कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शिविरमा हाडजोर्नी शल्यक्रिया

सल्यान — विपन्न बिरामीलाई जिल्लामै गुणस्तरीय उपचार प्रदान गर्न जिल्ला अस्पतालमा हाडजोर्नी शिविरको आयोजना गरिएको छ । द माउन्टेन हस्पिटल, सोलुखुम्बु पोलिटेक्निकल तथा सल्यानी युवा सञ्जालको आयोजनामा पाँचदिने निःशुल्क शिविरको आयोजना गरिएको हो ।

शिविरमा हाडजोर्नी शल्यक्रिया

शिविरमा शल्यक्रिया, भाँचिएका ठाउँमा रड राख्नेलगायत उपचार प्रदान गरिनेछ । शिविरमा ११ विशेषज्ञले शल्यक्रिया तथा उपचार सेवा प्रदान गर्नेछन् । टोलीमा बेल्जियमका सर्जन डा. पियर सुटसमेत सहभागी छन् । शिविरमा दैनिक १२ बिरामीको शल्यक्रिया भइरहेको आयोजकले जनाएको छ । विपन्न नागरिकलाई जिल्लामै उपचार तथा शल्यक्रिया सेवा दिन शिविर आयोजना गरिएको टोली प्रमुख डा. मिङ्मा शेर्पाले बताए । उनका अनुसार वर्षौंदेखि हाडजोर्नीको समस्या भई बाहिर गएर उपचार गराउन नसकेका बिरामीले शिविरबाट लाभ लिनेछन् ।


‘आर्थिक अवस्था कमजोर तथा अन्य कारणले उपचार पाउन नसकेका स्थानीयलाई शल्यक्रिया, उपचार तथा परामर्श दिइरहेका छौं,’ उनले भने, ‘मुलुकका सुविधासम्पन्न अस्पतालले दिने सेवा निःशुल्क रुपमा जिल्लामै दिन खोजिएको हो ।’ उनले अपांगता भएका व्यक्तिलाई समेत विभिन्न सेवा प्रवाह गरिने सुनाए ।


संस्थाले अहिलेसम्म ५४ स्थानमा शिविर सञ्चालन गरिसकेको जनाएको छ । संस्थाका अनुसार शिविरमा करिब ६० बिरामीको शल्यक्रिया हुने अनुमान छ । शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले सामान्य हातखुट्टाको हड्डी फुटेमा पनि शल्यक्रियाका लागि बाहिर जानुपर्ने समस्यालाई शिविरले हल गरेको बताए । ‘जिल्ला बाहिर गएर शल्यक्रिया गर्दा कम्तिमा १ लाख रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘शिविरमार्फत वर्षौंदेखि उपचारबाट वञ्चित दुर्गमका विपन्न नागरिकले उपचार पाउने अपेक्षा छ ।’ उनले विभिन्न विशेषज्ञ शिविर सञ्चालन गर्न नगरपालिकाले योजना बनाइएको जानकारी दिए ।


शिविरमा उपचार गराउन सल्यानका साथै रुकुम र जाजरकोटका बिरामी जिल्ला अस्पताल पुगेका छन् । शिविरका कारण खलंगाको चहलपहल बढेको छ । आर्थिक समस्याले असोज पहिलो साता रुखबाट लडेर हात भाँचिएकी बाग्चौर नगरपालिका ७, की ४७ वर्षीया लक्ष्मी खड्काले विदेशी चिकित्सकमार्फत प्लास्टर गर्न पाएकोमा खुसी व्यक्त गरिन् । आर्थिक अवस्था कमजोर हुँदा अढाइ महिनादेखि उनी घरमै थलिएकी थिइन् । ६ वर्षअघि खुट्टा भाँचिएका शारदा नगरपालिका ४, साहुटोलाका ६२ वर्षीय होमराज नेपालीले शिविरमार्फत नयाँ जीवन पाएको जनाए ।

प्रकाशित : मंसिर २, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?