कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टिमुरले मूल्य पाएन 

‘भाउ नपाएकै कारण टिपेका टिमुर त्यत्तिकै थन्काएर राख्नुपरेको छ, गत वर्ष ५ लाख रुपैयाँ आम्दानी भएको थियो, यस वर्ष खर्चसमेत उठेन’
विप्लव महर्जन

(सल्यान) — माग बढ्दै गएको भन्दै व्यावसायिक टिमुरखेतीमा लागेका किसान यस वर्ष भाउ नपाएपछि मर्कामा परेका छन् । बाहिरका व्यापारी नआउँदा बिक्री नभएपछि किसानले सयौं क्विन्टल टिमुर घरमै थन्क्याएका छन् । 

टिमुरले मूल्य पाएन 

गत वर्ष जिल्लाको टिमुर भारत हुँदै फ्रान्स निर्यात भएको थियो । गत वर्ष प्रतिक्विन्टल एक लाख १२ रुपैयाँमा टिमुर बिक्री भएको थियो । यस वर्ष भाउ नपाएपछि जिल्लामा उत्पादित टिमुर थन्क्याउन किसान बाध्य छन् । बन्गाडकुपिण्डे नगरपालिका ९, सेराका पूर्ण बुढाथोकीले ५ क्विन्टल टिमुर बिक्री गरी गत वर्ष ५ लाख रुपैयाँ आम्दानी गरे । उनको बारीका ५ सय टिमुरका बोटले उत्पादन दिइरहेका छन् । यस वर्ष उनले थप ३ सय टिमुरका बेर्ना रोपेका छन् । यस वर्ष करिब ६ क्विन्टल टिमुर उत्पादन गरेका उनको सबै टिमुर घरमै थन्किएको छ ।


सेराकै रामबहादुर बुढाथोकीले पनि ३ रोपनीमा व्यावसायिक टिमुरखेती गरिरहेका छन् । उनले गत वर्षको तुलनामा यो वर्ष टिमुरको मूल्यमा दोब्बर गिरावट आएपछि किसान मर्कामा परेको बताए । उनका अनुसार भाउ बढ्दै गएपछि खाद्यबाली लगाउन छाडी टिमुर खेतीमा लागेका किसान मर्कामा परेका छन् । ‘भाउ नपाएकै कारण टिपेका टिमुर त्यत्तिकै थन्काएर राख्नुपरेको छ,’ उनले भने, ‘गत वर्ष टिमुरबाटै ५ लाख रुपैयाँ आम्दानी भएको थियो, यस वर्ष खर्चसमेत नउठ्ने देखियो ।’


सेराकै किसान पूर्णबहादुर बुढाथोकीले भारतले जडीबुटी निकासी सिफारिस नदिएको भन्दै बाहिरका व्यापारी किन्न नआएपछि भाउ घटेको गुनासो गरे । मूल्य नपाएपछि जीविकोपार्जनमा समस्या हुने उनको भनाइ छ । ‘केही किसानले गत वर्षभन्दा घटेरै टिमुर बिक्री गरेका छन्,’ उनले भने, ‘त्यति मूल्यमा टिमुर बिक्री गरे खेती गर्दा लागेको लगानीसमेत नउठ्ने समस्या भयो ।’ उनका अनुसार बर्सेनि टिमुरको मूल्य घटबढ हुँदा किसान मर्कामा परिरहेका छन् । उनले आयआर्जनको मुख्य माध्यम टिमुर बनाएर यसबाटै जीविकोपार्जन गर्दै आएका किसान बढी समस्यामा परेको जनाए । उनले झन्डै १० रोपनीमा ४ सय टिमुरका बोट लगाएका छन् ।


४ क्विन्टल टिमुर उत्पादन गरेका निगालचुलाका ढकबहादुर ओलीले धेरै ठाउँमा मूल्य बुझे पनि प्रतिकिलो ३ सय रुपैयाँभन्दा बढी मूल्य दिन कोही पनि तयार नभएको बताए । टिमुर खेतीबाटै ६ जनाको परिवार सजिलै पाल्दै आएका उनले जीविकोपार्जनका लागि समस्या भएपछि मजदुरीका लागि विदेशिनुपर्ने बाध्यता आएको सुनाए । जीविकोपार्जनका लागि मजदुरी गर्न भारतलगायत खाडी मुलुक गएका किसानले समेत फर्किएर टिमुर खेती सुरु गरेको उनले सुनाए । ‘बजार भाउमा गिरावट आएपछि सबै किसान निराश बनेका छौं,’ उनले भने, ‘विगत वर्षमा राम्रो मूल्य पाइएपछि व्यवसायिक खेतीमा लागेका थियौं, तर भाउ घटेपछि अहिले यता न उताका भयौं ।’ जिल्लामा अर्ग्यानिक टिमुर उत्पादन भइरहेको छ । वन डिभिजन कार्यालयको तथ्यांक अनुसार गत वर्ष ३० करोड रुपैयाँ बढीको टिमुर बाहिर गएको थियो ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?