लिफ्टबाट डाँडामा खानेपानी

जुम्ला — मुहान तल र डाँडामा बस्ती भएपछि वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका तिला गाउँपालिका १, रारा गाउँका बासिन्दाले लिफ्ट प्रविधिमार्फत पानीको सुविधा पाएका छन् । गाउँपालिकाको ५० लाख रुपैयाँ बजेटमार्फत् १२ सय मिटर टाढाको बस्तीमा खानेपानी पुगेको हो ।

डाँडामा खानेपानी पुगेपछि स्थानीयले खुसी मनाएका छन् । २ सय ५० घरधुरी रहेको गाउँमा खानेपानी समस्या हुँदा स्थानीयले विभिन्न असुविधा भोग्दै आएका थिए । खानेपानी समस्याकै कारण बसाइ सर्ने क्रम बढेको थियो । गाउँमा पानी पुगेपछि स्थानीयलाई सिँचाइको सुविधासमेत भएको छ । प्रयोग गरेर बचेको पानीलाई स्थानीयले खेती र करेसाबारीमा प्रयोग गरिरहेका छन् । खानेपानी पुगेपछि वर्षौंदेखि प्रयोगविहीन भएका शौचालय पुन: प्रयोगमा आउन थालेका छन् ।


यसअघि स्थानीय बासिन्दा आधा घण्टा हिँडेर पानी ल्याउन बाध्य थिए । ठूलो गाउँ भए पनि ५ धारा मात्रै हुँदा घण्टौं लाइन लाग्नुपर्ने समस्या थियो । स्थानीय सरिता रावतले लिफ्टबाट पानी पुगेपछि जनजीवन सहज बनेको बताइन् । ‘धारोमा घण्टौ लाइन बस्नुपर्ने वाध्यता हटेको छ,’ उनले भनिन्, ‘पानीका लागि दु:खका दिन गए ।’ उनका अनुसार खानेपानी अभावका कारण महिला र बालबालिका धेरै समस्याबाट पीडित थिए । पानीकै लागि लाइन बस्दा बालबालिकाको पढाइ प्रभावित हुने गरेको थियो । लिफ्टमार्फत पानी पुगेपछि बालबालिकाको पढाइ नियमित बनेको उनले सुनाइन् ।


‘गाउँमा पानी ल्याउने स्रोत कुनै नभएपछि विकल्पको रुपमा लिफ्ट प्रविधि अपनाएका हौं,’ गाउँपालिका अध्यक्ष रतननाथ योगीले भने, ‘अब पानीको समस्या भएका अन्य वडामा पनि लिफ्टबाट पानी पुर्‍याउने काम थालिनेछ ।’ परीक्षणका रूपमा सुरु गरिएको योजना सफल भएपछि अन्य गाउँमा पनि लिफ्टकै प्रयोग गरिने उनको भनाइ छ ।


रारा गाउँमा लिफ्टमार्फत तानिएको पानीले १८ हजार रोपनीमा सिँचाइ हुने गाउँपालिकाले जनाएको छ । खानेपानीलाई सिँचाइमा समेत प्रयोग गरिने उपभोक्ता समिति अध्यक्ष कोलबहादुर रावत बताउँछन् । ‘खेतमा लगाएको अन्नबालीसँगै स्याउका बिरुवामा सिँचाइ गर्न खानेपानी नै प्रयोग गरिनेछ,’ उनले भने, ‘उत्पादन वृद्धिमा समेत लिफ्ट योजनाले सहयोग पुर्‍याउने विश्वास लिएका छौं ।’

प्रकाशित : मंसिर १४, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?