कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा

विप्लव महर्जन

(सल्यान) — यातायातका साधन सञ्चालन हुन थालेको वर्षौ‌ बिते पनि सल्लीवजार–चौरजहारी, चौरजहारी–रागेचौर र थारमारे–दार्मा सडकको स्तरोन्नति नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । धुलाम्मे सडकले यात्रा पनि जोखिमपूर्ण बनिरहेको छ । 

धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा

कच्ची सडकमा यात्रा गर्दा सामान्य अवस्थाका यात्रु गन्तव्यमा पुग्दा बिरामी हुने गरेको त्रिवेणीका निर्मल राना बताउँछन् । ‘सडकमा जताततै खाल्डाखुल्डी छन्, गाडी चढ्यो कि उफार्न थाल्छ,’ उनले भने, ‘भौगोलिक अवस्था पनि कठिन हुँदा डरैडरमा गाडी चढ्नुपर्ने बाध्यता छ ।’ उनले यी सडकमा पुराना गाडी चल्दा यात्रा झन् कष्टकर बन्ने गरेको बताए । सडक गतिलो नहुँदा अधिकांश ज्येष्ठ नागरिकले गाडी चढ्न नमान्ने गरेको उनी बताउँछन् । उनले पानी परे हिलाम्मे हुने र घाम लागे धुलाम्मे हुने सडकका कारण स्थानीयबासी लामो समयदेखि आजित भएको सुनाए ।


सडक मर्मतका नाममा बर्सेनि करोडौं रकम खर्च भए पनि यात्रु लामो समयदेखि सास्ती भोग्न बाध्य भएको स्थानीय लोकबहादुर बुढाले बताए । ४१ मिटर दूरीको सल्लीबजार–चौरजहारी सडकमा गाडी चल्न थालेको डेढ दशक पुगे पनि स्तरोन्नति नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् । सडकमा बर्सेनि ग्राभेल गर्ने गरिए पनि गुणस्तरहीन हुँदा बर्खामा पानीले बगाउने गरेको उनले बताए । अहिलेसम्म सडकको २ किमि मात्र कालोपत्रे गरिएको छ । ‘धूलोका कारण गाडी दुर्घटना हुने जोखिम उत्तिकै छ,’ उनले भने, ‘कहिलेकाही धूलोमै गाडी फस्छन् ।’ उनका अनुसार बीच बाटोमा गाडी फस्दा यात्रुले नै धकेल्नुपर्ने बाध्यता छ ।


धूलोले सडक आसपासका बासिन्दासमेत सास्ती भोगिरहेका छन् । धूलोले घरै ढाकिने गरेको स्थानीयको गुनासो छ । धुलाम्मे सडककै कारण बटुवाहरू रुघाखोकी, नाक बन्द हुने, आँखामा समस्या देखिनेलगायत स्वास्थ्य समस्याबाट पीडित छन् । सुनौली, त्रिवेणी, शंखपिपल, गर्चे, नेटावजार, रागेचौरलगायत सडकमा धूलोले सडक आसपासका क्षेत्रमा बस्न समस्या भएको स्थानीयको गुनासो छ ।


नेटा बजारका नन्दकुमार साहुले गाडीले उडाउने धूलोका कारण दिनभर घर सफा गर्नुपर्ने बाध्यता भएको जनाए । ‘सडक आसपासका होटेलमा खाना खानै समस्या भएको छ,’ उनले भने, ‘सडकको धूलो खानेकुरामा पर्दा बेला बेलामा पेटसम्बन्धी स्वास्थ्य समस्या देखिएको छ ।’


प्रकाशित : कार्तिक २६, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?