कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खार्पुनाथमा उप–चुनाव : उपाध्यक्षमा ३ को उम्मेदवारी 

कान्तिपुर संवाददाता

(हुम्ला) — खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १४ गते हुन लागेको उप–चुनावमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका लागि नेकपाबाट रूपा शाही, कांग्रेसकी तारा शाही र राप्रपा (संयुक्त) का दीपबहादुर शाहीले उम्मेदवारी दिएका हुन् ।

गत असार ३ गते खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु हमाल शाहीको सदरमुकामबाट गाउँपालिका कार्यालय फर्कने क्रममा जिप दुर्घटनामा मृत्यु भएको थियो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।


उम्मेदवारी दर्ता गराउन विभिन्न दलका नेता–कार्यकर्ता बागाजासहित पुगेका थिए । नेकपाकी उम्मेदवार शाहीले प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामालगायत नेता–कार्यकर्तासँगै निर्वाचन अधिकृतको कार्यालय पुर उम्मेदवारी दर्ता गराएकी हुन् । कांग्रेस उम्मेदवार शाहीले पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा, प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही र प्रतिनिधिसभा सदस्य रंगमती शाहीलगायत नेता–कार्यकर्तासँगै कार्यालय पुगेर उम्मेदवारी दिइन् । दुबै पार्टीका कार्यकर्ताहरूको बाक्लो उपस्थितिका कारण मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै केहीबेर नाराबाजी पनि चल्यो ।


समाजवादी पार्टीकी उम्मेदवार लीला रावलको उम्मेदवारी भने दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको भए पनि उनी १२ मिनेट ढिलो आउँदा मनोनयन दर्ता नभएको हो । दर्ताका लागि उनको आवश्यक कागजातसमेत नपुगेको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए ।


उप–चुनावका लागि ५ स्थानमा मतदान केन्द्र तोकिएको प्रजिअ विनीता भट्टराईले बताइन् । उनका अनुसार मालिका मावि, शंकर प्रावि, हुम्ला मावि, सीता मावि र मान्धारा माविमा मतदान केन्द्र तोकिएको छ । उप–चुनावमा ३ हजार ३ सय ८७ मतदाताले सहभागिता जनाउने उनले जानकारी दिइन् । निर्वाचनका लागि सबै सुरक्षा निकाय परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको उनको भनाइ छ ।


प्रकाशित : कार्तिक २९, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?