फस्टाउँदै सुन्तला बोट

‘हावापानी अनुकूल भएकाले खेती गर्न गाह्रो छैन, बर्सेनि भाउ बढ्दै गएको छ, व्यापारी सुन्तला खरिद गर्न बारीमै आउँछन्’
विप्लव महर्जन

(सल्यान) — बाग्चौर नगरपालिका ९, डाँगीगाउँका भरतनाथ योगीले गत वर्ष सुन्तला बिक्रीबाट १९ लाख रुपैयाँ आम्दानी गरे । यस वर्ष उत्पादन बढी भएकाले २० लाख रुपैयाँ बढी आम्दानी हुने उनको अपेक्षा छ । उनकै छिमेकी अंगेश्वर डाँगीले व्यावसायिक सुन्तला खेतीमार्फत वार्षिक १० लाख रुपैयाँ कमाउँदै आएका छन् । 

फस्टाउँदै सुन्तला बोट

गाउँभरि व्यावसायिक सुन्तला खेती फस्टाएपछि उनीहरू मात्र होइन, अधिकांश किसानको आम्दानी बढ्दै गएको छ । सुन्तला खेतीलाई व्यावसायिक बनाएपछि किसान आत्मनिर्भर बन्दै गएका छन् भने जीवनस्तर फेरिएको छ । राम्रो आम्दानी हुन थालेपछि विदेशबाट फर्किएका र पढेलेखा युवासमेत सुन्तला खेतीमा आकर्षित भएका छन् । कोटमौलाको डाँगीगाउँ र कोटगाउँ सुन्तला खेतीको पकेट क्षेत्र मानिन्छ । दुईवटै गाउँका सबैजसो घरधुरीमा व्यावसायिक सुन्तला उत्पादन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । केही वर्षअघि कोटमौला गाउँसभाबाट प्रस्ताव पास भएपछि साबिक गाविस कार्यालयले प्रत्येक घरधुरीलाई ५० बोट सुन्तला लगाउन आग्रह गरेको थियो । २०५८ यता कोटमौलामा सुन्तला खेतीको लहर चलेको हो । जीविकोपार्जनमा समस्या भएपछि एक दशकअघिसम्म भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जान बाध्य स्थानीय अहिले सुन्तला खेतीमा रमाइरहेका छन् । अगुवा कृषक भरतनाथ योगीका अनुसार सुन्तला खेतीलाई व्यावसायिक बनाएका अधिकांश किसान घरघडेरी जोड्न सफल भएका छन् । ‘गाउँका सबै घरधुरी व्यावसायिक सुन्तला खेतीमा लागेका छौं,’ उनले भने, ‘सुन्तलाकै कमाइले हामीलाई सबथोक दिएको छ, गाउँमै रोजगारी पाइरहेका छौं, सबैको आम्दानी वर्षैसाल बढेको छ ।’ उनले ४६ रोपनीमा हजार सुन्तलाका बोट लगाएका छन् । ८ सय बोटमा सुन्तला फलिरहेको उनले जानकारी दिए । उनैले २०३९ सालमा पहिलोपल्ट गाउँमा सुन्तला खेती गरेका थिए ।


कोटमौलाकै अंगेश्वर डाँगीको बगैचामा ५ सय सुन्तलाका बोटले उत्पादन दिइरहेका छन् । उनी पेसाले शिक्षक हुन् । ‘हावापानी अनुकूल भएकाले खेती गर्न गाह्रो छैन,’ उनले भने, ‘बर्सेनि भाउ बढ्दै गएको छ, व्यापारी सुन्तला खरिद गर्न बारीमै आउँछन् ।’ उनका अनुसार डाँगी गाउँका अधिकांश घरधुरीमा सुन्तलाबाट कम्तिमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी हुन्छ । सबै घरधुरीले बर्सेनि सुन्तलाका बोट थपिरहेको उनी बताउँछन् । व्यावसायिक सुन्तला खेती गरिरहेका अधिकांश किसानले सदरमुकाम र आसपासका व्यापारिक केन्द्रमा घरघडेरी जोडिसकेको उनको भनाइ छ ।


डाँगीगाउँका सबैजसो घरधुरीले कम्तिमा ५ बोट सुन्तला लगाएका छन् । सुन्तला खरिदका लागि भारतका विभिन्न ठाउँबाट व्यापारी बारीमै पुग्ने गरेका छन् । किसानले बारीबाटै ६० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेको स्थानीय मानबहादुर डाँगीको भनाइ छ । उनका अनुसार कृषकले आफ्नै लगानीमा गाउँसम्म सडक निर्माण गरेका हुन् । ‘हावापानी अनुकूल र उत्तरतिर फर्केको गाउँ भएकाले घरघरमा सुन्तला खेती गरिरहेका छौं,’ उनले भने, ‘सुन्तलाकै कारण सबैको जीवनस्तर बद्लिएको छ ।’ खाद्यबाली लगाउँदा ६ महिना मुस्किलले खान नपुग्ने परिवारको जीवनस्तर सुन्तला खेतीकै कारण उकासिएको उनले जानकारी दिए । उनको बारीमा ५ सय सुन्तलाका बोटले उत्पादन दिइरहेका छन् ।


जिल्लाभर १ हजार ४ सय ९५ हेक्टरमा सुन्तला खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालय प्रमुख महेश आचार्यका अनुसार अहिलेसम्म १ हजार ४० हेक्टरमा सुन्तला उत्पादन भइरहेको हो । ७ सय घरधुरीले व्यावसायिक सुन्तला खेती गरिरहेको उनले जानकारी दिए । गत वर्ष जिल्लाबाट १५ करोड रुपैयाँको ९ हजार १३ टन सुन्तला बिक्री भएको उनी बताउँछन् । कोटमौला, कोटबारा, पिपलनेटा, कजेरी, चादेकरेन्जी, दमाचौर, त्रिबेणी, सेजुवालटाकुरा र मार्केका अधिकांश घरधुरीमा सुन्तला उत्पादन हुने उनले सुनाए ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?