कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मन्ताभीरले ९ वर्षदेखि सडक अलपत्र

भीमबहादुर सिंह

जाजरकोट — मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको ९ वर्ष बित्यो । कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकको ट्र्याकसमेत खुलिसकेको छ । तर भन्ताभीरको ५ सय मिटर चट्टानका कारण ९ वर्षदेखि सडकको काम अलपत्र परेको हो ।

मन्ताभीरले ९ वर्षदेखि सडक अलपत्र

गत वर्षदेखि जाजरकोट खण्डको ३५ किमि सडकको स्तरोन्नतिको काम सुरु भएको छ । अन्य स्थानमा यातायातका साधन सञ्चालन भइरहेका छन् । तर मन्ता र कालढुंगा भीरका कारण जाजरकोट खण्डको पुरै ट्र्याक खुल्न नसकेको हो । एकैसाथ निर्माण सुरु भएको रुकुम र दैलेख खण्डमा भने २ वर्षअघि नै स्तरोन्नतिको काम सुरु भएको थियो । अहिले दुबै जिल्लामा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।

जाजरकोट खण्डमा भेरी नदी र थलहजारमा पुल बन्न नसक्दा सडक निर्माणले गति लिन नसकेको हो । मन्ताभीरमा काम गर्न छोडेको ७ वर्ष बितिसकेको छ । मन्ताभीर खण्डको निर्माणको जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भएको भन्दै सडक निर्माणको काम अलपत्र पारेको हो । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग योजना कार्यालय, दैलेखका प्रमुख नारायणप्रसाद निउरेका अनुसार ठेक्का लागेको ९ वर्षसम्म पनि भीर फुटाउने काम सम्पन्न हुन सकेको छैन ।


‘मन्ताभीरको ५ सय मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो । मन्ताभीर काट्न तयार नभएपछि ठेकेदारलाई पेनाल्टीसमेत लगाएर कारबाही गरियो,’ उनले भने, ‘तर अझै पनि उक्त भीर कसरी फोड्ने भन्नेबारे अन्योल छ ।’ उनले चालु आवभित्र भीर फोड्ने काम सकिने जनाए । चालु आवमा लोकमार्गको कार्की गाउँदेखि दशेरा हुँदै सुयाँडासम्मका लागि स्तरोन्नतिको ठेक्का टेण्डर कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार साढे २ अर्ब रुपैयाँको लगानीमा स्तरोन्नतिका लागि बहुवर्षीय टेन्डर भएको हो । टेण्डरको प्राविधिक कामको मुल्यांकन भइरहेको योजना प्रमुख निउरेले जानकारी दिए । उनले उक्त टेण्डरबाट मन्ताभीरको समस्या समाधान हुने बताए ।

थलहबजारको पुल निर्माणको काम पनि चालु आवमै सकिने उनको दाबी छ । पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्न भेरी नदीमा पुल निर्माणको काम सुरु भएको सात वर्ष बिते पनि अझै पूरा हुन सकेको छैन । पुलको जगसमेत पूरा हुन नसकेको स्थानीयको भनाइ छ । स्थानीयका अन्सुार निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुनुपर्ने पुलको पिलर काम पनि काम हुन नसकेको हो । पुल निर्माणका लागि वाईपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो ।

‘स्तरोन्नतिपछि सडकमा सात मिटर पिचसहित ९ मिटर चौडाइको लोकमार्ग बन्नेछ,’ निउरेले भने, ‘तीन वर्षभित्र सडक स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य छ ।’ यो ठेक्का खोल्नु नै जाजरकोटको लागि छलाङ भएको उनले दाबी गरे । पाँचथरको चियोभञ्ज्याँङदेखि बैतडीको झुलाघाट पुग्ने एक हजार ६ सय ६५ किमिको लोकमार्गको जाजरकोट खण्डले दुई नगरपालिकालाई मात्र छोएको छ ।

प्रकाशित : मंसिर २, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?