१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मयूर नाचमा किशोरी

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका–१ की १७ वर्षीया प्रान्ता केसीले आफ्नो समूहको नेतृत्व गर्छिन् । उनका समूहमा उनीसँगै १८ जना किशोरी छन् । १४ देखि १९ वर्ष उमेरका किशोरीलाई एउटै लय र सुरमा अघि बढाउने उनको जिम्मेवारी हो ।

मयूर नाचमा किशोरी

६ महिना अघिबाट प्रान्ताले उनीहरूको कुशल नेतृत्व गरिहेकी छन् । त्यो कुरा उनले आफैं होइन, उनीहरूको काम हेर्नेहरूको मूल्यांकन हो ।


त्रिवेणी गाउँपालिकाका किशोरीले थालेको मयूर नाचको नेतृत्व प्रान्तालाई दिएका हुन् । आफूहरूको मात्रै मयूर नाच बनाउने चुनौतीपूर्ण निर्णय गरेका किशोरीको नेतृत्व प्रान्ताले गरिन् । सफल पनि भइन् । उनी सिठीमार्फत निर्देशन दिन्छिन् । सहकर्मीहरू उनको निर्देशन पछ्याउँदै ढल्कीढल्की नाच्छन् ।


लठ्ठी जुधाउँछन् । उनीहरूको नाच रुचाइएको छ । किशोर तथा पुरुषहरूको मात्रै तथा केटाकेटीको संयुक्त मयूर नाच भइरहेका बेला किशोरीहरूको मात्रै यो जिल्लाको पहिलो मयूर नाच हो । किशोरीहरू मात्रैले मयूर नाच्ने योजना बनाएपछि धेरैले विश्वास मानेका थिएनन् । अब भने उनीहरूले पुष्टि गरिसके । ‘उनीहरूले देखाइदिए, सुरुमा हामीले विश्वास मानेका थिएनौं,’ त्रिवेणी गाउँपालिका–१ का सूर्यकिरण चन्दले भने, ‘अब भने उनीहरूको नाचले मन्त्रमुग्ध नहुने कोही छैनन् ।’ उनले किशोरीहरूको मयूर नाचको माग बढ्दै गएको बताए ।


विशेष गरी त्रिवेणी गाउँपालिका–१ र २ नम्बर वडाका किशोरी मयूर नाचमा सहभागी छन् । तीन साताको तालिम लिएपछि उनीहरूले मयूरको ताल, लय समातिसकेका छन् । एउटै उमेर, एउटै चाल, एउटै उचाइका यी किशोरीको चर्चा जिल्लामा बढ्दै गएको छ । ‘सुरुमा तिमीहरू गर्न सक्दैनौ भन्नेहरू धेरै हुनुहुन्थ्यो,’ प्रान्ताले भनिन्, ‘अब तिमीहरू धेरै गर्न सक्छौ भन्नेहरू बढ्दै जानुभएको छ ।’ मयूर नाचका अग्रजबाट तालिम लिएपछि सजिलै नाच्न सकिएको उनले बताइन् ।


तीन साताको तालिमपछि किशोरीहरू नाच्नका लागि विभिन्न ठाउँमा जान थालेका थिए । ‘अब त धेरै ठाउँबाट नाच्न आउनुपर्‍यो भनेर माग आउन थालेको छ,’ प्रान्ताले भनिन्, ‘फुर्सद हेरेर नाच्न जाने/नजाने निर्णय दिने गरेका छौं ।’ पढ्नुपर्ने भएकाले फुर्सदमा मात्रै उनीहरू नाच्ने गर्छन् । विशेष गरी सभा, भेला, पूजाआजा, दिवसहरूमा मयूर नाच्ने चलन छ । अब अरूको सट्टा किशोरीकै मयूर नाच मगाउनेहरू बढ्दै गएका छन् । ‘यो किशोरीको मयूर नाच मात्रै होइन,’ उक्त समूहलाई नाच सिकाएका नन्दकुमार घर्तीले भने, ‘यो मयूर नाचको पुस्तान्तरण पनि हो, यी किशोरीले यत्तिको नाच्न सके भने हामीले मयूर पुस्तान्तरण भयो भनेर बुझेका छौं ।’


किशोरीहरूको अनुरोधमा आफूले उनीहरूलाई मयूर नाचका आधारभूत कुरा सिकाएको उनले बताए । किशोरीहरूले मयूर नाचेर ३ लाख ७ हजार आम्दानीसमेत गरेका छन् । तिहारमा खेलिएको देउसी भैलोबाट उक्त रकम संकलन गरेको घर्तीले बताए ।

प्रकाशित : मंसिर १, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?