कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : हाडजोर्नी प्रत्यारोपण सेवा विस्तार

अमेरिकाका विशेषज्ञ चिकित्सकद्वारा घुँडा, हात, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जोर्नी प्रत्यारोपण
एलपी देवकोटा

(जुम्ला) — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा अमेरिकाको अरिगन स्टेडको राजवाक अस्पतालका विशेषज्ञ चिकित्सक हाडजोर्नी प्रत्यारोपण सेवा दिन आएका छन् । घुँडाको जोर्नी, हातको जोर्नी, घुँडा, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जोर्नी प्रत्यारोपण गर्न डा. माइकल डेभिड भ्यान एन्ड्रोयड शिक्षण अस्पताल पुगेका हुन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : हाडजोर्नी प्रत्यारोपण सेवा विस्तार

अस्पतालमा पुगेलगत्तै उनले हाडजोर्नी शल्यक्रिया सुरु गरिसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । हाडजोर्नी विभाग प्रमुख डा. मंगल रावलका अनुसार नेपालका ठूला भनिने एक/दुई अस्पतालमा मात्रै यो सेवा छ । ‘सस्तो शुल्कमा स्तरीय सेवा दिनेगरी एक महिनाका लागि भोलेन्टियर सेवा दिन अमेरिकाबाट विशेषज्ञ चिकित्सक पुगेका हुन्,’ उनले भने, ‘उनले अमेरिकामा हाडजोर्नी विशेषज्ञकै रूपमा ३० वर्ष बिताइसकेका छन् ।’


हाडजोर्नी प्रत्यारोपणका लागि चिकित्सक जुम्ला पुगेको खबर सुन्नासाथ कुम फुस्कने समस्याले ग्रस्त भएका चन्दननाथ नगरपालिका–१० का अनन्त शाही उपचारका लागि अस्पताल पुगे ।


एक सातापछि शल्यक्रिया गर्ने गरी उनको उपचार सुरु गरिएको छ । जोर्नी फुस्कने समस्याका अर्का बिरामी चन्दननाथ–३ का गोविन्द खत्री पनि उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार एक दिनमै १० बिरामीको शल्यक्रिया गरिएको छ ।


शिक्षण अस्पताललाई हाडजोर्नी प्रत्यारोपण केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘काठमाडौंका अस्पतालमा जोर्नी प्रत्यारोपण गर्दा कम्तीमा ६ लाख रुपैयाँ लाग्छ,’ उनले भने, ‘त्यही सेवा जुम्लामा एकदेखि दुई लाख रुपैयाँमै हुने गरी उपचार सुरु गरिएको हो ।’


अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकको स्वयंसेवी सेवाबाट अस्पताललाई हाडजोर्नी प्रत्यारोपण केन्द्रका रूपमा स्थापित गर्न खोजिरहेको उनले जानकारी दिए । उनले वर्षमा तीन महिना यो सेवा सञ्चालन गर्ने योजना गराएको जनाए । डेभिडको सहयोगमा अन्य विशेषज्ञ चिकित्सकलाई पनि अस्तालमा ल्याउन चाहेको उनले सुनाए ।


स्थानीय कर्ण बुढाले जुम्लामै ठूला शल्यक्रिया हुँदा विपन्न नागरिकलाई धेरै राहत भएको बताए । ‘उपचारकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘हात भाँचिँदा सामान्य एक्सरे गर्न नेपालगन्ज र काठमाडौं

जानुपर्ने अवस्थाबाट स्थानीयवासीले मुक्ति पाएका छौं ।’


प्रकाशित : कार्तिक २६, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?