सांसदका दिनचर्या : प्रदेश भ्रमणदेखि चुनाव प्रचारसम्म

वीरेन्द्रनगर — गत असोज १० गतेदेखि कर्णाली प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भयो । संसद अधिवेशन अन्त्यपछि चाडपर्व मनाउन व्यस्त भएका केही प्रदेश सांसद अहिले गाउँ छिरेका छन् भने केहीले संसद सचिवालयको टोलीसँग अन्य प्रदेशका वस्तुगत अध्ययन तथा अनुगमनका लागि भ्रमण पनि गर्न भ्याए ।

नेकपाकी सांसद कृष्णा शाहले गृहजिल्ला जाजरकोट पुगी जनतासँग भेटघाट तथा योजनाबारे छलफल र अन्तरक्रिया पनि गरिन् । जाजरकोटबाट एक साताअघि मात्रै सुर्खेत फर्किएकी उनले जिल्लामा प्रदेश सरकारका तर्फबाट बन्न लागेका योजनाहरूको अनुगमन र गुणस्तरीय तरिकाले सम्पन्न गर्न निर्देशन दिएको बताइन् । ‘अहिले प्रदेश सरकारको आफ्नै कार्यालयमा बजेटको अख्तियारी गइरहेको छ,’ उनले भनिन्, ‘सर्भे, डिजाइनका कामहरू भइरहेकोले बजेटको अख्तियारी आउनासाथ तीव्रका साथ काम सुरु गर्न निर्देशन दिए ।’


यसबीचमा प्रदेश कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि लगायतसँग बसेर योजनाको यथार्थता, वस्तुनिष्ठता र जनउपयोगिताबारे एक साता छलफल गरेको सांसद शाहको भनाइ छ । अहिले वीरेन्द्रनगरमा हुने विभिन्न कार्यक्रममा सहभागी भइरहेकी सांसद शाह केही दिनमा फेरि गृहजिल्ला जाने तयारीमा छिन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता जीबनबहादुर शाही गृहजिल्ला हुम्लामा छन् । अहिले उनी हुम्लाको खार्पुनाथ गाउँपालिकामा हुन लागिरहेको उप–चुनावका लागि प्रचारमा जुटिरहेका छन् । गत कात्तिक २० गते हुम्ला पुगेका उनी आगामी उप–चुनावका मतदाता पनि हुन् । ‘मेरै गाउँपालिकामा उपनिर्वाचन हुँदै छ । म मतदाता पनि हुँ,’ उनले भने, ‘आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन अहिले प्रचारमा जुटिरहेको छु ।’ नेता शाहीले प्रचारप्रसारसँगै जनता भेट्ने र आफ्नो जिल्लामा प्रदेश सरकारका तर्फबाट परेका योजनाहरूको अनुगमन गर्ने काम पनि गरिरहेको बताए ।


नेकपाका सांसद धर्मराज रेग्मी पनि अहिले गृहजिल्ला दैलेखमै व्यस्त छन् । उनी दैलेखमा अघिल्लो वर्षका तथा अहिले निर्माण हुने योजनाको अनुगमन गरेरै खाली समय बिताइरहेका छन् । ‘सदन नभएकाले जिल्लामा आएको हुँ,’ उनले भने, ‘आफ्ना जनतासँग भेटेर उनीहरूका आवश्यकताबारे जानकारी लिनेसँगै अन्य सामाजिक तथा धार्मिक कार्यमा पनि संलग्न भइरहेको छु ।’


कांग्रेस सांसद दिनबन्धु श्रेष्ठ पनि केही दिनअघि मात्रै गृहजिल्ला जुम्ला पुगेर फर्किएका छन् । ‘नेपालगन्जमा एउटा कार्यक्रममा सहभागी भई पुनः जुम्ला जान्छु,’ उनले भने, ‘त्यहाँ पुगेर धेरै अलपत्र रहेका योजनाको काम अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।’


संसद सचिवालयको ४ प्रदेश भ्रमण

चौथो अधिवेशन सकिएपछि खाली समयमा केही सांसदसहित संसद सचिवालयको टोली ४ प्रदेशको भ्रमण गरी शनिबार मात्रै फर्किएको छ । सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती विष्ट, सांसदहरू नेकपाकी सचेतक सीता नेपाली, शोशिला शाही, वीरबहादुर शाहीलगायत संसद सचिवालयको टोली भ्रमणका लागि प्रदेश ५, ३, २ र १ मा पुगेको हो ।


भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट, अन्तर्क्रियासँगै धार्मिक स्थलको अवलोकन गरिएको सचेतक नेपालीले बताइन् । यस क्रममा प्रदेश सरकारका सभामुख उपसभामुखसँगै सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीसँग महत्त्वपूर्ण छलफल भएको उनको भनाइ छ । ‘यो वस्तुगत अवलोकन हो,’ उनले भनिन्, ‘यसबाट अन्य प्रदेश सरकारको कामबारे पनि जान्ने अवसर मिल्यो ।’ भ्रमण सकेर अहिले आफू निर्वाचन क्षेत्र सुर्खेतको लेकबेंसीमा पुगेको सचेतक नेपालीले बताइन् ।


समिति निष्क्रिय

संसद अधिवेशन अन्त्य भए पनि कर्णाली प्रदेशको मिनी संसदका रुपमा रहेका ४ संसदीय समितिमध्ये दुई समिति निष्कृय बनेका छन् । विधायन तथा प्रदेश मामिला समिति र सार्वजनिक लेखा समितिले खाली समयमा कुनै छलफल तथा अन्तर्क्रिया गरेका छैनन् । सदन नचलेको बेला संसदीय समितिले कुनै पनि काम नगरेको विधायन तथा प्रदेश मामिला समितिका सदस्य जीवनबहादुर शाहीले बताए । ‘यतिबेला झन् बढी सक्रिय हुनुपर्ने हो,’ उनले भने, ‘सदन नभएको बेला सबै समिति सुत्छन् ।’ विधायन समितिमा अहिले कुनै पनि विधेयक छलफलका लागि नआएको सदस्य धर्मराज रेग्मी बताउँछन् ।


सार्वजनिक लेखा समितिका सदस्य गोपाल शर्माले बैठकका लागि अध्यक्षले बोलाएको खण्डमा सहभागी हुने जनाए । अर्थ तथा प्राकृतिक स्रोत समितिमा सरकारी निजी साझेदारी विधेयक छलफलका लागि पुगेको छ । विधेयकमाथि समितिले जुम्लामा पुगेर सुझाव संकलन गरेको सदस्य सीता नेपालीले बताइन् । उनका अनुसार सुर्खेतमा पनि उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग छलफल गरिएको छ ।


सामाजिक विकास समितिमा स्वास्थ्य विधेयक र खाद्य उत्पादन अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न विधेयक छलफलमा छन् । समिति अध्यक्ष राजु नेपालीले विधेयकमा छलफल चलिरहेको भन्दै खाली समयमा यही काममा व्यस्त भएको बताइन् । उनका अनुसार खाद्य सम्प्रभुताको विधेयकमाथि डोल्पामा पुगेर सुझाव संकलन गरिएको छ ।

प्रकाशित : मंसिर २, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?