चिनियाँ मदिरा बरामद

हुम्ला — चिनियाँ सीमा नाम्खा गाउँपालिकास्थित एलबाङबाट प्रहरीले ठूलो परिणाममा मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा रहेको ५० कार्टुन चिनियाँ मदिरा प्रहरी गस्ती टोलीले बरामद गरेको हो । 

कार्यालयले झन्डै १० लाख रुपैयाँको मदिरा बरामद गरिएको जनाएको छ । प्रहरी चौकी, यलबाङका इन्चार्ज देवबहादुर गुरुङको नेतृत्वमा खटिएको टोलीले यालवाङको बाटोमा ५० कार्टुन चिनियाँ मदिरा (जिनीगिन्टी) भेटाएको हो । निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्र सिंहले मदिरा कसको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको बताए । अवैध मदिरा ल्याएपछि प्रहरीलाई देखेर कसैले मदिरा छोडेर भागेको उनको अनुमान छ । ‘ठूलो परिणाममा मदिरा भेटिएपछि अन्य नाकामा समेत सुरक्षा सतर्कता बढाइएको छ,’ उनले भने, ‘अहिले अबैध मदिरा ओसारपसार हुने समय भएकाले मातहतका सबै इकाईलाई परिचालन गरिएको हो ।’ सेरा गाउँ हुँदै लिमीको बाटो भएर थप मदिरा आउनसक्ने भन्दै पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।


बरामद गरिएको एक चौथाइ बोत्तल (क्वाटर) मदिराको मूल्य यलबाङमा तीन सय रुपैयाँ पर्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार एक कार्टुनमा १२ बोत्तल मदिरा हुन्छ । प्रहरीले ६ सय बोत्तल मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको हो । सिमकोटमा उक्त मदिरा प्रतिक्वाटर ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ । बरामद गरिएको मदिरा नाम्खा गाउँपालिकाका जनप्रतिनिधि र भन्सार कार्यालयका कर्मचारीको रोहबरमा प्रहरीले नष्ट गरेको वडा ३ का अध्यक्ष डाब्ला लामाले जानकारी दिए । ‘चीनमा सस्तो मूल्यमा पाइने रक्सी हुम्लाका गाउँगाउँमा अवैध तरिकाले बर्सेनि भित्रने गरेको छ,’ उनले भने, ‘अवैध मदिराको बिक्री वितरण व्यापक भए पनि रोक्न नसक्दा पेसा मौलाउँदै गएको छ ।’


मदिराका कारण जिल्लामा हिंसा र अपराधका घटना बढिरहेको प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले बताइन् । ‘सबै नाकामा कडाइ गरी चिनियाँ अवैध मदिरा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ,’ उनले भनिन्, ‘अवैध मदिरा मात्रै नियन्त्रण गर्नसके शान्ति र अमनचयन कायम हुने हाम्रो अपेक्षा छ ।’ उनका अनुसार चिनियाँ मदिरा भित्रने हिल्सा, नेप्का, टाके, चुवाखोलालगायत नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?