कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अख्तियार देख्दैन भ्रष्टाचार

(बझाङ) र (बैतडी) — अख्तियार अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीहरूप्रति बझाङ र बैतडीका स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय तहमा आर्थिक अनियमितता बढ्दै गए पनि अख्तियारले चासो नदेखाएको उनीहरूको आरोप छ । 

उनीहरूले गाउँमा भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् । आयोगले बझाङ सदरमुकाम चैनपुर र बैतडीको खलंगामा आयोजना गरेको अन्तर्क्रियामा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ भन्ने कुराको आफुहरूलाई अनुभूति नै नभएको गुनासो पोखेका हुन् । ‘अख्तियारमा मुद्दा पर्‍यो, अख्तियारले फलानो कार्यालयमा छानबिन गर्‍यो भन्ने हल्ला सुन्छौं,’ बझाङमा अख्तियारको प्रभाव शून्य भएको बताउँदै सुनीपिपलचौर माविका प्रधानाध्यापक विष्णुभक्त जोशीले भने, ‘खुलेआम भ्रष्टाचार भइरहेको देख्छौं र समाचार पनि सुन्छौं । कारबाही भएको कहिल्यै सुन्न पाइँदैन ।’


अख्तियारका आयुक्त गणेशराज जोशी, प्रवक्ता गोपालप्रसाद रिजाल, आयोगकै कञ्चनपुरस्थित कार्यालयका प्रमुख बाबुराम खतिवडालगायत पदाधिकारी र कर्मचारीहरू उपस्थित कार्यक्रममा सहभागीहरूले आयोगको काम कारबाहीप्रति शंकासमेत व्यक्त गरेका थिए । ‘भ्रष्टाचारमा संलग्न रहेकाहरूको किटानै गरेर उजुरी गरे पनि अनुसन्धान नै हुँदैन,’ बझाङका पत्रकार शैलेन्द्र रोकायाले भने, ‘उल्टै अख्तियारका कर्मचारीको पनि मिलेमतो भन्ने पो सुन्न्छि ।’ यस्तो प्रवृत्ति बढ्दै गएकाले आर्थिक अनियमितता पनि मौलाउँदै गएको उनको भनाइ छ ।


आयोगले हालै बैतडीमा आयोजना गरेको अन्तर्क्रियामा डा. केदारचन्द्र भट्टले प्रश्न गरे, ‘के आयोग यस्तै बैठक र अन्तर्क्रियामा मात्र सीमित हुने हो ?’ आयोगको काम कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुझाव लिन अन्तर्क्रिया आयोजना गरिएको थियो । कार्यक्रमका अन्य सहभागिका प्रश्न पनि उस्तै थिए ।


बझाङस्थित संग्राम सार्दुल गुल्मका गुल्मपति ताराबहादुर खड्काले सबै सहभागी भ्रष्टाचार गर्ने निकायका प्रतिनिधिमात्र भएको र यसबाट पीडितहरूको उपस्थिति शून्य भएको औंल्याए । उनले भने, ‘भ्रष्टाचारबाट पीडित भएका जनता नै यहाँ उपस्थित छैनन् । यस्तो कार्यक्रमबाट कस्तो सुझाव आउला ?’ उनले अर्को प्रसंगमा बझाङमा ६५/७० वर्ष सम्म नागरिकता नलिएर बसेका थुप्रै सर्वसाधारण भएको बताउँदै वृद्ध उमेरसम्म नागरिकता पनि नबनाउनेले भ्रष्टाचारको सूचना आयोगमा देलान् र कारबाही गरौंला भनेर आयोग बस्न नहुने बताए । उनले भने, ‘यसका लागि आयोग आफैं सक्रिय हुनुपर्छ ।’ नागरिक समाज बैतडीका अध्यक्ष गणेश ठकुराठीले पनि भ्रष्टाचार नियन्त्रणको नारा दिँदैमा र बैठक गोष्ठी गर्दैमा आर्थिक अनियमितता नियन्त्रण नहुने बताए ।


दुवै जिल्लामा भएको कार्यक्रमका सहभागी प्रत्येक जिल्लामा आयोगको कार्यालय स्थापना गर्नुपर्ने, प्रत्येक स्थानीयतहमा आयोगले आफ्ना सुराकी परिचालन गर्नुपर्ने र आयोगका गतिविधिहरू गाउँ केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले कर्मचारी अभाव, कार्य अनुभवको कमीले भनेजस्तो काम गर्न नसकेको र अनियमितता रोक्न नसकेको बताएका थिए ।


भ्रष्टाचार उन्मुलन गर्ने उद्देश्यमा आयोग अडिग रहेको र त्यसका लागि काम गरिरहेको बताउँदै आयोगले गर्ने कामप्रति शंका नगर्न आयुक्त गणेशराज जोशीले अनुरोध गरेका थिए । भ्रष्टाचार जटिल समस्या भएको बताउँदै सबैको दृढ संकल्प र शुन्य सहनशीलताले यसलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।


प्रकाशित : कार्तिक २७, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?