१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वारि–पारि चल्छ व्यवहार

‘दुई गाउँलेबीच विवाद भएका बेला मात्र एक/दुई दिन आउजाउ बन्द हुन्छ, फेरि त्यो क्रम निरन्तर हुन्छ’ 
भवानी भट्ट

(कञ्चनपुर) — वारि कञ्चनपुरको बेलौरी नगरपालिकाको पचुई । पारि भारत उत्तर प्रदेशको पिलिभित जिल्लाको रागापुरी । बीचमा सुतिया खोला । अधिकांश ठाउँमा सुतिया खोलाले सीमा छुट्याएको छ । खोलाले सीमाना छुट्याए पनि वारि–पारिको व्यवहार भने वर्षौंदेखि सौहार्द रूपमा चलिरहेकै छ ।

वारि–पारि चल्छ व्यवहार

रागापुरीका श्रवण कुमार सानैदेखि धान गहुँ कुटानी पिसानीका लागि नेपालतर्फ आउन थालेका हुन् । अहिले पनि त्यो क्रम जारी छ । बेलौरीको पचुईदेखि डेढ/दुई किमि टाढा उनको बस्ती छ । उनी १५/२० दिनमा एकपटक धान कुट्न र गहुँ पिस्न पचुई आउने गर्छन् । उनको गाउँको तुलनामा नेपालतर्फ कुटानी पिसानी गर्दा एकपटकमा कम्तीमा ५०/६० रुपैयाँ बचत हुने गरेको छ । ‘हाम्रो गाउँमा कुटाइ र पिसाइ महँगो छ, त्यही भएर धेरैजसो यतै आउने गर्छन्,’ श्रवणले भने, ‘हरेक दिन १०/१५ जना मिलमा आउने गर्छन् ।’ उनका अनुसार कुटाइ–पिसाइको भारतमा प्रतिकिलो २ भारु लाग्छ । नेपालमा २ नेपाली मात्रै । प्रतिकिलो १ रुपैयाँभन्दा बढी बचत हुन्छ । उनको गाउँमा विद्युत् सेवा पनि नियमित छैन । जसका कारण मिल नियमित चल्दैन ।


साइकलमा ल्याएको धान गहुँ खोलामा २/३ भाग बनाएर टाउकोमा राखेर तार्नुपर्छ । खोला गहिरो भएकाले साइकल समेत कांँधमै बोकेर तार्नुपर्छ ।


रागापुरीमा ठूलो भारतीय बस्ती छ । अधिकांश विपन्न कृषक परिवारको बसोबास छ । उनीहरू कुटानी–पिसानीका लागि नेपालतर्फका मिलहरूमै आउने गर्छन् । ‘कुटानी–पिसानी मात्रै होइन हामीहरू अन्य कामका लागि पनि यतै आउँछौं,’ रांगापुरीका दिनेश कुमारले भने, ‘हाम्रो सम्बन्ध राम्रो छ, व्यवहार पनि वारि–पारि चलिरहेको छ ।’


जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्बाससँग सीमा जोडिएको भारतीय बस्तीहरू कुटानी पिसानीका लागि नेपालतर्फकै मिलमा निर्भर रहेको बेलौरी नगरपालिका १०, भुडाको नीराजन राइस मिलका सञ्चालक किसनदत्त पन्त बताउँछन् । उनका अनुसार सीमामा केही विवाद भएका बेलाबाहेक पारितर्फको सबै गाउँका बासिन्दा नेपालतर्फ आउने गर्छन् ।


‘विवाद भएका बेला एक/दुई दिन आउजाउ बन्द हुन्छ, फेरि त्यो क्रम निरन्तर हुन्छ,’ उनले भने, ‘सीमावर्ती गाउँ रागापुरी, कम्बोजनगर र टाटरगन्जका अधिकांश बासिन्दा कुटाइ र पिसाइका लागि यहीं आउँछन् ।’ उनका अनुसार भारततर्फका गाउँमा डिजेलले चल्ने मिलहरू छन्, विद्युत् सेवा पनि राम्रो छ्रैन, त्यही भएर त्यहाँ महँगो बढी हुन्छ ।’


बेलौरी नगरपालिका ८, पचुईका देवीलाल चौधरीले सीमावर्ती रागापुरीका जश्वीर सिंहको जमिन अधियाँ कमाएका छन् । उनले ५ वर्षदेखि सिंहको आधा बिघा जमिन अधियाँ कमाउँदै आएका हुन् । उनका काका छोटु चौधरीले पनि भारतीयकै जमिन अधियाँ कमाएका छन् । ‘धेरै नेपालीले भारतीयको जमिन अधियाँ बनाएका छन्,’ देवीलालले भने, ‘दुवैतर्फका वासिन्दामा राम्रो सम्बन्ध रहिआएको छ ।’ भारतीयहरूले पनि नेपालीको जमिन लिज र अधियाँमा कमाएको उनले बताए ।


सीमा क्षेत्रका बासिन्दा किनमेल, खेतीपाती र कुटाइ पिसाइका लागि मात्रै होइन घाँसपात र गाईभैसी चराउने विषयमा पनि वारि–पारिमा निर्भर छन् । भारतीय क्षेत्रमा नजिकै रहेको वनमा नेपालीहरू घाँसपात काट्न र गाई भैंसी चराउन लैजाने गरेका छन् ।


भारततर्फ अधिकांशले उखु खेती गरेका छन् । उखु लगाउनेदेखि काट्नेलगायतको काममा नेपालीहरू नै जाने गर्छन् । उनीहरू दैनिक ज्यालादारीमा काम गर्छन् । गहुँ खेती लगाएर खाली समयमा उखु काट्न भारततर्फ जाने गरेका हुन् । केही वर्षयता नेपालतर्फ पनि उखु खेती विस्तार हुँदै गएको छ ।


प्रकाशित : कार्तिक २७, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?