त्रिवेणीमा वृद्धाश्रम

कान्तिपुर संवाददाता

(सल्यान) — अशक्त तथा घरवारविहीन ज्येष्ठ नागरिकका लागि त्रिवेणी गाउँपालिकाले वृद्धाश्रम सञ्चालन गर्न लागेको छ । वृद्धाश्रमका लागि लुहाममा दुईकोठे भवन निर्माण भइसकेको छ । विपन्न, अशक्त र घरबारविहीन ज्येष्ठ नागरिकलाई खाना र बसोबासको सुविधा दिनेगरी वृद्धाश्रम सञ्चालन गर्न लागिएको हो । 

त्रिवेणीमा वृद्धाश्रम

गाउँपालिका क्षेत्रका सडकमा सहाराविहीन ज्येष्ठ नागरिकको संख्या बढ्दै गएपछि वृद्धाश्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । २० लाख रुपैयाँको लागतमा वृद्धाश्रमका लागि भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए ।


‘ज्येष्ठ नागरिकको सम्मानसँगै सहाराविहीनको संरक्षणका लागि बृद्धाश्रम सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘भवन निर्माणको काम सकिएको छ, थप केही व्यवस्थापनका काम भएपछि सहाराविहीनलाई वृद्धाश्रममा ल्याइनेछ ।’ ज्येष्ठ नागरिकको पालनपोषणका लागि कोषको स्थापना गरिने जानकारी उनले दिए । ‘घरबारविहीन ज्येष्ठ नागरिक जहाँबाट पनि आश्रममा बस्न आउन सक्छन्,’ उनले भने, ‘अब बेवारिसे भएर सडकमा भौंतारिँदै हिंड्नु पर्दैन ।’


वृद्धाश्रम संरक्षण र सञ्चालनको जिम्मा त्रिवेणी तीर्थशाला धामलाई दिइएको छ । ज्येष्ठ नागरिकको खानबस्ने सुविधाका लागि गाउँपालिकाले आवश्यक सामग्रीको व्यवस्थापन गर्ने अध्यक्ष डाँगीको भनाइ छ । त्रिवेणी तीर्थशाला धाम जिल्लाको प्रमुख धार्मिक स्थल मानिन्छ । पूजाआजाका लागि आउने वृद्धलाई समेत अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाउने योजना छ । ज्येष्ठ नागरिकलाई राख्न थालिएपछि आश्रमको थप व्यवस्थापनका काम गरिने उनले बताए ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?