२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

युद्धस्थल अवलोकन गर्दै पूर्वलडाकु

वीरेन्द्रनगर, सुर्खेत — उतिबेला उनी राति–राति हिँड्थे । पाहुनाको भेषमा स्थानीयका घरमा लुकेर बस्थे । गौंडा–गोरेटा सबैमा सावधानी अपनाउनुपर्थ्यो । जिन्दगी दाउमा राखेर मोर्चा कसेर लडेका स्मरण त कति–कति ? डेढ दशकपछि तिनै स्थानसँग साक्षात्कार गर्न पाउँदा पूर्वलडाकुको मन रोमान्चित नहुने कुरै भएन ।

कालिकोटको पलाँता गाउँपालिकाले शान्ति र विकासको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय ४० जना पूर्वलडाकुलाई युद्धस्थलको अवलोकन भ्रमण गराएको छ । उनीहरू रोल्पाको थबाङ, होलेरी, रुकुमको खारा, रुकुमकोट, पाल्पाको तानसेन, धरमपानी, रुपन्देहीको सुनवल, बुटवल र कपिलवस्तुको तौलिहवाको भ्रमण गरेर जिल्ला फर्किएका छन् । ‘उतिबेला ती ठाउँमा रातिमात्र हिँडिन्थ्यो, रातिको अँध्यारोमा कस्तो छ भन्ने थाहा हुन्थेन,’ पूर्वलडाकु धीरबहादुर बमले भने, ‘अहिले हेर्दा त स्वर्गजस्तै पो लागे ।’


बमको शरीरमा अहिले पनि युद्धकालमा लागेका बमका छर्रा छन् । शान्ति स्थापनाको १३ वर्षपछि छर्रा बोकेरै ती स्थान पुगेका उनले युद्ध समाप्त भई शान्ति स्थापना भएपछि विकास र समृद्धि भित्रिएको बताए । ‘जहाँ बम बोकेका थियौं, अहिले त्यही ठाउँमा पुगेर विगतलाई हेर्‍यौं,’ उनले भने, ‘मनमा शान्ति र द्वन्द्वको फरक पनि केलाउने अवसर मिल्यो ।’


अवलोकन गरेका पूर्वलडाकु सबै घाइते तथा अपाङ्ग हुन् । शरीरमा तीनवटा गोली लागेका कलबहादुर बमले पनि अवलोकन भ्रमणले मनमा शान्तिप्रति झन् बलियो भावना विकास गरेको बताए । पहिलोपटक जुम्लाको खलंगा र दोस्रोपटक अर्घाखाँचीको आक्रमणमा उनलाई गोली लागेको थियो । ‘रातिको समयमा युद्ध लडेर गोली खाएको स्थान हेर्ने ठूलो रहर थियो,’ भ्रमणपछि उनले भने, ‘हिजो जेजति क्षति भए पनि अब शान्ति र समृद्धि होस् भन्ने हाम्रो चाहना छ ।’


गाउँपालिकाले पूर्वलडाकुलाई शान्ति र समृद्धिमा समावेश गर्ने उद्देश्यले भ्रमणको आयोजना बनाएको जनाएको छ । गाउँपालिकामा करिब २ सयको संख्यामा पूर्वलडाकु छन् । तीमध्ये आधा घाइते तथा अपाङ्गता भएका छन् । गाउँपालिका अध्यक्ष लक्ष्मण बमले घाइते तथा अपाङ्ग पूर्वलडाकुको उपचार, रोजगारी, व्यावसायिक सीप विकास, स्वरोजगारमूलक कार्यक्रमका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको बताए ।


त्यही रकमबाट पूर्वलडाकुलाई भ्रमणमा लगिएको उनको भनाइ छ । ‘सशस्त्र द्वन्द्वपछि अन्य क्षेत्रमा उल्लेख्य विकास भए पनि कर्णाली क्षेत्रमा विकासले खासै गति लिन सकेको छैन,’ उनले भने, ‘यस्तो भ्रमणले कर्णालीका विकट बस्तीमा द्वन्द्वपछि शान्ति प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउने अपेक्षा लिएका छौं ।’

प्रकाशित : मंसिर १, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?