१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डिग्रे मेलामा लाठी नाच

हरि गौतम

(रुकुम पश्चिम) — कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक डिग्रे साईकुमारी मेलामा करिब डेढ लाख सर्वसाधारण सहभागी भएका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार ५ दिन चलेको मेला तथा पूजाअर्चनामा झन्डै डेढ लाख भक्तजनले मेला भरेका हुन् । 

डिग्रे मेलामा लाठी नाच

जिल्लाको लामो मेला बर्सेनि हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्छ । पूर्णिमाको दिन पूजाअर्चनाको साथै मेला भर्नेहरू धेरै आउँछन् । ‘विगतका वर्षभन्दा यो वर्ष झक्तजन तथा मेला भर्ने बढे,’ मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीले भने, ‘करिब डेढ लाखले मेला भरेको अनुमान गरेका छौं ।’ यस वर्ष मेलाका लागि सवारी साधनका रुट एकतर्फी कायम गरिएको थियो । भगवती देवीको मागअनुसारै डिग्रेमा पूजाअर्चना तथा धार्मिक मेला लाग्न सुरु गरेको विश्वास गरिन्छ ।


परापूर्वकालमा थर्पुका गौतमहरूले चराउन जंगल लिएका गाई देवीकै कारण घर आउन मानेका थिएनन् र देवीले गाईको दूध चढाउन आग्रह गरेकी थिइन् । गाईको दूध चढाइएपछि गाईलाई घर ल्याउन सकिएको किंवदन्ती छ । हरेक दिन गाईको दूध देवीका लागि चढाउनुपर्ने र हरेक वर्ष देवीको बहान बाघका लागि बोकाको बलि दिनुपर्ने जनविश्वास छ । देवीको सुरक्षाका लागि जनजातिले लाठी नाच नाच्ने चलन छ । पूर्णिमाको दिन मन्दिर परिसरमा गरिने लाठी नाच देवीको सुरक्षाका लागि भएको जनविश्वास छ । विशेषगरी साँख गाउँका जनजातिले पूर्णिमाको दिन लाठी नचाउने र लाठी समाएका एक अर्कामाथि लाठी बर्साउने गरिन्छ । यो मेलाको प्रमुख आकर्षण मानिन्छ ।


धन, जन र अन्न वरदानको विशेषता डिग्रे मन्दिरले बोकेको मन्दिरका प्रमुख पुजारी रामप्रसाद गौतमले बताए । मनले चिताएको पूरा हुने तथा सन्तान प्राप्तिको धार्मिक विश्वासका साथ भक्तजनको संख्यामा वृद्धि उनी बताउँछन् । डिग्रे धार्मिक मेला सुरु भएको आधिकारिक जानकारी कतै छैन । तर मन्दिरमा १६४१ सालको घण्ट छ । यद्यपि मन्दिरमा पूजा, दर्शन तथा मेला भर्ने कार्य भने त्यो अघिदेखि नै भएको मानिन्छ ।


व्यवस्थापन समिति सचिव चूडामणि गौतमले मन्दिरमा दैनिक पूजाआजा हुने गरेको जनाए । उनका अनुसार बर्सेनि कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको तिथिमा विशेष महत्त्व साथ देशका विभिन्न भूभागबाट मन्दिर दर्शन तथा मेला भर्न भक्तालु आउँछन् । विशेषगरी मन्दिरमा शान्तिका लागि परेवा उडाइन्छ भने भाकल गरेका तथा मागेको पुगेकाले बलि चढाउने गर्छन् । मन्दिरको नाममा रहेको गुठीको जग्गा र हरेक वर्षको मेलामा दर्शनार्थीबाट चढाइएको भेटीबाट मन्दिर सञ्चालन हुन्छ ।


मेला भर्न रुकुमका साथै सल्यान, रोल्पा, डोल्पा, जाजरकोट, सुर्खेत, दाङ, बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, काठमाडौंको साथै भारतका केही ठाउँबाट पनि दर्शनार्थी आएको समितिले जनाएको छ ।


प्रकाशित : कार्तिक २७, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?