कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गुणस्तरहीन कालोपत्रेमा यात्रा जोखिम

(रुकुम पश्चिम) — जिल्ला जोड्ने एकमात्र मुख्य सडक हो–राप्ती लोकमार्ग । दाङ–सल्यान हुँदै रुकुम जोड्ने जीर्ण सडकका कारण स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।

गुणस्तरहीन कालोपत्रेमा यात्रा जोखिम

बर्सेनि यात्रुको संख्या बढ्दै गए पनि सडकको अवस्था बिग्रँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । २०५९ मा रुकुम–राप्ती लोकमार्गमार्फत सडक सञ्जालमा जोडिएको थियो । लामो समय कच्ची सडकमा यात्रा गरेका जिल्लाका बासिन्दाले सडक पक्की हुँदा पनि सजिलै यात्रा गर्न पाइरहेका छैनन् । लोकमार्गको अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ । हिलो र धूलोले यात्रा कष्टकर बनेको यात्रुको गुनासो छ ।


लोकमार्ग जिल्ला आउने र जिल्लाबाट बाहिरिने मुख्य सडक हो । सल्यानको बागचौर नगरपालिकास्थित बांगेलाकुरीदेखि सदरमुकाम सल्लेसम्मैको सडक बिग्रिएको छ । सल्यान र रुकुम पश्चिमको सिमाना खौलादेखि यताको सडकको अवस्था खराब छ । ठाउँ–ठाउँमा सडक चिरिएको छ भने ओटासिल उप्किएको छ । हिउँदमा धूलो र बर्खामा हिलो नहुने सडकै छैन ।


हरेक वर्ष विभिन्न खण्डमा उप्केको ओटासिल कालोपत्रे टाल्ने गरे पनि लामो खण्ड मर्मतको काम नहुँदा यात्रा असहज बनेको हो । टालटुल पनि मापदण्डअनुसारको हुने गरेको छैन । ठेकेदार कम्पनीले असारको अन्तिममा मात्रै हतार–हतार काम गर्ने र मापदण्ड नपुर्‍याइ काम गरिएको मुसीकोट नगरपालिका ४ का शिक्षक लोकबहादुर केसीले बताए । ‘असार अन्तिम साता ठेकेदारले टालटुलको काम सुरु गर्छन्,’ उनले भने, ‘सम्बन्धित निकायले अनुगमन नगर्दा सडकको अवस्था झन बिग्रँदै छ ।’


गत वर्ष राप्ती लोकमार्ग मर्मतका बजेट परे पनि अन्तिममा कार्यान्वयन हुन सकेन । सल्यानको श्रीनगरदेखि रुकुम पश्चिमको सल्लेसम्मै कालोपत्रे गर्नेगरी बजेट विनियोजन गरिए पनि काम सुरु हुन सकेन । ओटासिल कालोपत्रे गरिएको लामो समयसम्म थप मर्मत नहुँदा जीर्ण बनेको सडक मर्मतका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाले अन्तिममा प्राविधिक समस्या देखाउँदै सडक मर्मतको काम रोकेको थियो । रुकुम पश्चिमको मुसीकोट सल्लेदेखि सल्यानको श्रीनगरसम्म ८४ किमि छ ।

प्रकाशित : मंसिर १४, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?