मालिका क्षेत्र ओझेलमा

(सल्यान) — पर्यटकीय महत्त्वको ऐतिहासिक धार्मिकस्थल दार्मा गाउँपालिका ४ मा रहेको मालिका लेक ओझेलमा परेको छ । संरक्षण र पूर्वाधार अभावमा समुद्र सतहदेखि १ हजार ७ सय मिटर उचाइको पर्यटकीय क्षेत्र ओझेलमा परेको हो । 

मालिका क्षेत्र ओझेलमा

लेकमा वर्षेनि दसैंको पञ्चमी र मंसिर पूर्णिमामा मेला लाग्दै आइरहेको छ । १६८० सालदेखि कालिका र मालिका भगवतीको मन्दिर बनाइ लेकमा पूजा गर्न थालिएको किंवदन्ती छ । पूर्वाधार निर्माण हुन नसक्दा ऐतिहासिक महत्वको मालिका लेक ओझेलमा परेको संरक्षण समितिका अध्यक्ष अध्यक्ष असवीर बुढाथोकीले बताए । उनका अनुसार अहिले कालिका मन्दिर जीर्ण बनेको छ भने मूर्ति चोरी भइसकेका छन् । उनका अनुसार बाईसे र चौविसे राज्यका बेला सल्यान, जाजरकोट, बडागाउँ र जुम्लाका राजाले मालिका लेकमा वर्षको एक पटक अनिवार्य रुपमा पूजा गर्थे ।


मालिका भगवती मन्दिरमा फुटेर टाउको मात्र बाँकी रहेको घण्टा १९९० सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले चढाएको उनले जानकारी दिए । अध्यक्ष वुढाथोकीका अनुसार २०७४ सालमा मालिका लेकमा नयाँ मन्दिर निर्माण गरिएपछि भक्तजनको भीड बढ्दै गएको छ । लेकलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय तह गठनपछि मन्दिर र प्रतिक्षालय निर्माण गरिएको उनले जानकारी दिए । एक सय २० हेक्टर क्षेत्रफलमा फैलिएको मालिका क्षेत्रको संरक्षणका लागि सरकारी निकायले लामो समयदेखि बेवास्ता गरिरहेको उनको गुनासो छ ।

ओझेलमा परेको मालिका लेकलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले यस वर्ष मालिका क्षेत्रको संरक्षणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ । उक्त रकमबाट पर्यटन विकासका लागि डिपिआरको काम हुने गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । मालिका लेकबाट जाजरकोट, पश्चिम रुकुम, रोल्पा र दैलेख जिल्लाका अधिकांश भाग देख्न सकिने भएकाले भ्यूटावर निर्माणको योजना अगाडि बढाइएको उनले जानकारी दिए । उनले चालु आर्थिक वर्षमै खानेपानी र बिजुली पुर्‍याउन गाउँपालिकाले रकम विनियोजन गरेको जानकारी दिए । धार्मिक तीर्थस्थलको प्रचारका लागि नेपाल पत्रकार महासंघ, सल्यानले बिहीबार मालिका लेकमा अन्तर्क्रिया कार्यक्रम र कार्यसमितिको बैठक सञ्चालन गर्‍यो ।

प्रकाशित : मंसिर १४, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?