१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राराका वन्यजन्तु संकटमा

‘वन्यजन्तु मात्र होइन, तालमा प्रशस्त पाइने असला माछा संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेका छन् भने पर्यावरण संकटमा परेको छ’
राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका ९, का ४४ वर्षीय धनसिंह रोकायाले निकुञ्जमा रैथाने वन्यजन्तु नदेखेको धेरै भयो । निकुञ्ज आसपासका क्षेत्रमा नियमित घाँस–दाउरा काट्न आउने उनले रतुवा, चितुवा, घोरल, झारललगायत वन्यजन्तु देख्न छाडेको वर्षौं भयो ।

राराका वन्यजन्तु संकटमा

उनी मात्र होइन, रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले लोपोन्मुख वन्यजन्तु देख्न नपाएको लामो समय बित्यो । एक दशक अघिसम्म बाक्लो हिमपात हुँदा मुर्मा, झयारी, माथितुम, निगालबोट, खमालेलगायत गाउँमा ओत लाग्न वन्यजन्तु हुल बाँधेर निस्कन्थे । निकुञ्ज क्षेत्रमा डाँफे, कालिज, च्याँखुरा, तित्रा, ढुकुरजस्ता हिमाली रैथाने चरा पनि फाट्टफुट्ट देखिने गरेको उनी बताउँछन् । मुर्माकोट, माथिल्लो मिलीचौर, चुचुमारे, मालिकालेक, रुमखोला, जेउडेलगायत धना जंगल भएका क्षेत्रमा मात्र अहिले वन्यन्तुको बासस्थान रहेको मुर्माका बिर्ख रोकायाले बताए ।


निकुञ्ज क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएपछि पछिल्लो समय वन्यजन्तु र चराचुरुंगी संकटमा पर्न थालेका हुन् । रारामा क्रमिक रुपले वन्यजन्तु र चराहरू घट्दै गएको स्थानीय एडी शाहले बताए । ‘वन्यजन्तु मात्र होइन, तालमा प्रशस्त पाइने असला माछा संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘पर्यावरण संकटमा पर्दा निकुञ्जको पहिचान क्रमशः हराउँदै गएको छ ।’ निकुञ्ज क्षेत्रमा मानवीय चहपहल बढ्नु, चोरी

शिकारी हुनु, पशु चौपाया जथाभावी छोड्नुलगायत कारण वन्यजन्तु संकटमा परिरहेको उनी बताउँछन् ।


कुकुर छाडा छाड्दा वन्यजन्तु आक्रमणमा परिरहेको उनले जानकारी दिए । आगलागी र निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानलगायत कारणले पनि वन्यजन्तु अन्यत्र जान थालेको उनी बताउँछन् । अहिले निकुञ्ज क्षेत्रमा भालु, बँदेल र रेडपाण्डा मात्र देखिने गरेको मध्यवर्ती विकास क्षेत्रका अध्यक्ष बलराम सहनीले बताए । ‘पछिल्लो समय चरा पनि घटिरहेका छन्,’ उनले भने, ‘यो समयमा आगन्तुक चराले राराको रौनक बढाए पनि गर्मी समयमा अधिकांश चराचुरुङ्गी देखिदैनन् ।’


ताल्चा विमानस्थलको अधिकांश हवाइ रुट निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पनि वन्यजन्तु तर्सिएर भाग्ने गरेको उनले सुनाए । उनका अनुसार घुच्चीलेक हुँदै विमानस्थलमा जहाज अवतरण हुने गरेको छ । तलितुम, माथितुम, पिना, झयारी, मुर्मा, हेन्नीकाँध, सायाखोला, कार्कीबाडा, टोप्लालगायत गाउँबाट निकुञ्ज क्षेत्रमा पशुचौपाया जथाभावी छोडिने गरिएको छ ।


वन क्षेत्रको अधिकांश घाँस पशुचौपायाले खाने भएकाले घोरल, मृग, झारल, कस्तुरी, बँदेललगायत वन्यजन्तु अन्यत्र जान थालेको पर्यटन व्यवसायी बताउँछन् । सहनीका अनुसार जलवायु परिवर्तनको असर पनि वन्यजन्तुमा परिरहेको छ । खडेरी र भारी हिमपातले पनि वन्यजन्तुको बासस्थान र प्रजनन प्रक्रियामा असर पारिरहेको उनी बताउँछन् । ‘वन्यजन्तु ओहरदोहर गर्ने बाटाहरू पनि साँघुरिदै गएका छन, मोटरबाटो जथाभाबी खनिदा वन्यजन्तुमा ठूलो असर पर्‍यो,’ उनले भने, ‘जताततै मानिस देखिन थालेपछि उनीहरूको बासस्थान घना जंगलमा मात्र केन्द्रित भएको छ ।’ २०७१ सालको खडेरीपछि अधिकांश वन्यजन्तु लोप हुन थालेको उनले जानकारी दिए । निकुञ्ज क्षेत्रमा पर्याप्त पानी नहुँदा पनि वन्यजन्तु संकटमा परिरहेको उनले जनाए ।


चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी नहुँदा पनि वन्यन्तु लोप हुने अवस्थामा पुगेका हुन् । निकुञ्जमा अहिलेसम्म चोरी शिकारीको मुद्दा दर्तै नभएको निमित्त कार्यालय प्रमुख सरोज खड्काले बताए । उनका अनुसार हिमाली कालो भालु र रेडपाण्डाको संख्या बढे पनि अन्य वन्यजन्तु घटिरहेका छन् । ‘वन्यजन्तुको चोरीसिकारी रोक्न नियमित गस्तीलाई निरन्तरता दिएका छौं,’ उनले भने, ‘निकुञ्ज क्षेत्रमा सेना परिचालन गरिएकाले चोरी सिकारी नियन्त्रण भएको छ ।’


निकुञ्ज १ सय ६ वर्गकिमिमा फैलिएको छ । निकुञ्जको सुरक्षाका लागि हुटुमा नेपाली सेनाको गुल्म र लामाचौर, सल्लेरी, निगालबोट, घुच्चीडाकलगायत क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । गुल्मका अनुसार निकुञ्जको सुरक्षाका लागि करिब ३ सय सेना खटिएका छन् ।

प्रकाशित : मंसिर २, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?