फर्कियो जलेको खुसी

डेढ वर्षअघि आगलागीबाट पूर्णरुपमा जलेको मुगुको किम्रीगाउँको नयाँ नमुना बस्ती
राजबहादुर शाही

(मुगु) — एक वर्षअघि घर जल्दा मुगमकार्मारोङ गाउँपालिका ४ किम्रीगाउँका ४८ वर्षीय हिस्से लामाको मन उजाड थियो । आँखैअगाडि दनदनी घर जल्दा उनी बेहोस भएका थिए । अहिले उनको मुहारमा चमक छाएको छ । पहिलेभन्दा राम्रो र व्यवस्थित घर बनेपछि उनी दंग छन् ।

फर्कियो जलेको खुसी

हिस्सेमात्र होइन, अहिले किम्रीगाउँमा उनीजस्ता अन्य स्थानीय पनि नयाँ घर बन्दा खुसी छन् । एकनासका नयाँ घरले गाउँको मुहारै फेरिएको छ । ‘यति छिट्टै नयाँ घरमा बास होला भन्ने त सोचेकै थिइनँ,’ हिस्सेले भने, ‘यो घर पाउँदा त घर जल्ला र जलेपछिको सबै दुःख–कष्ट हराएका छन् ।’


२०७५ वैशाख २० गते माथिल्लो किम्रीगाउँमा आगलगागी हुँदा १९ घर पूर्ण रुपमा जलेका थिए । ब्याक टु लाइफको १ करोड २२ लाख लागत र मानवअधिकार तथा वातावरण विकास केन्द्रको सहजीकरणमा १९ वटा घर निर्माण भएका हुन् । सबै घर दुईतले र पाँच कोठाका छन् । प्रत्येक घरको ढोकामा घरमुलीको नाम लेखिएको छ । कोही नयाँ पाहुना आए सहजै घर पहिचान गर्न सक्छन् ।


स्थानीयले घर निर्माणको क्रममा ढुंगा निकाल्नमात्र सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक नवराज रावतले बताए । ‘अन्य सबै काम तालिमप्राप्त दक्ष कामदारले गरेका छन्,’ उनले भने, ‘घर आकर्षकमात्र होइन, बलियो पनि छन् ।’ ६ महिनाभित्र घर निर्माण गरिसक्ने लक्ष्य राखिएको भए पनि हिमपात र स्थानीयवासी यार्चा टिप्ने जाने कारणले ढिलो भएको उनले बताए ।


सबै घरका झ्याल–ढोकामा निलो रंग लगाइएको छ । घरमा शौचालयसमेत निर्माण गरिएको छ । एउटा घर निर्माणमा ६ लाख ४५ हजार रुपैयाँ लागत लागेको रावतले बताए । उनका अनुसार मिस्त्रीले ढुंगा काटेर आकर्षणक डिजाइनका घर बनाएका छन् । बस्ती निर्माणमा दुईजना प्राविधिकसहित ७० कामदार खटिएका थिए । २०७५ मंसिर पहिलो सातादेखि घर निर्माणकार्य सुरु भएको थियो ।


घर जलेपछि डेढ वर्षसम्म पीडितले कष्टपूर्ण दैनिकी बिताएका थिए । उनीहरू अर्काको गोठमा बस्न बाध्य भएका थिए । आइतबार सबै पीडित आ–आफ्नो नामको नयाँ घरमा बसाइँ सरे । स्थानीय लोप्साङ लामाको अनुहारमा घर सर्दाको खुसी स्पष्ट देख्न सकिन्थ्यो । ‘घर जलेपछि कसरी बनाउने होला भन्ने चिन्ताले सताएको थियो, अहिले यति राम्रो घर पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘पहिले घर जल्ला रुवावासी थियो, अहिले घर सर्दा खुसीका आँशु झरेका छन् ।’


नौलो घरमा सरेका स्थानीयले भाँडावर्तन र लत्ताकपडा जोरजाम गर्न थालेका छन् । अन्नपात राख्ने काठ र माटोको भकारी तयार गरिरहेका छन् । ‘संस्थाले हामीलाई यति राम्रो घर त बनाएर दिएका छन्,’ हिस्सेले भने, ‘अब यसको स्याहार र बन्दोबस्ती आफै गर्नुपर्नेछ ।’


घर हस्तान्तरण कार्यक्रममा किम्रीगाउँमा पुगेका कर्णाली प्रदेशसभा सदस्य दानसिंह परियारले गैरसरकारी क्षेत्रबाट भएको उदाहरणीय सहयोगले पीडितको घाउमा मल्हम लगाएको बताए । आगलागी लगत्तै परियार प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै हेलिकोप्टरमा प्रभावित बस्तीमा पुगेका थिए । तत्कालीन रुपमा राहत उपलव्ध गराइए पनि बस्ती निर्माणमा भने प्रदेश सरकारले पीडितलाई सहयोग गर्न सकेन । ‘उतिबेला सरकारका ठूला मान्छे आएपछि घर बनाइदेलान् भन्ने ठूलो आश जागेको थियो,’ कार्माबाङ्जु लामाले भने, ‘अहिले घर त बने, तर सरकारले नभई संस्थाले बनाइदियो ।’


मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले सरकारले गर्न नसकेको सहयोग संस्थाले गरेकोमा खुसी व्यक्त गरे । आर्थिकलगायत विभिन्न कारणले सरकारले घर निर्माण गर्न नसकेको उनको भनाइ थियो । ‘संघ–संस्था भनेका पनि सरकारका सहयोगी हुन्, जनताको दुःख–सुखमा सबैले हातेमालो गर्नुपर्छ,’ उनले भने, ‘यसकै परिणामस्वरुप अहिले पीडितको मुहारमा खुसी छाएको छ ।’


ब्याक–टु लाइफका कार्यकारी निर्देशक डिकेन्द्रलाल ढकाल ढिलै भए पनि आगलागी पिडितलाई नौलो घरमा पुनर्वास गराउन पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि स्थानीय स्तरमा यस्तै सहयोग जारी राख्ने उनले बताए ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?