३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चौरजहारीका सबै टोलमा सडक

हरि गौतम

(रुकुम पश्चिम) — चौरजहारी नगरपालिकाका सबै टोलमा सडक पुगेको छ । १४ वटै वडा र सबै टोलमा सडक पुगेपछि नगरपालिकाले चालु आवमा नयाँ सडकका लागि रकम विनियोजन गरेको छैन । 

चौरजहारीका सबै टोलमा सडक

नगरभित्र ८३ सडक निर्माण भएका छन् । नगरपालिकाको केन्द्र विजयश्वरीदेखि वडा र वडादेखि टोल जोड्न १४ वडामा ती सडक निर्माण गरिएका हुन् । नगरपालिकाका अनुसार करिव दुई सय ५० किलोमिटर सडकमा ट्रयाक खोलिएको हो । जसमध्ये ५० किमि सडक स्थानीय तहको निर्वाचन हुनुअघि नै निर्माण भइसकेको थियो । दुई आर्थिक वर्षमा करिव २ सय किमि सडक निर्माण भएको जनप्रतिनिधिको दाबी गरेको छ ।


नगरपालिकाले ट्र्याक खुलिसकेका सडकको स्तरोन्नति र मर्मतसम्भारका लागि भने रकम विनियोजन गरिएको जनाएको छ । सडक मर्मतका लागि यस वर्ष ६० लाख रुपैयाँ खर्च हुने नगरपालिकाको अनुमान छ । नगरका सबै टोलमा सडक पुगिसकेकोले नयाँ सडकमा रकम विनियोजन नगरिएको नगर प्रमुख विशाल शर्माले बताए । उनका अनुसार वर्षामा पहिरो खसेका, भत्केका र खोलानालाले क्षति पुर्‍याएका सडकको मर्मत तथा सफाइमा नगरसभाबाट ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।


रकम अपुग भएपछि २० लाख रुपैयाँ थप्ने निर्णय भएको उनले जनाए । एउटा ३२ किमि र अरु केही साना सडक चुनावअघि बनिसकेका थिए भने अधिकांश सडक स्थानीय तह गठनपछि निर्माण भएको उनले जानकारी दिए । सबै टोल पुगेका सडकमा बाह्रैमहिना यातायातका साधन सञ्चालन गर्नेगरी स्तरोन्नति गर्न पहल भइरहेको नगरपालिकाले जनाएको छ । सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारको सहयोग लिने नगरपालिकाको तयारी छ । वर्षामा खोलानालाका कारण केही वडा र टोलमा गाडी पुग्दैनन् । नगरपालिकाले सडक निर्माणमा बजेट विनियोजन नगरे पनि कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने चौरजहारीमा नयाँ सडक निर्माण गर्नेगरी ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।


किसान र बजारलाई एक आपसमा जोड्नेगरी कृषि सडक निर्माण गर्न रकम विनियोजन गरिएको भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । ‘चौरजहारीका सबै टोलमा सडक निर्माण भइसकेको भन्ने जानकारी थियो, तर कृषि सडकबाट किसानलाई थप लाभ दिन केही नयाँ सडकमा रकम विनियोजन गरिएको हो,’ उनले भनिन् ।


प्रकाशित : कार्तिक २९, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?