१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

५ दिनको आम्दानी साढे १२ लाख

रुकुम पश्चिम — मुसीकोट नगरपालिका ५, थर्पुस्थित डिग्रे साईकुमारी मन्दिरमा लागेको पाँचदिने मेलामा करिव साढे १२ लाख रुपैयाँ आम्दानी भएको छ । हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लागेको धार्मिक मेला तथा पूजाआजा लगायतबाट १२ लाख ४० हजार रुपैयाँ संकलन भएको हो । 

मन्दिरमा चढाइएका बलीका टाउका बिक्री, भेटी, होटल तथा पसल सञ्चालन वापतको भाडाबाट उक्त आम्दानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कात्तिक २१ देखि २६ गतेसम्म मन्दिरमा मेला लागेको थियो । यो वर्ष बोकाको टाउका बिक्रीबाट सबैभन्दा बढी आम्दानी भएको छ । बोकाको टाउको बिक्रीबापत ५ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको हो । यो वर्ष ९ सय २९ बोकाको बलि चढाइएको थियो । मन्दिरमा भेटीबापत ५ लाख ९६ हजार, टहरा तथा स्टलबाट एक लाख ३३ हजार र यज्ञबाट १८ हजार रुपैयाँ आम्दानी भएको मुख्य पुजारी रामप्रसाद गौतमले बताए । उनका अनुसार मेलामा सात लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । मेलाबाट मन्दिर व्यवस्थापन समितिमा ४ लाख ९१ हजार रुपैयाँ बचत भएको उनले जानकारी दिए ।


व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीका अनुसार मन्दिर रंगरोगन, सूचना सञ्चार, बोकाको टाउका बिक्री केन्द्र निर्माण, फाइबर झोला छपाइ, बाटो मर्मत, धर्मशाला ममत, खाना खर्चलगायतमा साढे ७ लाख रुपैयाँ खर्च भएको हो । यस वर्ष करिब डेढ लाख जनाले मेला भरेको उनको अनुमान छ । यो जिल्लाको सबैभन्दा लामो मेला हो । डिग्रे मन्दिरले धन, जन र अन्न वरदानको विशेषता बोकेको उनी बताउँछन् ।

डिग्रे धार्मिक मेला सुरु भएको आधिकारिक जानकारी कतै छैन । तर मन्दिरमा १६४१ सालको घण्ट छ । पूजाअर्चना तथा मेला त्यसअघि नै सुरु भएको उनले जनाए । मन्दिरमा चढाइएको चामल र अन्य पूजा सामग्री बिक्री गरी पनि मन्दिरले आम्दानी गर्ने गरेको छ । मेला भर्न रुकुमका साथै सल्यान, रोल्पा, डोल्पा, जाजरकोट, सुर्खेत, दाङ, बाँके, काठमाडौंलगायत भारतका केही ठाउँबाट पनि दर्शनार्थी बर्सेनि आउने गरेका छन् ।

प्रकाशित : मंसिर ५, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?