महोत्सवको खर्च सार्वजनिक भएन

कान्तिपुर संवाददाता

डोल्पा — दुई महिनाअघि माथिल्लो डोल्पामा आयोजना गरिएको डोल्पो महोत्सवको आम्दानी र खर्च विवरण अझै सार्वजनिक भएको छैन । महोत्सवको आयव्यय विवरण सार्वजनिक नहुँदा अनियमितता भएको स्थानीयको आशंका छ । 

यसअघि महोत्सव सम्पन्न भएको एक महिनाभित्र आयव्यय सार्वजनिक गर्ने आयोजकले जनाएको थियो । महोत्सवको सार्वजनिक तथा सामाजिक लेखापरीक्षणसमेत नभएको स्थानीयको गुनासो छ । भदौ २४ देखि २८ गतेसम्म माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको धो भ्यालीमा महोत्सव सञ्चालन गरिएको थियो । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो संस्थाले नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्‍याउने उद्देश्यसहित महोत्सव आयोजना गरेका थिए । पाँच दिनसम्म धो तराप बस्तीमा विभिन्न प्रर्दशनी, प्रतियोगिता लगायतका कार्यक्रमसहित महोत्सव सकिएको थियो ।


हिसाब मिलान हुन नसकेकाले आयव्यय विवरण सार्वजनिक गर्न नसकिएको महोत्सव आयोजक समितिका संयोजक एवं डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्बो थापा भोटेले बताए । ‘आम्दानी र खर्चको हिसाब भइरहेको छ,’ उनले भने, ‘चाडपर्वका कारण पनि खर्च सार्वजनिक गर्न केही ढिलाइ भएको हो, औपचारिक कार्यक्रमकै आयोजना गरी आयव्यय विवरण सार्वजनिक गरिनेछ ।’


प्रकाशित : कार्तिक २६, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?