कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ओझेलमा मालिका मन्दिर

भीमबहादुर सिंह

(जाजरकोट) — भेरी नगरपालिका ६, मछाइनास्थित मालिका मन्दिर पूर्वाधार र संरक्षण अभावमा ओझेलमा परेको छ । मालिकालाई मनकामना देवीको रुपमा पूजा गर्ने चलन छ । 

ओझेलमा मालिका मन्दिर

पूर्वाधार र पहुँच मार्गलगायतको अभाव भए पनि पछिल्लो समय मन्दिरमा घुम्न जानेको संख्या बढेको पुजारी गोविन्द घर्ती वताउँछन् । पूर्णीमा मेला, पर्व र उत्सवबाहेक अन्य दिनमा पनि मालिका दर्शन गर्नेको भीड लाग्न थालेको उनको भनाइ छ । करिब ६ सय बर्षअघि जाजरकोटको भूमि छाडेर गोरखा पुगेकी मनकामना देवी र मालिका दुई बहिनी भएको जनविश्वास छ । मछाइनामा हरेक जनैपूर्णीमाको दिन ठूलो मेला लाग्ने गरेको छ । ‘मालिका मन्दिरमा पुगेर भाकल गरेपछि सन्तान, पशुचौपाय, धनसम्पतिलगायत इच्छाएको बर पूरा हुने विश्वास छ,’ उनले भने, ‘पूर्वाधार अभाव भए पनि भक्तजन बढ्दै गएपछि मन्दिर सञ्चालन गर्न केही सजिलो भएको छ ।’


दाङ, सल्यान, बाँके, बर्दिया, सुर्खेतबाट तीर्थालु आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । तत्कालीन जाजरकोटे राजाले मनकामना देवीलाई अन्यायपूर्ण व्यवहार गरेपछि रिसाएर गोरखा पुगेको किंबदन्ती छ । गोरखाकी मनकामना र मालिका देवीबीच समानता रहेको उनी बताउँछन् । दुवै मन्दिरमा मगर जातीको पुजारीले पूजा गर्दै आएका छन् । मनकामना देवीले जाजरकोटको भूमि छोडेर गोरखा जाने क्रममा श्राप दिएकोले जाजरकोटी राजाका सन्तानले मनकामना मन्दिरको दर्शन गर्न नहुने भन्ने किंवदन्ती छ ।


भेरी नगरपालिकाले गत वर्षदेखि मालिका क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न मालिका पर्यटन विकास तथा प्रवर्द्धन समिति गठन गरेको छ । नगर प्रमुख चन्द्रप्रकाश घर्तीको संयोजकत्वमा समिति गठन भएको हो । समितिले मन्दिरको बृहत विकास तथा प्रवर्द्धनका लागि योजना निर्माणको काम सुरु गरिसकेको नगरप्रमुख घर्तीले बताए । समुद्र सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको मालिका क्षेत्र प्राकृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।


मालिका पुग्ने सबैले आनन्द र खुसीको अनुभूति गर्ने स्थानीय जनक बस्नेतले बताए । ‘जुन उद्देश्यले भक्तजन गोरखाको मनकामना देवीको दर्शन गर्न जान्छन्, त्यही उदेश्यले मालिका पुग्छन्,’ उनले भने, ‘मछाइनाको तल्लो छेउमा पानीका ९ मूल र अजंगको पहाडले पनि थप सुन्दरता थपेको छ ।’ मालिका पहाडबाट घना जंगल र आसपासको क्षेत्रको दृश्यावलोकन गर्न सकिने उनले जानकारी दिए ।


मालिका क्षेत्रको विकासका लागि गुरुयोजना तयार भइरहेको नगरप्रमुख घर्तीले जानकारी दिए । ‘विभिन्न संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिएको छ,’ उनले भने, ‘गुरुयोजनामार्फत सडक, बिजुली, सञ्चार, मालिका भ्यूटावर, मन्दिर घेराबार, रिसोर्ट, पार्क, पिकनिकस्पटलगायत पूर्वाधार विकास गर्न लागिएको हो ।’ पर्यटकका लागि होमस्टेको व्यवस्था गर्न स्थानीयसँग छलफल चलिरहेको उनले जनाए । नगरपालिकाले पर्यटकीय क्षेत्र मालिकामा मनकामना मन्दिर निर्माण गर्ने योजना बनाएको उनको भनाइ छ ।


मनकामनाकी ९ बहिनीमध्ये जाजरकोटमा बडीमालिका, सानीमालिका र कालीकाको मात्र मन्दिर छ । नगरपालिकाले गुरुयोजनामार्फत मालिकामा मनकामना, मालिका र कालिका देवीका तीन मन्दिर निर्माण गर्ने योजना अघि सारेको छ । मन्दिर निर्माणका लागि यस वर्ष कर्णाली प्रदेश सरकारले ६० लाख र नगरपालिकाको ३० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख घर्तीले जानकारी दिए । उनका अनुसार तीनवटै मन्दिरको लागत ५ करोड रुपैयाँ अनुमान गरिएको छ । मालिका क्षेत्रमा अन्य पूर्वाधार निर्माणका लागि २५ करोड रुपैयाँको वहुवर्षीय योजना निर्माण भइरहेको उनी बताउँछन् ।


योजनाअनुसार खलंगाबाट वोहरा, इवर र काफलचौर हुँदै मालिकासम्मको पदमार्ग, वाघखोरमा पाँच होटेल भेरेखर्कमा होमस्टे निर्माणको योजना बनाइएको हो । मछाइनामा हेलिप्याड तथा रिसोर्ट निर्माण गरिने नगर प्रमुख घर्तीले जानकारी दिए । जिल्लामा साढे २ सय वर्ष पुराना दरवार, एक सय ९३ वर्ष पुरानो कालेगाउँस्थित शिवालय मन्दिर र रानागाउँको एक सय ९१ वर्ष पुरानो कालिका मन्दिर महत्वपूर्ण सम्पदा मानिन्छन् ।

प्रकाशित : मंसिर ४, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?