्या झेल्नुपरेको उनले जानकारी दिए । विद्यार्थीलाई एउटै बेन्चमा राखेर शिक्षण गराइरहेको उनी बताउँछन् ।


४ वर्षअघि विद्यालयमा ४२ विद्यार्थी अध्ययनरत थिए । विद्यार्थीविहीन विद्यालयको भवन जीर्ण बन्दै गएको उनले जानकारी दिए । विद्यार्थी नभएकै कारण फर्निचर, शैक्षिक र खेल सामग्री थन्काएर राख्नुपरेको उनको भनाइ छ । ‘विद्यालय बन्द गरी बाहिर सरुवा गर्न पटकपटक गाउँपालिकासँग अनुरोध गरिए पनि बेवास्ता भएको छ,’ उनले भने, ‘विद्यालय नियमित खोले पनि विद्यार्थी नहुँदा अधिकांश दिन पठनपाठनै हुँदैन ।’ विद्यालय २०४९ सालमा स्थापना भएको हो । कक्षा ५ सम्म सञ्चालन गरिएको विद्यालय विद्यार्थी घटेपछि १–३ मा झरेको हो । गाउँमा एक दशकअघि ५० घरधुरी थिए । अधिकांश घरधुरी दाङ बसाइ सरेपछि गाउँ सुनसान बन्दै गएको छ । स्थानीयका खेतबारी झाडीमा परिणत हुन थालेका छन् । गाउँको जनसंख्या कम भएकै कारण विद्यार्थी अभाव भएको विद्यालयले जनाएको छ ।


विद्यार्थीविहीन कालिका आधारभूत विद्यालयलाई शारदा खोलाको किनारमा रहेको चापीज्यूला बस्तीमा सार्ने तयारी भइरहेको कालीमाटी गाउँपालिकाले जनाएको छ । विद्यालय सारेर आगामी शैक्षिक सत्रदेखि पठनपाठन गराउने योजना रहेको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार धुम्कास्थित प्राथमिक विद्यालयलाई मर्ज गरी निमावि तह सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइरहेको र चापीज्यूलामा भवन निर्माणको काम छिट्टै सुरु हुने उनको भनाइ छ ।


प्रकाशित : मंसिर २१, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?