१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खस भाषामा नागरिक बडापत्र

जुम्ला — ‘सोह्र वर्ह पुग्ना साहत्तै नागरिकता वुनाइल्लु पड्यो ह्य, तेखा लागि ल्याउनु पड्न्नेया कागजपत्रबारे सुन.....।’ केही दिनयता जिल्ला प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले अडियो बडापत्रमार्फत दैनिक यही र यस्तै सन्देश सुनिरहेका हुन्छन् ।  जिल्ला प्रशासनले खस भाषाको अडियो बडापत्र सुरु गरेपछि सेवाग्राहीले दैनिक यस्ता सन्देश सुन्ने गरेका हुन् ।

अडियो बडापत्रले सेवाग्राहीको अन्यौल मात्र मेटेको छैन, कर्मचारीलाई पनि कामकाज गर्न सहज बनाएको छ । यसअघि स्थानीयलाई सेवा प्रवाहबारे घण्टौं सम्झाउने कर्मचारी अहिले आफ्नै काममा व्यस्त देखिन्छन् । कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई जनमुखी, सेवामूलक र पारदर्शी बनाउन कार्तिक अन्तिम साताबाट खस भाषाबाट अडियो बडापत्र सञ्चालनमा ल्याइएको हो । पढ्न नसक्ने सेवाग्राहीलाई सुविधा दिन भन्दै नागरिक सहायता कक्षबाट अडियो बडापत्रको सेवा सुरु गरिएको कार्यालयले जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेका अनुसार कार्यालयमा सेवा लिन आउने निरक्षर नागरिकको सुविधाका लागि यो सेवा थप गरिएको हो । ‘के कामको लागि कति नम्बर कोठामा जाने र आवश्यक पर्ने कागजात के–के हुन भन्नेबारे खस भाषामै जानकारी दिइरहेका छौं,’ उनले भनिन्, ‘कार्यालय समयभरि नै अडियो बज्ने व्यवस्था मिलाइएको छ, जसका कारण कर्मचारी र सेवाग्राहीको काम सहज बनिरहेको छ ।’


जिल्ला प्रशासन आएका कनकासुन्दरीका दिपेन्द्र उपाध्याय खस भाषामा बजिरहेको अडियो सुनेर सोमबार दंग परे । ‘खस भाषाको संरक्षण पनि हुने र निरक्षर नागरिकको सेवाप्रवाहमा पनि सजिलो हुने,’ उनले भने, ‘अडियो बडापत्र सुनेर धेरै खुसी लाग्यो ।’ २०५७ सालमा पहिलोपटक जिल्ला प्रशासन आउँदा चार घण्टा कार्यालय प्रांगनमै अलमलिएका उनले नागरिकको सुविधाका लागि अडियो बडापत्र प्रभावकारी भइरहेको बताए । जिल्लाका सबै सरकारी कार्यालय र स्थानीय तहले खस भाषामै अडियो बडापत्र बनाउन जरुरी रहेको उनी बताउँछन् । हिमा गाउँपालिकास्थित बड्कीका वीरमान रोकायाले पनि अडियो बडापत्रले सबै नागरिकलाई सुविधा दिएको बताए । ‘राहदानी बनाउनुपर्ने थियो, आवश्यक कागजात र सेवा शूल्कबारे अडियो सुनेरै जानकारी पाएँ,’ उनले भने, ‘सबैका लागि अडियो बडापत्र उपयोगी बन्यो, खस भाषाको प्रवर्द्धनमा पनि बडापत्रको भूमिका उल्लेख्य छ ।’ उनका अनुसार बडापत्रले सेवाग्राहीका साथै कर्मचारीलाई समेत सजिलो बनाएको छ ।


खस भाषा संरक्षणका लागि जिल्ला प्रशासनले नमुना काम गरेको भाषा एवं संस्कृतिका जानकार रामानन्द आचार्यले बताए । उनकै नेतृत्वमा खस भाषाको शब्दकोष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘सबै कार्यालयले आफ्नो सेवाबारे खस भाषामै स्थानीयलाई जानकारी दिन जरुरी छ,’ उनले भने, ‘नेपाली भाषाको उत्पति जुम्लामै भएकाले यसको प्रवर्द्धनका लागि सरकारी निकायको भूमिका ठूलो छ ।’ जिल्लाका सबै सरकारी सेवालाई खस भाषामैत्री बनाउन जरुरी रहेको खस साहित्य समाजका अध्यक्ष रामकृष्ण बुढथापाले बताए । जिल्ला प्रशासनले नागरिक बडापत्रका मुख्य बुँदा समेटेर स्थानीयले बुझ्नेगरी खस भाषामा बडापत्र सञ्चालनमा ल्याइएको जनाएको छ । कार्यालयका अनुसार अडियो बडापत्रले सेवाग्राही अलमलिने समस्याको समाधान भएको छ ।


प्रकाशित : मंसिर ३, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?