अस्पतालमा छैन जनशक्ति

प्रदेश सरकारले आमा सुरक्षा भत्ताबापतको रकम नपठाउँदा अस्पताल विकास कोषबाट ऋण सापटी लिएर काम चलाउनुपर्‍यो
विप्लव महर्जन

(सल्यान) — जिल्ला अस्पतालमा चिकित्सकलगायत स्वास्थ्यकर्मीको अभाव भएपछि अधिकांश उपचार प्रभावित भएको छ । विशेषज्ञ चिकित्सकसहित ३२ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १२ जना मात्र कार्यरत छन् । 

अस्पतालमा छैन जनशक्ति

अस्पतालमा दैनिक १ सय ५० देखि २ सय बिरामी उपचारका लागि आउने गरेका छन् । ६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा करारका ३ चिकित्सकले उपचार गरिरहेका छन् । अस्पताल प्रमुख डा. अर्जुन बुढाले स्वास्थ्यकर्मी अभावले अधिकांश सेवा ठप्प बनेको बताए । उनका अनुसार गैरसरकारी संस्था एनएसआईका २ र करारका १ डाक्टरका भरमा अस्पताल चलिरहेको छ । बिहान १० देखि बेलुकी ६ बजेसम्म बिरामीको उपचारमा खटिनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । १५ शय्याको अस्पताललाई ३५ शय्याको बनाइए पनि जनशक्ति अभावको चर्को मार खेप्नुपरेको उनी बताउँछन् ।


‘बिरामीको चाप बढेपछि अहिले ३५ बेड राखेर उपचार सेवा दिइरहेका छौं,’ डा. बुढाले भने, ‘३ डाक्टरले सबैतिर हेर्नुपर्ने भएकाले फुर्सद पाउनै मुस्किल भएको छ ।’ उनका अनुसार अन्य स्वास्थ्यकर्मी पनि दैनिक १२ घण्टासम्म खटिनुपर्ने बाध्यता छ । उनले जनशक्ति अभावका कारण इमजेन्सी कक्ष बन्द गर्नुपर्ने अवस्था आएको सुनाए । चिकित्सक र अन्य स्वास्थ्यकर्मीले समायोजनको क्रममा अन्यत्रै रोजे पनि जनशक्ति अभाव चुलिएको उनले जानकारी दिए । अस्पतालमा आउनुपर्ने स्वास्थ्यकर्मी नआउँदा बिरामीले समेत सास्ती भोग्नुपरिरहेको उनले जानकारी दिए ।


स्वास्थ्य सेवा विभागमा गई छात्रवृत्तिका करार डाक्टरलाई पठाउन बारम्बार आग्रह गर्दै आए पनि बेवास्ता भएको अस्पतालका डा. प्रदीप शर्माले बताए । ‘इन्डोरमा दुई स्टाफ नर्स र एक अनमी स्थायी दरबन्दीका छन्, अरू सबै करारमा भर्ना गरिएको हो, उनले भने, ‘महिला स्वास्थ्यकर्मीको अभाव भएपछि अधिकांशले दोहोरो ड्युटी गर्नुपर्ने बाध्यता छ ।’ प्रदेश सरकारले आमा सुरक्षा भत्ताबापतको रकम नपठाउँदा अस्पताल विकास कोषबाट ऋण सापटी लिनुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।


डा. शर्माले जनशक्ति अभावले सेवा दिन गाह्रो भएको बताए । उनका अनुसार एक डाक्टरले दिनमा ५० बढी बिरामीको चेकजाँच गर्नुपर्ने बाध्यता छ । ‘हतारमा बिरामी चेकजाँच गर्दा सोचेअनुसारको उपचार प्रवाह गर्न सकिएको छैन,’ उनले भने, ‘पर्याप्त रकम विनियोजन नहुँदा ओभरटाइम काम गरे पनि अधिकांश स्वास्थ्यकर्मीले भत्ता पाउन सकेका छैनौं ।’ जनशक्ति अभावकै बीच चौबीसै घण्टा स्वास्थ्य सेवा प्रवाह गरिरहेको उनी बताउँछन् । अस्पतालमा दैनिक ५ जनाले प्रसूति सेवा लिइरहेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर ४, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?