कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रहरीविहीन उपल्लो डोल्पा

हरि गौतम

(रुकुम पश्चिम) — हिउँद सुरु भएसँगै उपल्लो डोल्पा सुरक्षाविहीन बनेको छ । त्यहाँका प्रहरीचौकी सदरमुकाम स्थानान्तरण हुँदा सुरक्षा चुनौती बढेको स्थानीयको भनाइ छ ।

प्रहरीविहीन उपल्लो डोल्पा

उपल्लो डोल्पामा सेफोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसाङ गाउँपालिका पर्छन् । तीनवटै गाउँपालिकामा २१ वडा छन् । यी स्थानीय तहमा ७ प्रहरीचौकी छन् । दसैंअघि नै त्यहाँ रहेका प्रहरी सदरमुकाम दुनै गएका डोल्पोबुद्ध–३, टाक्सीका पेमा छेवाङले बताए । ‘चिसोलगायत कारण देखाउँदै प्रहरी जिल्ला सदरमुकाम पुगिसकेका छन्,’ उनले भने, ‘गाउँमा केही भइहाल्यो भने सुरक्षा पाउनै मुस्किल छ ।’ उपल्लो डोल्पाका प्रहरीचौकी हिउँद असोजदेखि चैतसम्म सदरमुकाम रहन्छन् ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण रञ्जितकारले छार्काताङसुङ गाउँपालिकाको कागकोट प्रहरीचौकी मात्र त्यहिँ रहेको बताए । ‘बिगतमा झैं यो वर्ष पनि नियमित सिजनअनुसार प्रहरी जिल्लामा मर्ज भएका छन्,’ उनले भने, ‘चिसोको कारण त्यहाँ बस्न सकिने अवस्था हुँदैन ।’


धो, टाक्सी, निजालगुम्बा, साल्दाङ, भिजेर र रापका प्रहरीचौकी विस्थापित भएका उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले सेफोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङका लागि १५ जना प्रहरी पठाउने तयारी भइरहेको जनाएको छ । गाउँपालिकाको मागअनुसार मन्त्रिपरिषद्को निर्णयबाट साल्दाङमा स्थायी प्रहरी चौकी स्वीकृत भएको छ । साल्दाङमा प्रभु बैंकको शाखा कार्यालय पनि छ । त्यसको सुरक्षाको लागि प्रहरी केही दिनमा साल्दाङतर्फ जाने डीएसपी रञ्जितकारले बताए । सदरमुकाम दुनैबाट साल्दाङ पुग्न ४ दिन पैदल हिँड्नुपर्छ । स्थानीय तह बनिसकेपछि अब उपल्लो डोल्पाका तीन स्थानीय तहका केन्द्रमा स्थायी रुपमा प्रहरीचौकी राख्ने तयारी भइरहेको डीएसपी रञ्जितकारले बताए । सेफोक्सुन्डोको साल्दाङ, छार्काताङसुङको कागकोट र डोल्पोबुद्ध गाउँपालिकाको धो केन्द्र हुन् ।


डोल्पोबुद्ध गाउँपालिका–३, टाक्सीमा इलाका प्रहरी कार्यालयको भवन बनाउने योजना परेको छ । भवनको शिलान्याससमेत भएको छ । तर त्यस ठाउँमा न प्रहरी छ, न प्रहरी भवन बनेको छ । न प्रहरी भवन बनाउने काम नै चलिरहेको छ । शिलान्यासपछि त्यो काम त्यत्तिकै थन्किराखेको छ ।


यो समय भवन निर्माणका लागि उपयुक्त होइन । चिसोका कारण काम गर्न सक्ने अवस्था छैन । ‘यताका प्रहरीहरू हरेक वर्षजस्तै यो वर्ष पनि जिल्ला फर्किसकेका छन्,’ टाक्सीका छेबाङले भने, ‘प्रहरी नहुँदा यहाँ आपराधिक गतिविधि गर्न सजिलो हुने अवस्था हुन्छ ।’ हरेक वर्ष सुरक्षा शून्यताको मौका छोपेर त्यस क्षेत्रका प्राचीन मूर्ति तथा पुरातात्त्विक बस्तु चोरी हुने गरेको उनले बताए 


प्रकाशित : मंसिर १५, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?