३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

१० स्वास्थ्य संस्थामा प्रसूति सेवा सहज

कान्तिपुर संवाददाता

रारा — मुगुका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन हिजोआज सहज भएको छ । कोरियाली सहयोग नियोग कोइकाले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सहयोगी सामग्री उपलब्ध गराएपछि यस्तो भएको हो । 

मुगुका चारवटै स्थानीय तह अन्तर्गतका १० वटा स्वास्थ्य संस्थालाई कोइकाको आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको स्थानीय साझेदार संस्था कणाली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए । युनिसेफ नेपाल जिल्ला प्रतिनिधि सञ्जयकुमार रजकका अनुसार छायानाथ रारा नगरपालिकाका पिना, ढुंगेधारा र थार्प बर्थिङ सेन्टर, मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, रिउस बगर, मुगु र डोल्फु खत्याड गाउँपालिकाका श्रीकोट, कोटडााडा र सोरु गाउँपालिकाको नार्थपु बर्थिङ सेन्टरलाई प्रतिसेन्टर २ लाख ५० हजार बराबरका उपकरण तथा सामग्री उपलब्ध गरिएको हो । स्वास्थ्य संस्थामा सहयोग गरिएका उपकरणलाई नेपाली तथा विदेशी प्राविधिकको टोलीले सबै स्वास्थ्य संस्थामा पुगी पूर्ण रूपमा उपकरण जडान तथा सञ्चालनबारे प्रसूतिमा सरिक रहने एसबीए तालिम प्राप्त कार्यरत एएनएमलाई तालिम दिइएको छ ।


छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार प्रसूतिगृहमा आफ्नो नगरक्षेत्रमा रहेका प्रसूतिगृहमा पर्याप्त मात्रामा उपकरण तथा सामग्री नहुँदा स्वास्थ्यकर्मी आफ्नो स्वास्थ्यको पनि ख्यालै नगरी प्रसूति कार्यमा संलग्न हुनुपर्ने अवस्था थियो । उपकरण अभावमा नवजात शिशुलाई चिसोबाट बचाउन समस्या थियो । आवश्यक उपकरण सहयोगमा आएपछि सबै स्वास्थ्यकर्मीलाई प्रसूति सेवा दिन सहज भएको उनले बताए । नवजात शिशु पनि सुरक्षित हुने अवस्था भएको छ ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?