कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिकाले चलायो बस

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मालगायतले सोमबार एउटै बसमा यात्रा गरे । चौरजहारी नगरपालिका २, स्थित विजयश्वरीडाँडामा रहेको नगर कार्यपालिकाको कार्यालयबाट १३ र १४ नम्बर वडाको सिमाना छेर्नासम्मको यात्रामा उनीहरू सहभागी भए । 

चौरजहारी नगरपालिकाले सञ्चालन गरेको नगर बसको उद्घाटनका लागि उनीहरूले एउटै बस चढेर यात्रा गरेका हुन् । विजयश्वरीडाँडादेखि छेर्नासम्म यात्रा गरी नगर बस सञ्चालनको सुरुवात गरिएको हो । स्थानीयलाई सजिलो बनाउन भन्दै चौरजहारी नगरपालिकाले बस खरिद गरेको छ । नगरपालिकाका विभिन्न रुटमा बस चलाएर सर्वसाधारणलाई सजिलो र सुलभ सेवा दिन भन्दै नगरपालिकाले ३ बस किनेको छ ।


जनप्रतिनिधि, कर्मचारीलाई चढाएर उद्घाटन गरिएको नगर बसमा अब सर्वसाधारण चढ्नेछन् । नगरपालिकाका १४ वटै वडा सडक सञ्जालमा जोडिएका छन् । यसैले नगरपालिकाभर नगरबासीलाई सर्वसुलभ यातायात सेवा प्रदान गर्न भन्दै सोमबारदेखि नगरपालिकाले बस सञ्चालनमा ल्याएको हो । विभिन्न तीन रुटमा बस चलाइने भएको छ । ३ बसमध्ये चौरजहारी उपत्यकादेखि १४ वडाको नुवाकोटडाँडासम्म २ बस चलाउने तयारी नगरपालिकाले गरेको छ । एउटा बस बिहान नुवाकोटडाँडादेखि चौरजहारीसम्म चल्नेछ भने अर्को बस पनि सोही रुटमा सोही समयमा चलाइनेछ । चौरजहारी उपत्यकादेखि नुवाकोटडाँडासम्मको सडक ३२ किमि छ । अर्को बस चौरजहारी उपत्यकाभित्रै सञ्चालन गरिनेछ । सेवाग्राही तथा सर्वसाधारणलाई नगरपालिका कार्यालय पुर्‍याउने, चौरजहारी अस्पताल सम्म पुर्‍याउने तथा उपत्यकाभित्रै आवातजावत गर्ने यात्रुका लागि बस सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।


पहिलो चरणमा चौरजहारीदेखि छेर्नासम्म मात्रै बस चल्नेछ केही समयपछि चौरजहारीदेखि नुवाकोटडाँसम्मको रुटमा बस चलाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सञ्चालनमा ल्याएका बसमा यात्रा गर्ने केही नागरिकले नि:शुल्क बस यात्रा गर्न पाउनेछन् । ८० वर्ष र सो भन्दा माथीका ज्येष्ठ नागरिक, ५ वर्षसम्मका बालबालिकाले नि:शुल्क नगर बस चढ्न पाउने व्यवस्था गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए । उनका अनुसार ७० वर्ष माथिका नागरिक, जनआन्दोलनका घाइते, अन्य प्राकृतिक प्रकोपका घाइतेहरूकाले ५० प्रतिशत छुटमा नगर बसमा यात्रा गर्न पाउनेगरी निर्णय गरिएको छ ।


नगर बसमा यात्रा गर्ने विद्यार्थीले भाडामा ३३ प्रतिशत भाडा छुट पाउनेछन् । नगरभित्रका एक चोकबाट अर्को चोक पुग्नलाई २० रुपैयाँ भाडा कायम गरिएको छ । १८ रुट कायम गरी सबैको भाडा दर निर्धारण समेत गरिएको छ । यसअघि ५ सय रुपैयाँ भाडा तिर्दै आएको रुटमा नगर बस चढ्ने सर्वसाधारणले २ सय रुपैयाँमा यात्रा गर्न पाउनेछन् । ‘नगर बस नाफामूखी नभइ सेवामुखी सेवा भएकाले सामान्य भाडा लिएर बस सञ्चालन गर्न लागिएको हो,’ नगर प्रमुख शर्माले भने, ‘त्यसैले बसका कर्मचारीको व्यवस्थापन, इन्धन र मेन्टिनेन्स पुगेपछि पुग्छ ।’ सबै बसमा सिसी क्यामेरा जडान गरिएको छ । बसमा यात्रा गर्ने यात्रुको यात्रा सहज र सुरक्षित बनाउन भनेर बसभित्र सिसी क्यामेरा जडान गरिएको जनाइएको छ । नगर बस उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले कर्णाली प्रदेशमै चौरजहारी नगरपालिका नगर बस चलाउने पहिलो स्थानीय सरकार भएको बताए । नगरपालिकाले दिन थालेको सुलभ बस सेवाले जनतालाई ठूलो सहयोग पुग्ने भन्दै सांसद शर्माले आवश्यक्ताको आधारमा बसको संख्या थप्दै जान नगरपालिकालाई आग्रह गरे । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा एक करोड ४ लाखमा टेन्डर

आह्वान गरेको थियो ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?